बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट फिल्म हलमा कति खतरा ?

बुधबार, २१ फागुन २०७६, १५ : २८
बुधबार, २१ फागुन २०७६

काठमाडौँ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को त्रास दिन प्रतिदिन बढ्दो छ । संसारभर महामारीको रूपमा फैलिँदै गएको यो भाइरस रोकथाम अहिले विश्वको चुनौतीको विषय हो ।

नेपालमा अहिलेसम्म यो भाइरस देखिएको त छैन । तर यो भाइरसको जोखिममा रहेका देशमध्ये नेपाल पनि पर्छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ ।

केही दिन पहिले नेपाल सरकारले समेत कोरोना भाइरसको सङ्क्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको थियो । गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरु बीच बालुवाटारमा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

सरकारले सर्वसाधारणमा कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउनसमेत सचेत गराएको छ ।

सरकाले कार्यक्रम, सभासमारोह, भोज भतेर लगायत धेरै मानिस भेला हुने कार्यक्रम नगर्न, नगराउन र त्यस्ता कार्यक्रममा सहभागी नहुन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

यति मात्र कहाँ हो र, शिक्षा मन्त्रालयले समेत कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतभित्र सक्न निर्देशन जारी गरिसकेको छ ।

यस्तो अवस्थामा दैनिक भीडभाड हुने, धेरै मानिसको जमघट हुने स्थानमध्ये चलचित्रघर पनि एक हो । यसतर्फ भने कसैको ध्यान गएको देखिन्न । बरु विद्यालयले नै विद्यार्थीलाई बेपरबाह हलसम्म लगेको पाइएको छ । केही दिन पहिले चितवनमा बन्न लागेको रंगशालाका लागि सहयोगार्थ भन्दै केही स्कुलले विद्यार्थीहरुलाई फिल्म हेर्नका लागि कुमारी हललगायत उपत्यकाबाहिरका केही हलमा बाक्लै जनघट गराएका थिए । 

फिल्म हल कोरोना भाइरसका लागि कति खतरा ? के फिल्म हल खतरा मुक्त छ ? अहिलेको अवस्थामा के गर्नुपर्छ ? यही प्रश्नको उत्तर यहाँ खोज्ने प्रयास गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९)बाट फिल्म हल पनि खतरामुक्त नरहेको राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत डा. अनुप बास्तोला बताउँछन् ।

‘अहिलेको अवस्थामा कुनै सरकारी तवरबाट फिल्म हल खतरा छ भनेर प्रमाणित त भएको छैन’ बास्तोलाले भने ‘तर धेरै मानिसको भेला,  जमघट हुने ठाउँबाट कोरोना भाइरसको सङ्क्रमण बढी हुने जोखिम भएकाले यी स्थान पनि खतारा मुक्त भने होइन ।’ ‘नेपालमा अहिलेसम्म यो भाइरस देखिएको छैन । एक जनासङ्ख्याको घरामा रहे पनि प्रमाणित भएको अहिले होइन’ डा. बस्तोलले भने ‘यसो भन्दैमा हामीले सतर्कता अपनाउनु नपर्ने होइन ।’

यो भाइरस जुनजुन देशमा देखिएका छन् । त्यो देशका पब्लिक प्लेसहरुको जमघट हुने बिजनेस महल, सभासमारोह हुने स्थान र फिल्म हल बन्द भएको उल्लेख गर्दै हाम्रो देशले पनि त्यसतर्फ ध्यान दिनुपर्ने डा. बास्तोलले भर्ना राखे ।

‘कोही कोरोना सङ्क्रमित हामीबाट लुकेर यदाकदा हिँडिरहेको पनि हुनसक्छ’, डा. बस्तोलले शङ्का गरे, ‘यो अवस्थामा अन्य स्थानमा झैं फिल्म हलमा पनि सर्वसाधरणको जमघट हुने विषयतिर विचार पुर्याउनु पर्छ ।’

बास्तोलाले आफू डाक्टर भएको हिसाबले फिल्म हल मात्र होइन कुनै पनि स्थान जहाँ धेरै मानिसका जमघट हुने गर्दछ । सो स्थानमा सर्वसाधारणले भेला नहुनसमेत अनुरोध गर्दछन् ।

फिल्म हलकोे विषयमा सरकारी तवरबाट आधिकारिक धारणा राख्ने संस्था भनेको चलचित्र विकास बोर्ड नै । यसतर्फ चलचित्र विकास बोर्डले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

अध्यक्ष नभएको हिसाबले चलचित्र विकास बोर्डबाट यस विषयमा गर्नुपर्ने पहलमा ढिलाइ भएको बोर्ड सदस्य दयाराम दाहालले बताए ।

‘कोरोना भाइसको विषयमा हामी विकास बोर्डमा रहेका जति पनि व्यक्ति छौँ ती सबै छलफलमा जुट्दैछौँ ।’ अध्यक्ष नभएकाले छलफल वा मिटिङ बस्नुपर्ने आधिकारिक कसी भने छैन’, बोर्ड सदस्य दाहाल भन्दै थिए, ‘यो अवस्थामा दबाब दिएर आधिकारिक रूपमा फिल्म हल बन्द गर्न त मिल्दैन ।’

यस विषयमा सबै सरोकार निकायसँग सल्लाह गरेर केही कदम चाल्ने तयारीमा विकास बोर्ड रहेको दाहालले जानकारी दिए ।

‘हामी निर्माताहरुले पनि केही समय चलचित्र रिलिज पर सार्ने र हलले पनि स्थगित गर्ने विषयको छलफल गरिरहेका छौँ’ दाहालले अगाडि भने ‘एक दुई दिनमा यो विषयमा केही न केही डिसिजन हुन्छ ।’

फिल्म प्रदर्शन रोक्नुपर्छ  
कोरोना भाइरसको त्रास दिन प्रतिदिन बढ्दै गर्दा यसको प्रभावबाट बच्न केही चलचित्रकर्मीले फिल्मको रिलिज केही समयका लागि स्थगित गर्नुपर्ने आवाजसमेत उठाइरहेका छन् । यो आवाज जायज भएको निर्माता सङ्घका महासचिव रोज राणा बताउँछन् । 

‘यस विषयमा छलफल गर्न निर्माता सङ्घको कार्यसमितिको बैठक भोलि बस्दैछ’, फिल्मका निर्माता निर्देशकसमेत रहेका राणाले भने, ‘निर्माता सङ्घको आधिकारिक धारणा भोलि नै आउँछ ।’

‘निर्माता सङ्घको केही दिन पछाडि महाधिवेशन छ । त्यो पनि पछाडि सार्ने कि भनेर छलफल भइरहेको छ’, राणाले भन्दै थिए, ‘निर्माता साथीहरुलाई पनि आफ्नो चलचित्रको प्रदर्शन केही समय रोक्न लगाउने विषयमा निर्माता सङ्घको छलफल भोलि रहेको छ ।’

केही समयका लागि चलचित्र प्रदर्शन र निर्माण दुवै रोक्नुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको राणाले सुनाए । ‘आफू रहे मात्र व्यवसाय लगायत अन्य कुरा रहने हो,’ राणाले थपे ।

व्यवसाय रोक्नु हुन्न
कोरोनाको त्रासको विषयमा चलचित्रकर्मी भलिभाँती जानकार छन् । तर पनि यो विषयमा उनीहरुको एक मत हुन सकिरहेको छैनन् । केही चलचित्रकर्मी केही समयका लागि फिल्मको प्रदर्शन रोक्नुपर्ने धारणा राख्छन् भने केही जारी नै राख्नुपर्ने बताउँछन् । 

फिल्म प्रदर्शन रोक्न नहुने धारणा राख्ने चलचित्रकर्मीमध्यको एक हुन् अशोक शर्मा । ‘संसारभर कोरोनाले भयाभव रूप लिइरहेको छ । ज्यानभन्दा ठूलो कसैका लागि केही हुँदैन । बिजनेस व्यापार भनेको आफ्नो ठाउँमा छ । बाँच्न सक्यो भने मात्र आवश्यक पर्ने चिज हो त्यो’, निर्माता, निर्देशक, कलाकारसमेत रहेका शर्माले भने, ‘नेपालमा यो भाइरस नदेखिएको अवस्थामा फिल्म हलले सजकता अपनाउनुपर्छ । तर प्रदर्शन रोक्नु हुँदैन ।’

फिल्म हलमा हात धुने, माक्स प्रयोग गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका शर्माले व्यवसाय सञ्चालनबाट कोही पनि पर हट्न नहुने विचार राख्छन् । 

शर्माले भने, ‘सर्वसाधारणलाई सुरक्षित बनाउँदै हामीले व्यवसाय गर्नुपर्छ ।’ आफूले फिल्म हलमा फिल्म हेर्न आउने दर्शकका लागि माक्स र अन्य सुरक्षातिर ध्यान दिन छलफलसमेत चलाएको शर्माले खुलाए ।

हलमा छैन सतर्कता


अहिले फिल्म हलमा दैनिक सर्वसाधारणको बाक्लै जमघट हुने गरेको छ । फिल्म हेर्न आउन दर्शकदेखि फिल्म हलका कर्मचारीसम्मले कोरोना भाइरसको सुरक्षाका लागि मास्क लगायतको सतर्कता अपनाएको देख्न पाइन्न । यस विषयमा  चलचित्रकर्मी मात्र होइन, सरोकारवाला संस्थासमेत फिल्म हलको यो चरम लापरबाही भनिरहेका छन् ।

यस विषयमा फिल्म हलले केही तयारी गर्न नसकेको फिल्म प्रदर्शकहरुको छाता सङ्गठन नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसुदन प्रधानले बताए ।

‘मानिस नै आएनन् भने फिल्म हल त्यतिकै बन्द हुन्छ नि हैन र ?’ प्रधानले भने ‘के गर्दा हुन्छ । के गर्न सकिन्छ भन्ने विषयमा आज सङ्घको मिटिङ छ । त्यसपछि आधिकारिक धारणा सार्वजनिक गर्छु ।’

राज्यले भिजिट नेपाल २०२० समेत रोकेको अवस्थामा फिल्म हल सञ्चालन सानो विषय भएको बताएका अध्यक्ष प्रधानले सर्वसाधारणको स्वस्थ्यसँग आफूहरु पनि सचेत रहेको बताए । भने, ‘योबाट बच्न र बचाउन व्यवसाय केही समय व्यवसाय रोक्न पनि तयार छौँ ।’

फिल्मको सुटिङ रोक्नुपर्छ 


केही चलचित्रकर्मी कोरोना भाइरसबाट जोगिन फिल्मको सुटिङलगायत विभिन्न गतिविधि केही समयका लागि स्थगित गर्नुपर्ने बताउँछन् । यस्तो समयमा स्वस्थ्यमाथि खेलबाड गर्न कसैले पनि नमिल्ने धेरैको धारणा रहेको छ । ज्यान रहे काम जहिले पनि हुने उनीहरु बताउँछन् । 

तीमध्येका एक नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा पनि हुन् । ‘कोरोना भाइरससँग कसैले पनि खेलबाड गर्नु हुँदैन,’ लामाले भने ‘यसबाट बच्न केही समयका लागि सबै फिल्मजन्य गतिविधि रोक्नुपर्छ ।’

‘कोरोना भाइरस आँखाले देखिने कुरो होइन’, लामाले सिरियस हुँदै भने ‘यसमा हामी आफै जिम्मेवार बन्न नसके ठूलो मूल्य चुकाउनुपर्छ ।’

आफू प्राविधिक सङ्घको अध्यक्ष भएको हिसाबले उनीहरुको हितका खातिर धेरै मानिसको जमघट हुने ठाउँमा नजान र त्यस्तो कार्यमा सहभागी नहुन सचेत गराउने तयारी गरेको लामाले सुनाए ।

‘प्राविधिक मात्र होइन सबैले स्वस्थ्यभन्दा ठूलो अन्य काम होइन । यो बुझ्नु जरुरी छ’, लामाले भने ।

त्यस्तै चलचित्र पत्रकार सङ्घका अध्यक्ष सन्दीप सापकोटाले पनि मानिसहरुको जमघट हुने, भीडभाड हुने वातावरण अहिलेको अवस्थामा कसैले बनाउनु नहुने बताए । उनले यस्ता कुराबाट आफ्ना सङ्घका सदस्यलाई सचेत रहन अनुरोध गरे । 

‘कामभन्दा ठूलो स्वस्थ्य हो । यो सबैले बुझेको कुरो हो’ सापकोटाले भने, ‘यसबाट सचेत रहँदा बच्न सकिन्छ ।’ सापकोटाले सङ्घको सदस्यलाई म्यासेजमार्फत सचेतको सन्देश पठाउने आफ्नो सोच रहेको समेत सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप