बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डीआईजी दरबन्दी कटौतीको तयारीले एसएसपीको बढुवा अन्यौलमा

बुधबार, २१ फागुन २०७६, ०९ : ३५
बुधबार, २१ फागुन २०७६

नेपाल प्रहरीमा २६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) दरबन्दी छ । जसमध्ये २२ डीआईजी पद रिक्त छ । डीआईजी बन्न वरियतामा रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको दौडधुप तीव्र छ ।

डीआईजी बढुवाका लागि एसएसपीहरु दौडधूप गरिरहँदा सरकारले दरबन्दी कटौती गर्ने तयारी थालेको छ । यसले गर्दा प्रहरी मुख्यालयमा यतिबेला खैलाबैला मच्चिएको छ ।

तीन डीआईजीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको एक सातासम्म पनि गृहमन्त्रालयले डीआईजीको रिक्त दरबन्दी पूर्ति गर्नको सट्टा डीआईजी दरबन्दी कटौती गर्न लागेको गृहमन्त्रालय स्रोत बताउँछ ।

प्रहरी संघीयतामा गएपछि करिब एक दर्जन डीआईजीको दरबन्दी अनावश्यक हुने भएकाले बढुवाअघि नै कटौती गर्न गृह मन्त्रालयको दावी छ । प्रहरी समायोजन अघि नै डीआईजी दरबन्दी कटौती गर्ने प्रस्ताव गृहका अधिकारीको छ ।

प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) सँग छलफल नै नगरी गृहले १० डीआइजी पद खारेज गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागेको स्रोतको भनाइ छ । दरवन्दी हटाउन लोकसेवा आयोग र मन्त्रिपरिषदको निर्णय चाहिन्छ ।


बढी संख्यामा दरबन्दी खाली भएकाले तीनवटा ब्याचका एसएसपीहरु बढुवाको प्रतिस्पर्धामा छन् । बढुवाका लागि एसएसपीहरु शक्तिकेन्द्र धाइरहेका बेला कटौतीको कुरा चलेपछि उनीहरु झनै तनावमा छन् । सिनियर ब्याचबाटै १६ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् ।


तर, यसरी एक्कासी कटौती गर्दा प्रहरी अधिकारीको करिअरमा असर पर्ने भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले भने सहमति नजाएको स्रोत बताउँछ ।

आईजीपी ज्ञवालीले डीआईजी सङ्ख्या घटाउन नहुने भन्दै आफ्नो अडान छाडेका छैनन् । डीआईजीको दरबन्दी कटौतीको निर्णयले सिङ्गो प्रहरी संगठनमा असर पर्ने ज्ञवालीको तर्क छ ।

बढी संख्यामा दरबन्दी खाली भएकाले तीनवटा ब्याचका एसएसपीहरु बढुवाको प्रतिस्पर्धामा छन् । बढुवाका लागि एसएसपीहरु शक्तिकेन्द्र धाइरहेका बेला कटौतीको कुरा चलेपछि उनीहरु झनै तनावमा छन् । सिनियर ब्याचबाटै १६ जना एसएसपीहरु प्रतिस्पर्धामा छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आफै पनि डीआईजीको दरबन्दी घटाएर मात्र बढुवा प्रकृया अगाडि बढाउनुपर्ने पक्षमा रहेको स्रोतले बतायो । डीआईजी दरबन्दी रिक्त हुँदा पाँच वटा प्रदेश प्रहरी नेतृत्वविहीन छन् । प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्छन् ।

रिक्त रहेको डीआइजीका लागि एसएसपीहरु धनश्याम अर्याल, पुरुषोत्तम कँडेल, गणेशबहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देवबहादुर बोहोरा, रामकृपाल शाह उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक दाबेदारका रुपमा देखिएका छन् ।

यस्तै सहकुल थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला पनि प्रतिस्पर्धी हुन् ।

डीआईजी बढुवाको प्रतिस्पर्धामा भएता पनि दरबन्दी कटौतीसँगै उनीहरुमध्ये केहीको बढुवा अन्यौलमा परेको छ । अचानक दरबन्दी कटौतीको विषयले उनीहरुमा निराशा छाएको छ ।

सो विषयमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी (प्रस्तावित एआईजी) शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप