शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले औषधि र कच्चापदार्थ रोक्दा नेपाललाई के असर गर्ला ?

औषधि व्यवस्था विभाग भन्छ, कम्तीमा ३ महिनालाई पुग्ने औषधि छ
बिहीबार, २२ फागुन २०७६, १७ : २६
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । विश्वमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण बढ्दै जाँदा भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको अभाव भएपछि भारत यस्तो निर्णयमा पुगेको बताइएको छ ।

 औषधिको सबैभन्दा ठूलो आपूर्तिकर्ता भारतले निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेपालको स्वास्थ्य क्षेत्रमा समेत असर देखिनसक्ने भय पैदा भएको छ । भारतले औषधि उत्पादनका लागि चिनियाँ बजारबाट कच्चा पदार्थ आयात गर्ने गरेको तर कोरोनाको संक्रमणपछि कच्चा पदार्थको आयतमा समस्या भएपछि भारत औषधि निर्यात नगर्ने निर्णयमा पुगेको हो । 

मंगलबार भारत सरकारको उद्योग विभागले ११ प्रकृतिका २६ औषधि निर्यातमा रोक लगाउने सूचना सार्वजनिक गरेको थियो । जसअनुसार भारतले नेपालमा पठाउने औषधि र त्यसका कच्चापदार्थमा पनि अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाउने निर्णय गरेको थियो । 

जारी सूचनामा पारासिटामोल, मेट्रोनिडाजोल, भिटामिन बि वान, बि सिक्स, बि टुबेल, प्रोजेस्टेरोन हर्मोन, क्लोरमफेनिकल, इरिथ्रोमाइसिन लगायतका औषधि तथा त्यसका कच्चापदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । 


थै भारतमा पनि कोरोना भाइरसबाट संक्रमितको सङ्ख्यामा वृद्धि हुँदै गर्दा एकातिर कच्चा पदार्थको अभाव त अर्कोतिर देशभित्रै भविष्यमा आउनसक्ने माहामारीलाई संकेत गर्दै भारत सरकारले ती औषधिहरु नेपाल लगायत अन्य मुलुकमा निर्यातमा रोक लगाएको हो । 

पारासिटामोल ज्वरोका बिरामीका लागि अत्यावश्यक औषधि हो भने मेट्रोनिडाजोल, टी निडाजोल आदि पखालाका बिरामीलाई दिइने औषधि हो । त्यसैगरी एरिथ्रोमाइसिन एण्टीबायोटिक औषधि हो भने प्रोजेस्टेरोन हर्मोनल गडबढी हुँदा प्रयोग हुने औषधि हो । 

मुख्यतः भारत सरकारले निर्यातमा रोक लगाएको औषधिहरु कोरोना भाइरसबाट संक्रमितहरुलाई प्रयोग गरिने औषधि तथा त्यसका कच्चापदार्थहरु छन् । 

भारतले यी औषधिहरुमा रोक लगाएसँगै बुधबार र बिहीबार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, औषधि उद्योगी तथा व्यवसायीहरुले भेटघाट गरेका छन् । 

यी औषधिहरुको व्यवस्थापन कसरी गर्ने र सम्भावित संकटलाई कसरी टार्ने भनेर छलफल भइरहेको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए । 

३ महिनालाई पुग्ने औषधि मौज्दात
औषधि व्यवस्था विभागका महानिर्देशक ढकालका अनुसार भारत सरकारले हाल प्रतिबन्ध लगाएका यी औषधिहरु नेपालमा पनि उत्पादन हुने औषधिहरु हुन् ।

 औषधि व्यवसायी, औषधि उद्योग र नेपाल सरकारसँग सबै औषधि जोड्दा तत्कालका लागि ३ महिनालाई पुग्ने औषधि मोज्दात रहेको महानिर्देशक ढकालको भनाइ छ । त्यसकारण अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको पनि ढकालको भनाइ छ । 

