शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

शेरबहादुरले गाँजा खेतीबाट खर्बौं आम्दानी हुने भनेपछि खड्काले निकाले रक्तचन्दनको कुरा !

बुधबार, २१ फागुन २०७६, १८ : १४
बुधबार, २१ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफूहरुले धेरै सोच र विचार गरेर नेपालमा गाँजा खेती व्यवस्थापन तथा नियमन गर्न संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा प्राइभेट विल दर्ता गराएको स्पष्ट पारेका छन् । उक्त विधेयक पारित हुने समेत दावी गरे । 

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा सांसद तामाङले उक्त विधेयक गैरसरकारी रूपमा दर्ता गरिएको सुनाउँदै नेपालमा गाँजा खेती खुल्ला गरिए नेपाली जनता तथा देश नै समृद्ध हुने पनि दाबी गरे । उनले भने,‘नेपालमा गाँजा त प्राकृतिक रुपमा नै उत्पादित वनस्पती हो । त्यसमा पनि यसमा औषधीय गुण हुन्छ । नेपालको गाँजा विश्वकै महँगो गाँजाको रुपमा बिक्री हुन्छ ।’

उनले अन्तर्राष्ट्रिय रुपमा पनि गाँजाको कारोबार अर्बमा नभएर खर्बौं रुपैयाँमा भइरहेको दृष्टान्त सुनाए । उनले भने,‘नेपालले पनि भोलि यसबाट ठूलो आर्थिक लाभ लिनसक्छ ।’

उनले गाँजाको सेवनमात्रै नभएर यसको रेसाबाट कपडासमेत बन्ने गरेको पनि सुनाए । विश्व स्वास्थ्य संगठनले पनि गाँजालाई लागुऔषधमा नराखेको सुनाउँदै यसतर्फ नेपालले पनि ध्यान दिनुपर्ने तामाङको तर्क छ ।

तामाङले भोलि कसैले नियम तथा कानून उल्लंघन गरे एक वर्षसम्म जेल सजाय र एक लाखसम्म जरिवाना हुनेसमेतको व्यवस्था गर्न लागिएको सुनाए । उनले गाँजामा ४५० भन्दा बढि औषधीय गुण रहेको पनि सुनाए । उनले नेपाललाई समृद्ध राष्ट्र बनाउनको लागि गाँजा खेती खुल्ला गर्दा उक्त योजना ‘गेम–चेन्जर’ हुन सक्नेपनि तर्क गरे । 

उनले नेपालमा विदेशी पर्यटकहरुको लागि गाँजा सेवन खुल्ला गर्ने हो भने वर्षमा लाखमा नभएर करोडको संख्यामा विदेशी पर्यटकहरु आउनसक्ने पनि सम्भावना औंल्याए । 

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री दीपक खड्काले नेपालमा गाँजा खेती खुल्ला गर्ने विषय संवेदनशील भएको भन्दै यसमा विशेष छलफल र ध्यान दिनुपर्ने सुझाव दिए । 

 उनले सपना पनि पूरा हुने खालका देखाउनुपर्ने सुझाए । उनले भने,‘नेपालले डेढ खर्बको धान, कोदो र मकै मुलुक बाहिरबाट किनेर ल्याएको छ । सिंचाई हुने उत्पादित जमिन पनि अहिले बाँझै छ । युवाहरु विदेश पलायन भएका छन । नेपालबाट ब्रेन र मसल दुवै ड्रेन भएको छ । अब यहाँ, नेपालमा बसेका र जो विदेश जान नसकेकाहरुलाई गाँजा सेवन गराएर डिप्रेसनको सिकार गराउन खोजेको हो ? म प्रश्न गर्न चाहन्छु ।’

कमाई त गाँजाबाटमात्रै होइन रक्तचन्दनबाट पनि हुन्छ भन्ने सुनेको भन्दै उनले गाँजा खेती खुल्ला गर्नुपर्ने विधेयकको विरोध गरे । 

 उनले भने,‘गाँजा खेती त व्यवस्थित गर्ने कुरा भयो, तर भोलिका दिनमा यसको असर के हुने हो ? हामीले आफ्नो धरातलपनि हेर्नुपर्छ । समृद्धि हाँसिल गर्नतर्फ मात्रै नहेरौं ।’ उनले सत्ता पक्षका सांसदहरुले विधेयक दर्ता गराएकोले फेल हुने सम्भावना नरहेको पनि सुनाए । उनले भने,‘सत्तापक्षका सांसदहरुले दर्ता गराएको विधेयक हो, फेल हुने त कुरै छैन । तर, हामीले यो विषयमा गम्भिर भएर सोचौं ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप