केन्द्रीय संस्करण
विश्व श्रवण दिवस

‘कानको समस्यालाई सामान्यरुपमा नलिऔँ, ठूलै समस्या निम्तिन सक्छ’

१६.६ प्रतिशत जनसङ्ख्या सुस्त श्रवण र बहिरोपनको शिकार : डा. मिलन महर्जन

person explore access_timeफागुन २०, २०७६ chat_bubble_outline0

आज मार्च ३ तारिख अर्थात् ‘विश्व श्रवण दिवस’ । यस दिन विश्वभरी सुस्त श्रवण अर्थात् बहिरोपनसम्बन्धि जागरुकता फैलाउन विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यसपटक नेपाली जनतामाझ बहिरोपनसम्बन्धी जागरुकता फैलाउन नाक कान घाँटी (इएनटी) का १० महिला डाक्टरले सञ्चालन गर्दै आएको संस्था एयर केयर नेपालले पाटनको कार्तिक डबलीमा बेलुका चार बजेदेखि एक सांगीतिक कार्यक्रमको आयोजना गर्दै छ । उक्त कार्यक्रममा सारङ्गीवादक बर्ता गन्धर्व, गायिका लज्जु श्रेष्ठ, गायक तथा गितारवादक शरद श्रेष्ठ र गायक अभिषेक शंकर मिश्राले आफ्नो प्रस्तुतीमार्फत् जागरुकता फैलाउने छन् । यही मौकामा रातोपाटीले संस्थाकी संस्थापक डा. मिलन महर्जनसँग नेपालमा बहिरोपन र सुस्त श्रवण भएकाहरुको स्थिती र जागरुकताका लागि संगीतलाई नै रोज्नुको कारणलगायत उनको संस्थाबारे पनि जान्ने कोसिस गरेका छौं ।

एयर केयर नेपाल कस्तो संस्था हो ?

एयर केयर नेपाल नामको हाम्रो संस्थाले नेपालभरीका विद्यालय विशेषगरी सरकारी विद्यालयमा बहिरोपन सम्बन्धि कार्यक्रमहरु चलाउँदै आएको छ । यो सन् २०१३ मा स्थापना भएको यो समूह इएनटी डाक्टर र केही समाजसेवीहरुको एउटा समूहले खोलेको हो । पहिला म केएमसीमा सह–प्राध्यापकको रुपमा कार्यरत थिएँ र अहिले यो संस्थाको पूर्ण कालिन स्वयंसेवक हुँ । संस्थाले हुम्ला, जुम्ला, डोल्पा, मुस्ताङलगायत दक्षिण ललितपुर भेग गरी १७ वटा जिल्लामा आफ्नो कार्यक्रम सञ्चालन गरिसकेको छ ।

कुन उद्देश्यसहित स्थापना गर्नुभयो ?

हाम्रो मुख्य उद्देश्य भनेको बहिरोपनको रोकथाम नै हो, विशेषगरी नेपालका ५ देखि १५ वर्षसम्मका बालबालिकामा देखिने सुस्त श्रवण र बहिरोपनको । ५ देखि १५ वर्ष उमेर समूहको बच्चाहरुमा थोरै मात्रामा सुस्त श्रवण छ भने पनि यसले उनीहरुको पढाईमा धेरै असर गर्छ । कति कुरा उनीहरुले सुन्छन् तर बुझ्दैनन् । हामी १० जना महिला छौँ । हामीले यो ६ वर्षको अवधिमा अहिलेसम्म ७८ हजार बालबालिकाको स्क्रिनिङ गरिसकेका छौँ । ७ हजार २७ जनाको शल्यक्रिया गरिसकेका छौँ । यो हामीजस्तो सानो संस्थाका लागि निकै ठूलो उपलब्धि हो ।


५ देखि १५ वर्षका स्कूले नानीहरुमा ६५–७० प्रतिशतसम्मको बहिरोपन कानको संक्रमणका कारण हुने गर्छ । जुन हामी सजिलैसँग रोकथाम गर्न सक्छौं । निम्न आय वर्गका बालबालिकामा यो समस्या धेरै देखिन्छ । डब्ल्यूएचओको रेकर्ड अनुसार अधिकतम ८० प्रतिशतसम्मको बहिरोपन सजिलै रोकथाम गर्न सकिने कानको संक्रमण अथवा साधारण समस्याका कारण हुने गर्छ ।


नेपालमा सुस्त श्रवण र बहिरोपनको स्थिती कस्तो छ ?

यो मामिलामा नेपाल एसियाकै शीर्ष स्थानमा पर्छ । यहाँका १६.६ प्रतिशत जनसंख्या सुस्त श्रवण र बहिरोपनको शिकार छन् । जबकी भारतमा ९ प्रतिशत छ । यस्तो स्थितीमा पनि नेपालमा दृष्टिविहीनहरुका लागि देशव्यापी रुपमा कस्ता राम्रा कार्यक्रम चलाइन्छन्, त्यसको तुलनामा त बहिरोपनका लागि त जिरो नै छ ।

यसका मुख्य चुनौती के हुन् ?

५ देखि १५ वर्षका स्कूले नानीहरुमा ६५–७० प्रतिशतसम्मको बहिरोपन कानको संक्रमणका कारण हुने गर्छ । जुन हामी सजिलैसँग रोकथाम गर्न सक्छौं । निम्न आय वर्गका बालबालिकामा यो समस्या धेरै देखिन्छ । डब्ल्यूएचओको रेकर्ड अनुसार अधिकतम ८० प्रतिशतसम्मको बहिरोपन सजिलै रोकथाम गर्न सकिने कानको संक्रमण अथवा साधारण समस्याका कारण हुने गर्छ ।

खासमा यो क्षेत्रमा काम गर्ने संस्था नै निकै कम छन् । राष्ट्रिय स्तरमा पनि यो क्षेत्रमा केही नहुँदा सामान्य स्थिति पनि विकराल बन्दैछ । केही नीजि तथा ठूला अस्पतालहरुमा कानको उपचारको सुविधा भएपनि निम्न आय वर्गकाहरुले त यसबारे सोच्नै सक्दैनन् । टिचिङ अस्पताल, पाटन अस्पताल र केही साधारण अस्पतालमै पनि कानसम्बन्धि उपचार अरुभन्दा महँगो नै छ । आँखाको तुलनामा कानको शल्यक्रिया निकै महँगो छ । चस्माको तुलनामा ‘हेयरिङ एड’ (सुन्न मद्दत गर्ने यन्त्र) नै महँगो छ ।

मानिसहरुले चस्मा लगाउन मान्छन् तर हेयरिङ एड लगाउन मान्दैनन् । दृष्टिविहीनलाई हामी देख्ने बित्तिकै चिन्छौँ, बहिरोपन त अदृश्य अशक्तता हो नि । तपाईंले आफै गएर मान्छेसँग कुरा नगरेसम्म ती व्यक्ति बहिरो छ कि छैन भनेर थाहा हुँदैन । दृष्टिविहीनलाई देख्ने बित्तिकै माया गर्ने मान्छे धेरै छन् । तर श्रवण शक्ति गुमेकालाई भनिन्छ, ‘ह्याँ तँ लाटो, कति कराइराख्नु, भयो’  । बुढ्यौलीका कारण बहिरोपनको शिकार भएकाहरु त्यसकारण पनि डिप्रेशनमा छन् । एक त उमेर भइसकेपछि हामीलाई हेप्छ भन्ने लाग्छ, अनि कसैले केही भनेको छ, तर कान नसुनेर ‘हँ हँ’ भन्यो भने बोल्ने व्यक्तिले ‘केही पनि होइन’ भनेर टार्छन्, त्यसपछि त झन् पाका व्यक्तिहरु आफूलाई अरुभन्दा टाढा राख्छन् । दष्टिविहीनहरुलाई दयाको भावले हेरेजसरी बहिरोलाई हेरिँदैन, किनभने समाजले नै स्वीकारेको हुँदैन ।

सुस्त श्रवणका के–के कारण छन् ?

कतिमा जन्म अगावै वा कसैको जन्म लगत्तै यस्तो समस्या हुन्छ । गर्भावस्थामा आमाले सेवन गरेको केही औषधीका कारण बच्चामा यस्तो समस्या देखिएको हुन्छ । जन्म अगावै श्रवण शक्ति गुम्ने सम्भावना १ प्रतिशतभन्दा कम हुन्छ ।

कति बालबालिकाको दादुरा, रुबेलाजस्ता रोगका कारण पनि श्रवण शक्ति गुमेको हुन्छ । जन्मलगत्तै बच्चालाई अक्सिजन कम भयो भने, लामो प्रसव पीडा हुँदा, जन्मने बित्तिकै बच्चालाई जन्डिस हुँदा पनि श्रवण शक्ति गुम्ने खतरा हुन्छ । तर यस्तो सम्भावना निकै कम छ ।


हामी डाक्टरहरुले यसो भन्दा संगीतप्रेमीहरुले नमान्नुहोला तर ‘फ्रम द हर्सेस माउथ’ भनिन्छ नि, संगीतकर्मीले नै ‘हाम्रो संगीत सुन्नुहोस् तर सावधानीपूर्वक है’ भन्ने सन्देश दिँदा प्रभावकारी हुने सोच छ । उच्च ध्वनीका कारण सुरुमा कान कराउनेलगायतका समस्या देखिन्छन् जसले ठूलो समस्या निम्तिन सक्छ ।


मानिसहरुले कान पाक्नुलाई साधारण रुपमा हेर्ने गर्छन् । कानको संक्रमण निकै साधारण हो तर यसलाई साधारण मानेर बेवास्ता गरिए यसले ठूलै समस्या निम्तिने गर्छ । कानको संक्रमणले गर्दा कसैको मृत्युसमेत हुन्छ । कान र दिमाग निकै नजिकै हुने भएकोले कानको संक्रमण दिमागसम्म पुग्न बेरै लाग्दैन । यस्तै कानको संक्रमणले अनुहारको प्यारालाइसीस पनि हुने गर्छ । हाँडे आउँदा, टाइफाइड हुँदा, मेनेन्जाइटिसले गर्दा पनि बहिरोपन हुनसक्छ तर यो निकै कम मात्रामा हुन्छ ।

मुख्य कारण भनेको त कानको संक्रमण नै हो ।  पछि त उमेरका कारण पनि कम सुन्न थाल्छ । अन्य कारणमा उच्च ध्वनी पनि पर्छ, विशेषगरी युवा जमातमा । लामो समयसम्म ठूलो आवाजमा बसिराख्दा पनि बहिरोपन निम्तिन्छ ।

सुस्त श्रवण र बहिरोपनबारे जागरुकता फैलाउन संगीतलाई नै किन रोज्नुभयो ?

यसका तीनवटा कारण छन् । पहिलो कारण भनेको, अहिलेको युवापुस्ताका लागि यो नयाँ विषय हो । युवापुस्तामा ठूलो आवाजका कारण बहिरोपना भएका उदाहरण धेरै छन् । यसले न्यूरल डेफनेस निम्त्याउँछ । नसाकै कारणले गर्दा हुने बहिरोपना स्थायी हुन्छ । त्यसैले युवापुस्ताले ठूल्ठूलो आवाजमा गीत संगीत सुन्नु हुँदैन भनेर जागरुक गराउनका लागि पनि हो । 

अर्को कारण, बर्ता जी (बर्ता गन्धर्व) को स्वरमा एउटा ‘थीम सङ्ग’ बनाएका छौँ । यसमा कान के कारणले बहिरो हुने रहेछ, के गर्दा बच्न सकिन्छ, के गर्नु हुँदैन भनेर बताइएको छ । हामीले बच्चाहरुलाई कक्षामा जे पढाउँछौं, त्यही शैक्षिक सामग्रीलाई यो गीतमार्फत् प्रदान गर्दैछौँ । कुनै सन्देशलाई गीतमा ढाल्दा त्यो प्रभावकारी हुने हामीले सोचेका छौँ ।

युवापुस्तालाई संगीतमार्फत् यसबारे जागरुग ग‍र्‍यौं भने हामी देशव्यापी रुपमा अघि बढ्न सक्छौं कि भन्ने आशाले पनि यो कार्यक्रमको आयोजना गरेका हौं ।

हामी डाक्टरहरुले यसो भन्दा संगीतप्रेमीहरुले नमान्नुहोला तर ‘फ्रम द हर्सेस माउथ’ भनिन्छ नि, संगीतकर्मीले नै ‘हाम्रो संगीत सुन्नुहोस् तर सावधानीपूर्वक है’ भन्ने सन्देश दिँदा प्रभावकारी हुने सोच छ । उच्च ध्वनीका कारण सुरुमा कान कराउनेलगायतका समस्या देखिन्छन् जसले ठूलो समस्या निम्तिन सक्छ ।

यो कार्यक्रममा हामीले विशेषगरी विद्यार्थीलाई लक्षित गरेका छौँ । किनभने यसबारे उनीहरुले जान्न अत्यावश्यक छ, उनीहरु हाम्रो देशका भविष्य हुन् नि । यस्ता कार्यक्रमहरु गरेर हामीले सरकारलाई ‘यस्तो पनि छ है’ भनेर घच्घचाउने चेष्टा पनि गरेका छौं ।

शरद श्रेष्ठ, गायक तथा संगीतकार

हामी त संगीतकर्मी, हामी ‘लाउड म्युजिक’ बजाउँछौं, हामीलाई पनि कानको समस्या त आइराख्छ नि । कति साधारण कुरा पनि हामीले बेवास्ता गरिरहेका हुन्छौँ, थाहै नभएर । त्यसैले यस्ता कार्यक्रमहरु गर्दा संगीतकर्मीका साथै दर्शकलाई पनि जागरुक बनाउने उद्देश्य लिएका छौं । यस्तो कुराहरु चाहिँ निकै आवश्यक भइसक्यो जस्तो लाग्छ । हेभी मेटल संगीतकर्मीहरु, साउन्ड इन्जिनियरहरु यसबाट बढी प्रभावित भइरहेका छन् । अब हामीले जागरुक हुने बेला आइसक्यो । मेरै एकजना संगीतकर्मी ड्रमर साथीको श्रवण शक्ति गुम्यो । हामी यस्ता कुराहरु देख्दा पनि बेवास्ता गरिरहेका हुन्छौँ के त्यसकारण अब हामीले पनि ढिला हुनु अगाडि नै विचार गर्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.