अहिले नेपालका औषधि उद्योगहरुमा पनि यी औषधि निर्माणका लागि आवश्यक कच्चा पदार्थ समेत केही मात्रामा मौज्दात रहेको छ । कच्चा पदार्थसमेत मौज्दात रहेकाले भारतले केही समयका लागि औषधिको निर्यात रोक्दैमा आत्तिनुपर्ने अवस्था नआएको विभागको भनाइ छ ।

भारतले अत्यावश्यक औषधि रोक्दैन
भारतले तत्कालका लागि सम्भावित खतरालाई आंकलन गर्दै औषधि तथा कच्चापदार्थको निर्यातमा रोक लगाएको भएपनि नेपाल सरकारले अनुरोध गरेको अवस्थामा भारतले ती औषधि तथा कच्चापदार्थ उपलब्ध गराउने ढकालको दाबी छ । 

उनले भने, ‘अहिले भारतले किन त्यस्तो निर्णय गर्यो त्यो त भारत सरकारलाई नै सोध्नुपर्ला । हुनसक्छ उसले आफ्नो जनताको सुरक्षाका लागि यस्तो निर्णय गरेको हो । तर भारत ठूलो जनसङ्ख्या भएको मुलुक भएको र नेपाल उसका लागि ज्यादै सानो बजार भएकाले नेपाललाई आवश्यक परे र नेपालले माग गरेमा भारतले ती औषधिहरु पठाउँछ भन्ने कुरामा म विश्वस्त छु ।’
कालोबजारी हुनसक्छ, हामी कठोर बन्छौँ

भारतले केही औषधिहरुको निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपालमा भने ती औषधिहरुको कालोबजारी र कृतिम अभाव हुनसक्ने खतरा बढेको छ । उद्योगीहरुले मूल्यवृद्धि गर्न नपाउने भएपनि औषधि व्यवसायीहरुले कृतिम अभाव गरी कालोबजारी गर्न सक्ने खतरा रहेको भन्दै त्यसका लागि निरन्तर अनुगमन गरिने महानिर्देशक भट्टराईले बताए । 

भारतले प्रतिबन्ध लगाएको औषधिको सूची

आवश्यक परे सरकारले सबै औषधि संकलन गर्न सक्ने
अहिले औषधिको अभाव नभएको भएपनि यदि नेपालमा पनि कोरोना संक्रमण फैलिएको अवस्थामा भने ती औषधिहरुको अभाव हुनसक्ने खतरा रहेको छ । 

हाल मौज्दात औषधिले ३ देखि ६ महिनासम्म थेग्ने अवस्था भएपनि यदि माहामारी फैलिएको अवस्थामा ती औषधिहरु एक महिनामै सकिन पनि सक्नेछन् । औषधिको अभाव भन्दै व्यवसायीले कृतिम अभाव गरी कालोबजारी गर्न खोजेको अवस्थामा ती औषधिहरुलाई सरकारले नै नियन्त्रणमा लिई वितरण गर्नसक्ने वा भण्डारण गर्न सक्ने पनि महानिर्देशक ढकालले रातोपाटीलाई बताए । 

औषधि व्यवस्था विभाग तथा स्वास्थ्य मन्त्रालयले बुधबारदेखि नै औषधिको अभाव हुन नदिन र भविष्यमा औषधिको समस्या कसरी समाधान गर्ने भनेर छलफल चलाइरहेको छ । 

मन्त्रालय र विभागले बुधबार औषधि उद्योगहरुसँग छलफल गरेको थियो भने बिहीबार औषधि व्यवसायी तथा सरोकारवालासँग छलफल गरेको थियो । बिहीबार साँझ पनि यसै विषयलाई लिएर प्रधानमन्त्री कार्यालयमा छलफल राखिएको छ । 

यसैबीच सरकारले औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधी तथा आत्यावश्यक सामाग्री आयात गर्ने निर्णय भएको छ ।

बुधबार रक्षा मन्त्रालयमा बसेको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले भारत सरकारले अत्यावश्यक औषधिको माग गरेमा नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको भन्दै औषधि अभावको समस्या नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप