बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कृत्रिम अभाव गर्नेलाई तत्काल ‘एक्सन’ !

शुक्रबार, २३ फागुन २०७६, १२ : ५१
शुक्रबार, २३ फागुन २०७६

काठमाडौँ । कोरोनाभाइरसको सन्त्रासबीच बजारमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुदेखि आवश्यक माक्स, औषधि, लत्ताकपडाको कृत्रिम अभाव हुन थालेको भन्ने हल्ला चलेको छ । यसै विषयलाई मध्यनजर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हल्लाका पछि नलाग्न आम सर्वसाधारणमा अपिल गरेको छ । बजारमा कहीँ केहीमा पनि त्यस्तो अभाव नभएको र बजार यथास्थितिमै रहेको भन्दै विभागले सशङ्कित नहुन सर्वसाधारणमा आग्रह गरेको हो । बरु यस्तो हल्लाको पछि नलागी आवश्यकभन्दा बढी सामान खरिद गर्ने र स्टोर गर्ने कार्य नगर्न आम नागरिकलाई विभागले आग्रह गरेको छ ।

उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले मन्त्रालय, विभाग र उपभोक्त हित संरक्षण संवद्र्धन निकायहरुले बारम्बार बजार अनुगमन गरिरहेको र त्यस्तो कहीँ केही नभेटिएको बताएका छन् ।

हामी मन्त्रालय, विभाग र सम्बद्ध निकायहरुले निरन्तर बजार अनुगमन गरिरहेका छौँ । यस्तो कृत्रिम अभाव भए गरेको अहिलेसम्म पाएका छौनौँ ।’ महानिर्देशक सुवेदीले भने, ‘अनावश्यक हल्लाको पछि लाग्नु भएन । यदि कहीँ त्यसो भएको छ भने तत्काल विभागलाई जानकारी दिनुहोस् । त्यस्ता व्यक्ति, व्यवसायी तथा फर्मलाई विभागले तुरुन्त कारबाही गर्छ ।’

सुवेदीका अनुसार समस्याको मौका छोपी अमर्यादित क्रियाकलाप गर्ने र सर्वसाधारणमा आतङ्क मच्चाउनेलाई कडा कारबाही हुन्छ । विभागले बजार अनुगमन तथा अनुसन्धानका लागि टोली खटाइसकेको छ ।

अहिले बजारमा दैनिक उपभोग्य वस्तु ग्यास चामल, औषधि, माक्स लगायतका सामान व्यापारीहरुले अभाव देखाउँदै कृत्रिम अभाव सिर्जना गर्न थालेका गुनासा आउन थालेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्चका महासचिव रञ्जन शर्मा खनाल अहिले कोरोनाको सन्त्रास हुँदा कालो बजारियाले मौकाको फाइदा उठाउन लागेको तर सरकार यस विषयमा उदासिन देखिएको आरोप लगाएका छन् ।

यस विषयमा सरकारले बजार हस्तक्षेप गर्नुपर्ने र सहज वातावरण सिर्जना गर्नुपर्ने खनालको माग छ ।

‘अहिले बजारमा कालो बजारिया सलबलाएका छन् । समस्याको मौका छोपी महँगोमा सामान बेच्ने र स्टक रहेका पुराना सामान क्लियर गर्ने मनसायमा अघि बढेको देखिन्छ । यसतर्फ सरकार र सरकारी संयन्त्र कमजोर लाछी देखियो ।’ महासचिव खनालले भने, ‘अविलम्ब सरकारले बजार हस्तक्षेप गर्नुपर्छ । नत्र पछि भयाभहको अवस्था आउन सक्छ ।’

यता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाको त्रासका बीच बजारमा ग्याँस, चामलजस्ता अत्यावश्यक वस्तुको अभाव हुन्छ भन्ने हल्लाका पछि कोही पनि नलाग्न आग्रह गरेका छन् । मन्त्री भट्टले मुलुकको आपूर्ति व्यवस्थामा कुनै किसिमको समस्या नरहेको र पछि पनि नरहने बताएका छन् ।

उनले अहिले बजारमा अत्यावश्यक वस्तुको सबैखाले आपूर्ति व्यवस्था सहज रहेको र बजारमा उपभोग्य वस्तु पर्याप्त रहेकाले कसैले पनि मनोवैज्ञानिक त्रास पाल्नु नपर्ने बताए ।

‘जनतालाई मेरो आग्रह छ, आपूर्ति व्यवस्था ठीक छ, कुनै पनि वस्तुको अभाव हुँदैन । यो मेरो प्रतिबद्धता हो ।’

कालोबजारी र कृत्रिम अभाव रोक्न मन्त्रालयले विशेष टाक्सफोर्स बनाउने तयारी गरिरहेको बताउँदै मन्त्री भट्टले कुनै वस्तुको अभाव देखिएमा सरकारले बजारमा हस्तक्षेप गर्ने बताए ।

‘कोरोनाविरुद्ध लड्न उपप्रधानमन्त्रीको संयोजकत्वमा बनेको उच्च स्तरीय समितिले समग्र विषयको नेतृत्व लिएको छ । त्यसमा म पनि छु । हिजो मात्र उक्त समितिको बैठक बसेको थियो । समितिले देशमा देखिन सक्ने सबै क्षेत्रको असरको क्षेत्रगत रूपमा पूर्वतयारी गर्ने मन्त्री भट्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप