बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : प्रमको मिर्गौला प्रत्यारोपण भोलि, कोरोनाको त्रासले ९ कक्षासम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन

मङ्गलबार, २० फागुन २०७६, १९ : १४
मङ्गलबार, २० फागुन २०७६

प्रधानमन्त्री ओलीको भोलि मिर्गौला प्रत्यारोपण

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि सुरु गर्ने तयारी अस्पतालले गरेको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक समेत नेपाल आएका छन् ।

 भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एक जना नेपाल आएको टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए । उनका अनुसार मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्नेछन् ।

ज्ञवाली नेतृत्वको टीमले प्रधानमन्त्री र शर्मा नेतृत्वको मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया गर्नेछ । प्राडा ज्ञवालीको ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहनेछन् । 

ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा. अनन्तकुमारले नै गरेका थिए । 

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछाडि पुनः प्रत्यारोपण गर्न लागिएको हो । सोमबार शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई अहिले अब्जरवेशनमा राखिएको छ । उनलाई मिर्गौला दिनका लागि भान्जी समीक्षा संग्रौला ज्ञवाली समेत अस्पताल भर्ना भइसकेकी छिन् ।  प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणका लागि सबै तयारी पुरा भएको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले कात्तिकदेखि डाइलाइसिस गराउँदै आएका थिए ।  आज पनि उनको डाइलाइसिस भएको छ ।

अर्थमन्त्रीको राजीनामा

सञ्चारमन्त्रीको समेत भूमिकामा रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् ।  राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये मंगलबार खतिवडाको पनि पदावधि सकिएसँगै राजीनामा दिएका हुन् । 

उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरिसकेको छ ।  तर राजीनामा पछि पनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ ।

सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । 

राष्ट्रियसभाका १९ सांसदको बिदाइ
त्यसैगरी, राष्ट्रियसभाबाट विदाइ हुदै गर्दा सांसदहरुले राष्ट्रियभालाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्न शुभकामना दिएका छन् । 

आफ्नो २ बर्षे कार्यकालको समय सकिएका सांसदहरुले आफ्ना अनुभव राख्दै सभालाई थप जिम्मेवार भएर अघि बढ्न शुभकामना दिएका हुन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्तव्य राख्दै उनीहरुले सरकारलाई थप जिम्मेवार बन्दै जनताको सवालमा खरो उत्रिन, भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न तथा समग्र रुपमा जनताको सवाललाई आत्मसाथ गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री प्रसाद पाण्डेयले प्रविधिको प्रयोग, समयमा बैठक सञ्चालन गर्ने लगायत विभिन्न पक्षमा  २ बर्षमा राष्ट्रियसभामा राम्रो अभ्यास गरिएको बताए । उनले राष्ट्रियसभा आफैमा अधिकारको दृष्टिले केही संकुचन भएपनि श्रृजनात्मक र प्रभावकारी ढंगले दलीय आग्रह पूर्वाग्रहबाट मुक्त भएर काम भएको बताए । 

नेकपाका काली बहादुर मल्लले आफूले राष्ट्रियसभा सदस्य भएर २ बर्षको कार्यकालमा धेरै कुरा सिक्ने अवसर पाएको र ‘प्रमाणपत्र सहित एउटा योग्यता प्राप्त भएको’ अनुभव गरेको बताए । 

नेपाली कांग्रेसकी राष्ट्रियसभाका लागि प्रमुख सचेतक सरिता प्रसाईले  जनताको चाहना र इच्छा अनुसार काम गर्न सरकारलाई आग्रह गरिन् ।   सिंगो शासन व्यवस्था प्रति निरासा नभइ जनतालाई आशा जगाउने गरि काम गर्न शुभकामना दिइन् । 

त्यसैगरी राष्ट्रियसभा सदस्य हरिचरण शिवाकोटीले जनता निराश नहुने गरी राम्रो संग सबै दलहरुलाई मिलेर मुलुक सञ्चालन गर्न आग्रह गरे । आज राष्ट्रियसभाबाट युवराज खतिवडासहित १९ सांसद २ वर्षे कार्यकाल पूरा गरेर बिदाइ भएका छन् । 

लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने
आजै, मन्त्रीबाट राजीनामा दिएका अर्थ एवं सञ्चारमन्त्री डा युवराज खतिवडाले दूरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् । 

नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले लाइसेन्स होल्ड गर्नेमाथि निर्मम ढंगले कानूनी अधिकार प्रयोग गरी अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए । उनले सेवा प्रदान गर्छु भनेर लाइसेन्स लिने र कारबाही गर्न खोज्दा अदालत जाने प्रवृत्ति राष्ट्रिय रोगको रुपमा देखा परेको समेत बताए । 

कोरोना भाइरस 

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाई गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसअघि चीन लगायत अन्य केही मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरिँदै आएकोमा अहिले सबै देशबाट आउने नागरिकहरुको परीक्षण थालिको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विमानस्थलको जनशक्ति समेत दोब्बर पारिएको बताए ।  एक सिफ्टमा ५ जना हुनेगरी १९ भन्दा बढी स्वास्थ्यका कर्मचारी विमानस्थलमा खटाइएको उनले बताए । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले प्रकोपग्रस्त देशबाट आउने नागरिकहरुलाई आइसोलेसनमा राख्न सुरु गरिएको बताए । 

वरिष्ठ चिकित्सक सुन्दरमणि दिक्षितले नेपालमा चीन, जापान लगायत प्रभावित क्षेत्रका नागरिकहरु अहिलेपनि निर्वाध रुपमा आवत जावत गरिरहेको भन्दै आक्रोश पोखे ।  विभिन्न देशबाट नेपालीहरु पनि फर्किरहेको अवस्थामा बढी जनघनत्व भएको उपत्यकामा यसको संक्रमण फैलिए ठूलो रुप लिने उनको भनाइ छ ।

मौसम परिवर्तन सँगै रुघाखोकीको प्रकोप पनि सँगै देखिएको भन्दै चिकित्सकहरुले साबुन पानीले नियमित रुपमा हात धुन आग्रह गरेका छन् । ५ वर्षभन्दा मूनिका बालबालिका, ६० वर्षभन्दा माथिका वृद्धवृद्धा तथा दिर्घरोगीमा रुघाखोकी ज्वरो जस्ता लक्षण देखिएमा तत्काल अस्पताल पु¥याउन पनि आग्रह गरेका छन् ।  

कोरोना त्रास विद्यालयमा
शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन पनि भनेको छ । 

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । 

आगामी चैत ६ गतेबाट १५ गतेसम्म विद्यालय शिक्षा परीक्षा (एसईई)हुने निर्धारित तालिका रहेको छ । एसईई परीक्षा केन्द्रीय सरकारमातहत सञ्चालन हुने गरेको छ ।

श्रम मन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृति बन्द गर्ने औपचारिक निर्णय भइनसकेको बताएका छन् । 

 विश्वभरी नै कोरोना भाइरस (कोभिड—१९)को संक्रमण फैलिएको सन्दर्भमा नेपाल सरकारले श्रम स्वीकृति बन्द गरेको समाचार सरकारी समाचार संस्था राससबाट सार्वजनिक भएको बेला श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय भइनसकेको बताएका हुन् । 

 ‘स्वीकृति रोकिएको छैन । अहिलेको विषम परिस्थितीमा कुनै श्रमिकले दुःख नपाउन् बाटैबाट फर्किन नपरोस्, ट्रन्जिट प्वाइन्टमा दुःख नपाउन भन्नका लागि गृह र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहको छ । चारैतिर नियमित सम्पर्क गरिरहेका छौँ । औपचारिक कुनै निर्णय भएको छैन’, उनले भने, ‘२, ३ वटा विकल्पमा यसलाई रिसेड्युल गर्ने हो की भन्ने विषयमा छलफल चलेको छ । मान्छेले दुःख नपाउने वातावरण कसरी सिर्जना गर्ने त्यसका लागि ब्यापक छलफल चलिरहेको छ ।’’ यसअघि मन्त्रीलाई नै उदृत गरेर राससले श्रम स्वीकृति हाललाई स्थगित भएको उल्लेख गरेको थियो । 

बागमती प्रदेशसभा
सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइँदै आएको पारिश्रमिक बन्द गर्न अन्तरिम आदेश दिएसँगै बागमती प्रदेशले ऐन संशोधनको तयारी थालेको छ । 

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि बाग्मती प्रदेश सरकारले प्रदेशसभामा छलफल सुरु गरेको छ ।

संशोधन ऐनमाथि धारणा राख्दै प्रदेशसभा सदस्यहरुले स्थानीय तहका जनप्रतिनिधिहरुले जीवन निर्वाह हुने सेवा सुविधा पाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सांसद राजेन्द्र प्रसाद पाण्डेले जनतासँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका प्रतिनिधिहरुलाई जीवन निर्वाह गर्न सक्ने सेवा सुविधा दिनुपर्ने बताए । 

सांसद बेलमाया घलेले आदर्शका कुराहरुले मात्रै पेट भर्न नसकिने बताइन् ।  

सांसद नरोत्तम वैद्यले जनप्रतिनिधिहरुलाई कर्मचारीहरु जस्तो गरी पारिश्रमिक, सहुलियत तथा दशैं खर्च नचाहिने उल्लेख गर्दै जीवन निर्वाह हुने सुविधा र सहुलियत हुनुपर्ने बताए । 

सांसद विराजभक्त श्रेष्ठले विधेयक ल्याउनु राम्रो कुरा भएपनि गल्तिहरु दोहो¥याउन नहुने बताए ।  सेवा सुविधा दिने कुरा राम्रो भएपनि के बाफत दिने भन्ने कुरा स्पष्ट रुपमा उल्लेख हुनुपर्ने उनले बताए । 

सांसद पुकार महर्जनले संविधानमै समानताको कुरा उल्लेख भएपनि जनप्रतिनिधिले पाउने सेवा सुविधामा विभेद गर्न नहुने बताए । 

सांसद रमेश पौडेलले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको अपब्याख्या भएको बताए । 

छलफलका क्रममा उठेका प्रश्हरुको जवाफ दिँदै मुख्यमन्त्री डोरमणि पौडेलले पहिले पाइरहेको सेवा सुविधा भन्दा नघट्ने मिलाउने प्रयास भएको बताए । 

होली सुरु
रंगहरुको पर्व फागूपूर्णिमा (होली) सुरु भएको संकेत दिन काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याइएको छ । 

नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार मंगलबार बिहान ७ बजेर ५७ मिनेटमा चीर ठड्याइएको हो । हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । 

वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो पर्व यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराइका जिल्लाहरुमा फागुन २७ गते मनाइदै छ । 

सुनसहित पक्राउ
मकवानपुर प्रहरीले ६ किलो २ सय ८९ ग्राम ३ सय ५० मिनीग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

 हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बाट भारत कर्नाटक बस्ने ४२ बर्षीय अब्दुल मजिद अनेकललाई प्रहरीले पक्राउ गरेको हो । 

वडा नम्बर १५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेकोे यात्रुबाहक बसमा चेकजाँच गर्दा अब्दुलको साथबाट उक्त परिणामको सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक सुशीलसिंह राठौरले बताए । 

उनका अनुसार बरामद सुनको बजार मुल्य ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ रहेको रहेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप