बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास : कलाकार भन्छन्– ‘हाम्रो रोजीरोटी खोसियो’

शुक्रबार, २३ फागुन २०७६, १३ : ५८
शुक्रबार, २३ फागुन २०७६

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । हालसम्म विश्वको ७० भन्दा बढी देशमा देखिएको यो भाइरसले संसारभर महामारीको रूप लिँदै गइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रूपमा लिएपछि सरकारले सतर्कता अपनाउन समेत आग्रह गरिसकेको छ ।

भाइरसको त्रासले अहिले नेपाली जनतामा मनोवैज्ञानिक असर परेको छ ।

राज्यका विभिन्न प्रशासनिक निकायले समेत कोरोनाबाट सतर्कताका लागि स्वदेशमा विभिन्न मेला, महोत्सव, पार्टीलगायत धेरै मानिसको भेला हुने कार्यक्रम नगर्न, नगराउन निर्देशनसमेत जारी गरेको छ ।

राज्यको यो आदेशले अन्य क्षेत्र जस्तै देशमा आयोजना हुने विभिन्न मेला, महोत्सवसमेत प्रभावित बनेका छन् । सुरु हुने अवस्थामा रहेका कार्यक्रम धमाधम स्थगित हुन थालेका छन् । केही चलेका महोत्सव पनि बीचमै रोकिने भएका छन् ।


कोरोना भाइरसको यस्तो त्रासको अवस्थाबाट नेपाली कलाक्षेत्रका कलाकर्मी अछुत रहने त कुरै भएन । यो त्रासको बढी असर मेला, महोत्सवमा बढी व्यस्त हुने कलाकारमा देखिएको छ ।

केही महिनाको मेला महोत्सवको आम्दानीबाट वर्षभरि चल्दै आएका कलाकार पनि छन् । अहिलेको यस्तो अवस्थालाई केही कलाकारले ठूलो आर्थिक नोक्सानीका रूपमा लिएका छन् भने केही कलाकारले रोजीरोटी खोसिए चर्चा गर्छन् ।

केही यस्ता कलाकार पनि छन् । जो यो अवस्थामा आर्थिक लाभ हेर्नतिर भन्दा पनि स्वास्थ्यको ख्याल गर्दै नयाँ गीतसङ्गीत सिर्जनामा लाग्नुपर्ने धारणा राख्दछन् ।

मेला, महोत्सव लगायत कार्यक्रममा सधैँ व्यस्त हुने कलाकारले कोरोनाको त्रास र आफूलाई पर्ने आर्थिक असरको विषयमा राखेको विचार उनीहरुकै शब्दमा ।

बद्री पङ्गेनी (गायक) :

अहिलेको अवस्थामा हामी कलाकारलाई यो परिस्थितिले धेरै आर्थिक हानि पुर्याउनु स्वाभाविक हो । तर विश्वव्यापी समस्याका रूपमा देखिएको कोरोना भाइरसले पुर्याएको अहिलेको अवस्था हामी कलाकारले कुरा बुझ्नु पर्छ ।

यो समय कसैसँग गुनासो गर्नुको अर्थ पनि छैन । यस्तो अवस्थामा हामी कलाकारले सचेतना कार्यक्रममार्फत चेतना जगाएर महत्त्वपूर्ण भूमिका खेल्न सक्छौँ । आर्थिक हानिको कुरा गर्ने हो भने धेरै हुन्छ । स्वास्थ्यभन्दा आर्थिक कुरो महत्त्वपूर्ण होइन ।

प्रिती आले (गायिका) :

अहिले पनि म चितवनको एक कार्यक्रममा छु । यो कार्यक्रममा अनुमान गरेको भन्दा पचास प्रतिशत दर्शक कम आएका छन् । मेरो पूर्वनिर्धारित धेरै कार्यक्रम स्थगित भएका छन् । स्थगित हुन बाँकी कार्यक्रमको पनि भरोसा छैन । केही महिनाको मेला, महोत्सवको आम्दानीबाट वर्षभरि आफू र आफ्नो परिवार चलाउनुपर्ने हामी कलाकारका लागि कोरोना ठूलो आर्थिक सङ्कट भएर आएको छ ।

हुन त अहिले मेला, महोत्सवको सिजन सकिनै लागेको छ । करिब अब एक दुई महिना अझै चल्थ्यो । कोरोनाको त्रासले हामीलाई मात्र होइन सबै क्षेत्रलाई असर पुर्याएको छ । यस्तो अवस्थामा यसले पुर्याएका असरको विचार गर्नुभन्दा पनि यसको सामना गर्नतिर लाग्नुपर्छ । स्वास्थ्यको अगाडि आर्थिक लाभ महत्त्वपूर्ण होइन । देशमा अहिलेसम्म नदेखिएको अवस्थामा हाम्रो मुलुकले अलि नचाहिँदो कदम चाल्यो कि भन्ने लाग्छ ।

हेमन्त शर्मा (गायक) :

मेरो हकमा कोरोना भाइरसले आर्थिक अवस्थामा धेरै असर गरिसक्यो । मार्च २३ मा हङ्कङमा कार्यक्रम थियो । त्यो अहिले स्थगित भयो ।

अहिले राज्य र सम्बन्धित जिल्ला प्रशासनले कार्यक्रम नगर्न आदेश जारी गरेपछि देशका कार्यक्रमहरु समेत धमाधम रोकिँदै छन् । यसले आर्थिक क्षेत्रमा धेरै असर पुर्याउने छ ।

अहिले मात्र होइन आगामी एक वर्षसम्म पनि आर्थिक रूपमा यो अवस्थाले सङ्कट निम्त्याउँछ । किनभने स्वदेशको अलवा कार्यक्रमका लागि धेरै विदेश अर्थात् हङ्कङ, जापान, कोरिया, कतार लगायत मुलुक जान्थ्यौँ । त्यहाँ कोरोनाको त्रास रहेको छ ।

त्यो त्रासबाट उम्कन ६, ७ महिना लाग्छ । त्यसपछि जनजीवन सामान्य नभएसम्म अर्काे ६, ७ महिना कलाकार बोलाउँदैनन् । त्यो हिसाबले कम्तीमा पनि कलाकार एक वर्ष बेरोजगार हुने निश्चित छ ।

भूमिका गिरी (गायिका) :

पछिल्लो समय कलाकारको बाँच्ने आधार भनेकै मेला, महोत्सव हो । यो कसैसँग नलुकेको विषय हो । गीत सङ्गीतको सिर्जनामा लगानी गर्नु भनेको खेर फाल्नु हो । त्यसले प्रतिफल दिँदैन ।

मजस्तो मेला, महोत्सवमा धेरै व्यस्त हुने कलाकारलाई अहिलेको अवस्थाले धेरै आर्थिक नोक्सानी त पुग्छ । तर पनि यसलाई आपत्तिको रूपमा लिएको छैन । यसले आर्थिक रूपमा कमजोर बनाउँछ । तर स्वास्थ्यभन्दा ठूलो केही होइन । 

दुर्गा रायमाझी (गायक) 

म धेरै मेला, महोत्सवमा हिँड्ने कलाकार त होइन तर पनि कलाकार साथीहरुलाई राज्यको कदम र कोरोना भाइरसको त्रासले धेरै असर पर्ने देखिएको छ ।

उनीहरुलाई आर्थिक हिसाबले नोक्सानी हुने कुरो आफ्नो ठाउँमा छ । स्वास्थ्यका हिसाब केही सचेतता अपनाउनुपर्ने हुन्छ । यो भाइरस भिडभाड, मेला, महोत्सवमा सहभागी नभएपछि नसर्ने होइन । धेरै कुराबाट सर्नसक्छ । अहिले कोरोनाको त्रासले कलाकारलाई मात्र होइन सबै क्षेत्रलाई आर्थिक नोक्सनी पुर्याउने मैले महसुस गरेको छु ।

मिलन नेवार (गायिका) :

नढाँटी भन्नुपर्दा हामीले कमाएर बाँच्ने भनेकै मेला, महोत्सवको आम्दानीबाट हो । देशविदेशका सबै कार्यक्रम रद्द भएका छन् । यस हिसाबले हेर्दा धेरै नोक्सान हुन्छ । तर स्वास्थ्यको पाटो हेर्ने हो भने यो नोक्सनी सामान्य लाग्छ ।

आर्थिक नोक्सानी पछि पूर्ति गर्न सकिएला तर स्वास्थ्यमा पर्ने नोक्सानी पूर्ति गर्न सकिन्न । यस हिसाबले पनि हामी कलाकार चुप बसेका छौँ । सबैलाई सचेत रहनसमेत आग्रह गर्छु । यो समय नयाँ र राम्रो सिर्जनामा लगाउनुपर्छ भन्ने मेरो धारणा हो ।

नवीन पौडेल (गायक) :

कोरोना भाइरसको हल्लाका कारण पनि पूर्वनिर्धारित धेरै कार्यक्रम स्थगित भएका छन् । केही स्थानको अहिले खबर आएको छैन । सायद, ती पनि स्थगित हुन्छन् । विभिन्न स्थानमा आयोजना हुने मेला महोत्सव मजस्ता कलाकारका लागि राम्रो आम्दानी गर्ने अवसर पनि हो । यो अवसरमा हामीलाई लाखौँ घाटा हुन्छ । तर अहिले व्यवसायभन्दा पनि स्वास्थ्यको कुरा आएको छ । त्यसैले केही समयका लागि बन्द हुँदा पनि खुसी छाँै । यो समय राम्रा राम्रा गीतसङ्गीत उत्पादनमा लगाउनुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

विनु शाक्य (डान्सर) :

म अहिले सिन्धुपाल्चोकको पुख्र्यौली घरमा आएकी छु । अहिले कोरोनाको कारण सबै मेला, महोत्सव लगायतका कार्यक्रमबाट राम्रो आम्दानी भइरहेको थियो । त्यो खोसिँदा टेन्सन भएको छ । मजस्तो कलाकार मात्र होइन । त्यसमा आयोजक लगायत धेरै पाटो जोडिएको हुन्थ्यो । ती सबैका लागि नोक्सानी पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप