शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व श्रवण दिवसको अवसरमा पाटनमा शरद श्रेष्ठलगायत चार संगीतकर्मीले प्रस्तुती दिँदै

मङ्गलबार, २० फागुन २०७६, १० : ३१
मङ्गलबार, २० फागुन २०७६

विश्व श्रवण दिवसको अवसरमा पाटनमा चारजना संगीतकर्मीले आफ्नो प्रस्तुतीमार्फत् बहिरोपन र सुस्त श्रवणबारे जागरुकता फैलाउनेछन् ।

सारङ्गीवादक बर्ता गन्धर्व, टम्बलविड इङ्कका गितारिस्त तथा श्री ३ ब्यान्डका गायक–गितारिस्ट शरद श्रेष्ठ, एएसएम ब्यान्डका गायक अभषेक शंकर मिश्रा र गायिका लज्जु श्रेष्ठले सांगीतिक प्रस्तुती दिन लागेका हुन् ।

नाक, कान घाँटीका १० जना महिला डाक्टर आबद्ध गैर नाफामुलक संस्था एयर केयर नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

एयर केयर नेपालकी संस्थापक डा. मिलन महर्जनले यस्ता कार्यक्रमले युवापुस्तालाई सुस्त श्रवण र बहिरोपनबारे जागरुक गराउने आशा राखेकी छिन् ।

उनी भन्छिन्, ‘ अहिलेको युवापुस्ताका लागि यो नयाँ विषय हो । युवापुस्तामा ठूलो आवाजका कारण बहिरोपना भएका उदाहरण धेरै छन् । यसले न्यूरल डेफनेस निम्त्याउँछ । नसाकै कारणले गर्दा हुने बहिरोपना स्थायी हुन्छ । त्यसैले युवापुस्ताले ठूल्ठूलो आवाजमा गीत संगीत सुन्नु हुँदैन भनेर जागरुक गराउनका लागि पनि हो । ’

यस दिन बर्ता गन्धर्वको स्वरमा बहिरोपनसम्बन्धि ‘थीम सङ्ग’ पनि सार्वजनिक हुने जसलाई प्रत्येक एफएम रेडियोमा प्रशारण गरिने पनि डा. मिलनले जानकारी दिइन् ।

अब यस्ता विषयमा कुरा गर्ने समय आइसकेको शरद श्रेष्ठ बताउँछन् । उनले भने, ‘हामी त संगीतकर्मी, हामी ‘लाउड म्युजिक’ बजाउँछौं, हामीलाई पनि कानको समस्या त आइराख्छ नि । कति साधारण कुरा पनि हामीले बेवास्ता गरिरहेका हुन्छौँ, थाहै नभएर । त्यसैले यस्ता कार्यक्रमहरु गर्दा संगीतकर्मीका साथै दर्शकलाई पनि जागरुक बनाउने उद्देश्य लिएका छौं । यस्तो कुराहरु चाहिँ निकै आवश्यक भइसक्यो जस्तो लाग्छ ।’

कार्यक्रम पाटन दरबार स्क्वायरको कार्तिक डबलीमा दिउँसो चार बजेदेखि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप