यसकारण मैले आफ्नी आमासँग विवाह गरेँ...
यो दुई महिलाबीचको असाधारण प्रेम कहानी हो । फिलिसलाई उनकी समलिङ्गी पार्टनर लिलियानले धर्मपुत्रीको रुपमा स्विकारेकी थिइन्, आफ्नै परिवार बनाउने उद्देश्यसहित । तर यी दुई महिलाबीच रोमान्सको यो कहानीमा यो उनीहरुको जीवनमा आएका थुप्रै मोडमध्येको एक थियो ।
सन् १९७१ महिला मुक्ति आन्दोलनको सरुवाती वर्ष हो । क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलियान फेडरम्यानले सेन्टरको एकेडेमी निर्देशक फिलिस इर्विनलाई सम्पर्क गरिन् ।
सुरुवाती कुराकानी एक नयाँ शिक्षा कार्यक्रम सुरु गर्नेबारे भएको थियो । तर उनीहरुबीचको यो भेट अर्को आधा शताब्दीसम्म चल्ने प्रेम कहानीको सुरुवात पनि थियो । त्यसमा पनि थुप्रै जटिल मोड आउने क्रम जारी थियो ।
जब लिलियान र फिलिसको भेट भएको थियो तब क्यालिफोर्नियासमेत अमेरिकाका सबै प्रान्तमा एलजीबीटीक्यू समुदायमाथि भेदभावको कानून थियो । क्यालिफोर्नियाले सन् १९७५ मा समलिङ्गी सम्बन्धलाई अनुमति दिने कानून पारित गरेको थियो । लगत्तै अर्को वर्ष, यो कानून लागू भयो ।
लिलियानले बीबीसी वर्ल्ड सर्भिसको कार्यक्रम आउटलुकलाई भनिन्, ‘हामीलाई देशको हरेक स्थानमा अपराधी नै मानिन्थ्यो । धेरैजसो समलिङ्गी लुकेरै बस्दथे ।’
यति हुँदा हुँदै पनि उनी आफ्नै परिवार बनाउने सपना देख्थिन् ।
यी दुई महिलाले कानूनी बिडम्बनाको अचम्मको समाधान निकाले । त्यतिबेला ५० वर्षको हाराहारीमा रहेकी फिलिसले तीस वर्षकी आफ्नी पार्टनरलाई धर्मपुत्री बनाइन् ।
र त्यसपछि असाधारण स्थिती पैदा भयो ।
सन् २००८ मा क्यालिफोर्नियाले समलिङ्गी विवाहलाई अनुमति दिँदा लिलियान र फिलिसले विवाह गरे । उनीहरु आमा छोरीबाट जीवनसाथी बनेका थिए ।
लिलियान हाँस्दै भन्छिन्, ‘मलाई लाग्छ कि संसारभरीका कुनै पनि दम्पत्तिको तुलनामा हामीबीचको कानूनी सम्बन्ध धेरै होलान् ।’
भिन्न सुरुवातः
जब दुईले रोमान्स गर्न सुरु गरेको थिए तब उनीहरु खुल्ला रुपमा समलिङ्गी थिएनन् ।
फिलिस भन्छिन्, ‘त्यतिबेला हामीलाई थाहा थियो कि हामीले चुपचाप आफ्नो जीवन बाँच्नुपर्छ ।’
तर युनिभर्सिटीका केही सहकर्मीलाई थाहा भयो कि यी दुई बीच केही चलिरहेको छ ।
फेडरम्यान भन्छिन्, ‘उनीहरुले हामीलाई फिलियन एण्ड लिलिस भन्थे किनभने हामी सधैं सँगै हुन्थ्यौं ।’
‘जब मैले महिलामा समलैङ्गिकताको इतिहासबारे किताब लेख्न सुरु गरेँ तब सबैलाई थाहा भयो कि हामी सँगै छौं ।’
मातृत्वः
सन् १९७४ मा दुबैले बच्चा जन्माउने निश्चित गरे । लिलियान फर्टिलिटी क्लिनिक गइन् ।
त्यो समयमा कृत्रिम गर्भाधान गर्नु असामान्य कुरा थियो । विशेषगरी एक्लो मानिने महिलाका लागि ।
तर लिलियानले डाक्टरलाई आफ्नो मद्दत गराउनका लागि राजी गराएरै छोडिन् ।
उनी त्यो समय याद गर्दै भन्छिन्, ‘डाक्टरले मलाई ‘बच्चा चाहन्छौ भने किन विवाह गर्दैनौ’ भनेर सोधे ।’
मैले जवाफ दिएँ, ‘म ३४ वर्षकी छु, डक्ट्रेटको डिग्री छ र युनिभर्सिटीमा एकेडेमीको मामलाकी उपाध्यक्ष हुँ । धेरैजसो पुरुषलाई मेरो यो स्टेटसले समस्या हुनसक्छ ।’
त्यसपछि डाक्टरले कृत्रिम गर्भाधारण गराए जुन सफल रह्यो ।
तीनजनाको परिवारः
सन् १९७५ मा लिलियानले एक छोरालाई जन्म दिइन् । जसको नाम एवरोम राखियो । उनी दम्पत्तिका एक्लो सन्तान हुन् ।
त्यसपछि उनीहरुलाई आफ्नो सम्बन्धको कानूनी सीमा भएको थाहा भयो ।
लिलियान भन्छिन्, ‘हामीबीच कुनै कानूनी सम्बन्ध थिएन, हामीलाई यो कुराको अत्यधिक चिन्ता थियो ।’
‘सबैभन्दा चिन्ताको विषय के थियो भने यदि एवरोम बिरामी भए र फिलिसले उनलाई अस्पताल पुर्याउनु पर्यो भने म कानूनी रुपमा छोराको अभिभावक थिइनँ,’ उनले भनिन् ।
त्यतिबेला समलिङ्गी दम्पत्तिलाई धर्मपुत्र÷पुत्री पाल्नु वा कृत्रिम गर्भधारण गर्ने अधिकार थिएन ।
आमा र छोरीः
त्यसपछि उनीहरुले क्यालिफोर्नियाको त्यो कानूनको फाइदा उठाए जस अनुसार उमेरमा १० वर्षको भिन्नता छ भने एक वयस्कले अर्को वयस्कलाई धर्मपुत्र–पुत्रीको रुपमा स्विकार गर्न सक्छ ।
र त्यसपछि फिलिस कानूनी रुपमा एवरोमकी हजुरआमा बनिन् ।
यी दुईले यो निर्णय लिन कत्ति पनि बेर लगाएनन् ।
फिलिस भन्छिन्, ‘मैले यसलाई एवरोमसँग कानूनी सम्बन्ध स्थापित गर्ने बाटोको रुपमा हेरेकी थिएँ ।’
बीबीसीसँगको साक्षात्कारमा उनी हाँस्दै भन्छिन्, ‘हामी दुईबीचको सम्बन्ध व्यभिचार थियो ।’
लिलियानले यसलाई थप गम्भीरताका साथ सम्झाउँदै भन्छिन्, ‘हामीले कहिले पनि यसलाई अचम्म मानेनौं किनभने हामीले कहिले पनि एक अर्कालाई आमा–छोरीको रुपमा हेरेनौं । हामीले कानूनको फाइदा उठानउका लागि मात्रै यसो गरेका हौं ।’
मामा फिलिसः
तर यी दुई महिलाले यो काल्पनिक सम्बन्धको प्रयोग कानूनी आवश्यकताभन्दा पनि माथि उठेर गरे ।
लिलियन भन्छिन्, ‘एवरोम जुन समयमा जन्मिएको थियो त्यो समय उनको जन्मलाई साधारण मान्न सकिँदैनथ्यो । एवरोमलाई फिलिस हजुरआमा हुन् भनेर चिनाउन सहज हुन्थ्यो ।’
‘यस्तो गर्नु एवरोमका लागि पनि सहज हुन्थ्यो तर उसलाई राम्रोसँग थाहा छ कि फिलिस उनकी दोस्री आमा हुन् ।’
उनले सधैं नै उनलाई मामा फिलिस भनेर बोलाउँथे । एवरोम अब ४५ वर्ष पुगिसकेका छन् र अहिले पनि फिलिसलाई यसरी नै सम्बोधन गर्छन् ।
सन् २००८ मा जब क्यालिफोर्नियाले समलिङ्गी विवाहलाई अनुमती दियो, लिलियान र फिलिसले कानून पारित भएको भोलिपल्टै विवाह गरे ।
तर उनीहरुले धर्म आमा–पुत्रीको कानूनी सम्बन्ध रद्द गरेका थिएनन् जसका कारण उनीहरु आमा छोरीका साथै दम्पत्ति पनि बने ।
लिलियान भन्छिन्, ‘हाम्रो लागि धर्म आमा–पुत्री एउटा कागजी कारवाही मात्रै थियो त्यसकारण हामीले यसलाई खासै ध्यान दिएनौं ।’
र त्यसपछि निम्तियो समस्याः
तर पछि उनीहरुलाई थाहा भयो कि धर्म आमा–पुत्रीको कानूनी प्रक्रिया रद्द नगरेका कारण उनीहरुको विवाह कानूनी रुपमा स्विकार्य हुन सकेन ।
यदि उनीहरुले आमा–छोरीको सम्बन्धलाई रद्द नगरिकनै अन्य अमेरिकी प्रान्तमा गएको भए उनीहरुमाथि कानूनी कारवाही पनि हुनसक्थ्यो ।
र जब सन् २०१५ मा अमेरिकाका सबै प्रान्तमा समलैङ्गिक विवाहले मञ्जुरी पायो तब एक वकिलले उनीहरुलाई आमा छोरीको सम्बन्धलाई कानूनी रुपमा रद्द गर्न र पुनः विवाह गर्न सल्लाह दिए ।
उनीहरुले त्यस्तै गरे । त्यसपछि उनीहरुका छोरा एवरोमले पनि आफ्नो इच्छा प्रकट गरे ।
जब आमा–छोरीको सम्बन्ध समाप्त भयो तब एवरोमलाई लाग्यो कि कानूनी रुपमा उनी अब फिलिसको सन्तान होइनन् । फिलिसलाई एवरोमले आफूलाई धर्मपुत्रको रुपमा स्विकार्न आग्रह गरे ।
पुनः धर्मपुत्रको रुपमा स्विकारिए एवरोमः
जब एवरोमलाई फिलिसले कानूनी रुपमा धर्मपुत्रको रुपमा स्विकारे तब उक्त परिवारका लागि त्यो पल निकै अविस्मरणीय थियो । एवरोम आफ्नी श्रीमती र छोरासहित उक्त परिवारमा समावेश भएका थिए ।
फिलिस भन्छिन्, ‘त्यो पल मेरो लागि निकै विशेष थियो, त्यो छोरा जसलाई मैले जन्मिएदेखि पालेको थिएँ, जसलाई मैले पेटभित्रै हुँदा लोरी सुनाएकी थिएँ, उसले चाहन्थ्यो कि म कानूनले समेत स्विकार्ने गरी उनको आमा बनूँ ।’
र अन्ततः थुप्रै कानूनी उतार चढावपछि यो विशेष परिवारले त्यो दर्जा हाँसिल गर्यो जुन उनीहरुले निकै अघिदेखि कल्पेका थिए ।
सन् २००३ मा फिडरम्यानले आफ्नो कहानीमा आत्मकथा लेखेकी थिइन् । जसको नाम थियो ‘नेकेड इन द प्रोमिस्ड ल्याण्ड ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनोद काम्बली अस्पताल भर्ना, अवस्था चिन्ताजनक
-
सिरहामा दुई समूहबिच झडप, प्रदेश सांसद खातुनसहित १८ जना घाइते
-
७ पटक राष्ट्रिय चलचित्र पुरस्कार विजेता श्याम बेनेगलको निधन
-
अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालको खराब प्रदर्शन
-
झापा कपको उपाधि चर्च ब्वाइजले जित्यो
-
जीबी राईका सबै सहकारीबिच अवैधानिक ‘अन्तर–सहकारी’ कारोबार