मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेस रिभ्यू : ‘नेपाल रत्न’ लाई मन्त्रीसरह सुविधा, ३९ मिनेटमा जोडियो प्रधानमन्त्रीको मिर्गौला

बिहीबार, २२ फागुन २०७६, ०७ : १३
बिहीबार, २२ फागुन २०७६

आज फागुन २२ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोप सफल भएको समाचारले प्रथामिकता पाएका छन् । त्यस्तै, कोरोनाभाइरसको त्राससँगै बढेको कालोबजारीको समाचारहरु पनि प्रकाशित छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा प्रवेश गर्नुअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफन्त र शुभचिन्तकलाई  चिन्ता नलिन र नआत्तिन आग्रह गर्दै भने, ‘मलाई राम्रो हुन्छ, नराम्रो भए पनि आफ्नो देशको माटोमा उपचार हुने भएकाले चिन्ता लिन आवश्यक छैन, जे हुन्छ राम्रै हुन्छ।’ प्रधानमन्त्रीले आफ्नै देशको माटोमा उपचार गराएकाले आफूलाई जे भए पनि फरक नपर्ने र ढुक्क रहन पटकपटक आफन्त र शुभचिन्तकलाई आग्रह गरेको जानकारी वरिष्ठ चिकित्सक अरुण साय्मिले दिएको नागरिक दैनिकमा समाचार छ । प्रधानमन्त्री ओलीलाई भिभिआइपी कक्षको ६०१ शड्ढयाबाट शल्यक्रिया कक्षमा लग्दा बिहान ९ बजेर ५७ मिनेट गएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले बिहान ९ बजेदेखि प्रधामन्त्री ओलीको मिर्गौला प्र्रत्यारोपण सुरु हुने जानकारी दिए पनि तयारी गर्दा करिब एक घण्टा ढिला उनलाई शल्यक्रिया कक्षमा लगिएको थियो। ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीको नेतृत्व गरेका डा। प्रेम ज्ञवालीले प्रक्रिया सुरु गरेको जनाउ दिँदा १० बजेर दुई मिनेट गएको थियो।

सर्जन प्रा.डा. प्रेम ज्ञवालीका अनुसार अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्रीले तपाईंहरूप्रति पूर्ण भरोसा रहेको बाताएका थिए । नयाँ पत्रिकासँगको संवादमा ज्ञवालीले भनेका छन्,

सबै स्वास्थ्यजाँच गरेपछि हामीले ‘केही भन्नु छ अथवा केही आदेश छ प्रधानमन्त्रीज्यू’ भनेर सोधेका थियौँ । उहाँले ‘मेरो केही भन्नु छैन, तपाईंहरूप्रति पूर्ण भरोसा छ’ मात्रै भन्नुभयो । मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी चार घन्टा ३० मिनेट लाग्यो । त्योमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था धेरै राम्रो छ । हरेक घन्टा ६ सयदेखि सात सय मिलिलिटरका दरले पिसाब हुन थालेको छ । यसको अर्थ अहिलेसम्म प्रत्यारोपण गरेको नयाँ मिर्गौलाले चार लिटरभन्दा बढी पिसाब बनाइसकेको छ । त्यो भनेको हाम्रा लागि धेरै हर्षको कुरा हो । दाताको स्वास्थ्य पनि ठीक छ । उहाँको मिर्गौला निकाल्न डेढ घन्टा लागेको थियो । दाताको शल्यक्रिया ल्याप्रोस्कोपिक विधिबाट गर्‍यौँ । यसो गर्दा सानो मात्र घाउ हुन्छ । त्यसैले दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालिसकेका छौँ । पहिला हामीले ठूलै घाउ बनाएर गर्थ्यौं। अहिले हामीले नयाँ सीप पनि सिक्यौँ र प्रविधि पनि उपलब्ध भएकाले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेका हौं । उहाँलाई अहिले राम्रो छ ।

‘मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ’

नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवतजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्रीनिवास बालुवाटार पुगिरहन्थिन् । त्यहीबीचमा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटकपटक बिरामी पर्न थाले । प्रधानमन्त्रीलाई बीचबीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो । प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात् दुर्लभ समूहको छ । संयोगले समीक्षाको पनि ‘ओ नेगेटिभ’ नै हो । त्यसैले उनले मामालाई रक्तदान पनि गरिन् । तर, ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो ।

अन्ततः मिर्गौला प्रत्यारोपण नै गर्ने टुंगो भयो । तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो । रक्तदान गर्दै आएकी समीक्षा तयार भइन् । हुन त अन्य पनि इच्छुक थिए । तर, नाता र स्वास्थ्यको हिसाबले समीक्षाको मिर्गौला छनोट भयो ।  मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्रीनिवास बालुवाटारमा भनेकी थिइन्, ‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिँडेको नेता हो । त्यसैले मैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ ।’ समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरूका एक छोरा र एक छोरी छन् ।

सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको नागरिक दैनिकमा समाचार छ । नेपाली नगारिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ । नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त मानपदवी पाउनेलाई सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने सबै खर्च सरकारले दिने व्यवस्था गरिएको छ । नेपाल रत्नबाट हरेक वर्ष एक जनालाई विभूषित गरिनेछ । त्यसबाट विभूषित हुनेले कूटनीतिक राहदानी, नामअघि नेपाल रत्न शब्द जोड्न, निःशुल्क हवाई यात्रा गर्न पाउने व्यवस्था पनि गरिएको छ । त्यसैगरी सरकारले प्रदान गर्ने भनी प्रस्ताव गरिएका मानपदवीमा दुईव्टा थप गरिएको छ । थपिएका ती मानपदवीका नाम ‘सगरमाथा सम्मान विभूषण’ र ‘गौतम बुद्ध पदक’ राखिएको छ । यसअघि वर्षमा २० जनलाई मात्र विभूषिण् गर्ने प्रस्ताव गरिएको थियो । ‘सगरमाथा सम्मान विभूषण’ भने विदेशी राज्यका पदाधिकारीलाई दिने व्यवस्था गरिएको छ । उक्त सम्मान पाउनेको मञ्जुरी भए सम्मानार्थ नेपाली नागरिकतासमेत दिनसक्ने प्रस्ताव विधेयकमा गरिएको छ । उक्त विभूषण पनि वर्षमा एक जनालाई मात्र दिने प्रस्ताव गरिएको छ ।

भर्ना नै नगरिएका गरिब ११ हजार दरबन्दीलाई समेत समेटेर गृहमन्त्रालयले प्रहरी समायोजन प्रक्रिया अघि बढाएको कान्तिपुर दैनिकमा समाचार छ । संघ र प्रदेश सरकार मातहत रहने प्रहरीको संगठन र दरबन्दी कायम गर्न गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा गत साता बसेको बैठकले कुल दरबन्दीको साढे १३ प्रतिशत रिक्त जनशक्ति समेटेर संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) निर्माण प्रक्रिया थालेको हो । गृहसचिव अध्यक्ष रहेको समितिले व्यवस्थापन महाशाखा प्रमुख रामप्रसाद आचार्यको संयोजकत्वमा उपसमिति गठन गरिसकेको छ । उपसमितिलाई ओएनएम निर्माण र समायोजन हुने प्रहरीको विवरण संकलन गर्ने जिम्मेवारी दिइएको छ । ओएनएमसम्बन्धी मस्यौदा निर्माणमा खटिएका एक अधिकारीले सातैवटा प्रदेशमा ५५ हजार जनशक्ति समायोजनको तयारी गरिएको बताए । नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि प्रहरी महानिरीक्षकसम्म हाल कायम ७९ हजार ५ सय २३ दरबन्दीमध्ये ६८ हजार ७ सय ७६ मात्रै कार्यरत छन् । कुल दरबन्दीमा १० हजार ७ सय ४७ जनशक्ति अभाव छ ।

बजारमा मास्क, सेनिटाइजर र औषधिजन्य सामग्रीको मूल्यवृद्धि र अभाव भइरहेका बेला सरकारी टोलले बुधबार सिनेमा हलको अनुगमन ग-यो । अनुचित व्यापारिक कारोबार गरेको भन्दै विग मुभिजलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले २ लाख ५० हजार रुपैयाँ जरिवाना तिरायो । ‘सिनेमा हल अनुगन गर्नैपर्ने क्षेत्र हो तर हिजोहाजको प्राथमिकता त्यो हैन,’ विभाग कै एक अधिकारीले भने । ती अधिकारीले भनेजस्तै हिजोआज अनुगमन गर्नुपर्ने क्षेत्र मेडिकल तथा दैनिक उपभोग्य सामग्रीको बजारमै हो । कान्तिपुर दैनिकमा समाचार छ । कोरा भाइरस (कोभिड–१९) ले आपूर्ति प्रणालीमा असन्तुलन ल्याउने सम्भावना देखेर व्यापारीले मेडिकल जन्य सामग्रीको मूल्यवृद्धि र अभाव सिर्जना गर्न थाले पनि त्यसलाई रोक्न सरकारले पहल गरेको देखिएको छैन । अभाव, मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्ने चेतावनी दिए पनि अनुगमन गरिएको छैन । बजारमा मास्क, सेनिटाइजरलगायत सर्जिकल वस्तु पाइन छाडेका छन् । कतिपय व्यवसायीले कालोबजारी गरिरहेको आशंका छ । बजार अनुगमन तथा मूल्य नियमनको दायित्व वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । विभागले दिनहुँ अनुगमन गरेका दाबी गर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले व्यवसायीबाट कालोबजारी नभएको दाबी गरे । मास्कमा भने केही समस्या भएको उनले स्वीकारे ।

राजधानीका बासिन्दालाई एक महिनाका लागि पुग्ने खाद्य सामग्री मौज्दात रहेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने सरोकारवालाको बताउँछन्। थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्टले भने, ‘उपत्यकावासीलाई एक महिनासम्म पुग्ने गरी चामल, दाल र खाने तेलको मौज्दात छ।’ कोभिड–१९ बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिएर दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन सरकारले भने पूर्वतयारी थालेको छैन। सर्वोच्च अदालतले सोमबार दैनिक उपभोग्य वस्तुको व्यवस्थापनतर्फ पूर्वतयारी गर्न सरकारलाई आदेश दिएको थियो। अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा चामल, दाल, खाने तेल, तरकारी, इन्धनलगायत पर्छन्। विभागीय मन्त्री लेखराज भट्ट उपत्यकाबाहिर र सचिव बैकुण्ठ अर्याल नेपाल–बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटीसम्बन्धी पाँचांै सचिवस्तरीय बैठकमा सहभागी हुन बंगलादेशमा छन्। ‘मन्त्री र सचिवज्यू बाहिर भएकाले तत्कालै पूर्वतयारी सुरु भएको छैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँहरू आएपछि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक रणनीति बनाउँछौं।’ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन कुरेको छ। निजी क्षेत्रले पनि आन्तरिक रूपमा पूर्वतयारीका कुनै कार्य गरेको छैन। थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्ट भने कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्छन्। ‘जोखिमका विषयमा हामी पनि जानकार छौं’, भट्टले भने, ‘बिहीबारदेखि हामी पूर्वतयारीबारे छलफल सुरु गर्दै छौं। अहिल्यै आत्तिनु पर्ने अवस्था छैन। हामीसँग एक महिनालाई पुग्ने प्रमुख खाद्य पदार्थ मौज्दात छन्।’ काठमाडौं उपत्यकामा दैनिक चामल ८० ट्रक, दाल १२ ट्रक र खाने तेल २० ट्रकको माग छ। ती वस्तु भारतीय नाकामार्फत आयात भइरहेको छ। भारतीय नाका अहिलेकै अवस्थामा सञ्चालन भइरहे उपत्यकावासीलाई खाद्यान्न अभाव नहुने संघले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप