शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सूचना ‘लिक’ गर्न किन आतुर हुन्छ प्रहरी ?

सोमबार, १९ फागुन २०७६, १७ : ५४
सोमबार, १९ फागुन २०७६

आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने राज्यको अङ्ग नेपाल प्रहरी बेला–बेला आफै विवादमा तानिन्छ । कहिले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेर, कहिले राम्रोसँग अनुसन्धान नगर्दा त कहिले हतारमा काम गर्दा ।

हुनतः विगतमा पनि प्रहरीको कार्यशैलीलाई लिएर प्रश्न नउठेको होइनन् । विगतका कमजोरीलाई सच्चयाउँदै अघि बढ्नुपर्नेमा फेरि उस्तै प्रकृतिका कमजोरीहरु दोहोरिनुलाई सामान्य रुपमा लिन नसकिने कतिपय सुरक्षा मामिलाका जानकारहरु बताउँछन् ।

पछिल्लो समय काठमाडौँमा भएका दुई घटनाक्रमले यसको पटाक्षेप गर्छ ।

फागुन १४ गते शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा पक्राउ परेको खबर एकाएक भाइरल भयो । तर, ५२ वर्षीय घले फागुन १ गते नै पक्राउ परेका थिए ।

तर, समाचार भाइरल भएको दुई दिनपछि काठमाडौँ प्रहरीले अमृत कुमार घले शहरी विकास राज्यमन्त्रीको आर्थिक सल्लाहकार नभएको दावी गर्यो । फागुन १५ गते एक विज्ञप्ति जारी गर्दै परिसरले, ‘घले मन्त्रीको सल्लाहकार भनी प्रकाशित समाचार यस कार्यालयबाट सम्प्रेषण नभएको जानकारी गराउँदछौं ।’

परिसरले जारी गरेको विज्ञप्तिमा अमृत कुमार घलेको ठेगाना, कुन केसमा समातिएका जस्ता केही तथ्यहरु पनि खुलाइएको छैन । सुरुमा मन्त्रीको सल्लाहकार घले बलात्कार अभियोगमा पक्राउ परेको भनेपनि पछि विज्ञप्तिमा केही खुलाइएको छैन ।

१४ दिनअघि पक्राउ परेका घलेमाथि राम्रोसँग अनुसन्धान नगरी प्रहरीले घटना किन बाहिर ल्यायो ? त्यतिमात्र नभई प्रहरीले मन्त्रीका सल्लाहकार घलेले किशोरीलाई पटक–पटक बलात्कार गर्दै आएको खुल्न आएको बताएको थियो ।

त्यतिबेला महानगरीय प्रहरी परिसर काठमाडौँले पनि घटनाको पुष्टि गर्दै राज्यमन्त्रीका आर्थिक सल्लाहकार घले किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेको खबर सञ्चार माध्यममा सम्प्रेषण भयो ।

घलेले १७ वर्षीया किशोरीलाई लिफ्ट दिने नाममा माघ २७ देखि फागुन १ गतेसम्म टोखास्थित एक घरको फ्ल्याटमा बन्धक बनाएर बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ थियो ।

समाचारमा किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा घले १४ दिनअघि पक्राउ परेको पुष्टि भएपछि काठमाडौँ परिसरमा कार्यरत अधिकृतको नाम ‘कोड’ गरेर सम्प्रेषण भयो ।

घलेमाथि राम्रोसँग सोधपुछ गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको चर्को आलोचना भएको छ । १४,१४ दिनसम्म हिरासतमा लिएर पनि मन्त्रीको सल्लाहकार हो,होइन पत्ता लगाउन नसक्नु नेपाल प्रहरीलाई अनुसन्धानमा अब्बल छ भनेर विश्वास गर्ने आधार के ?

यता, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले घटनाबारे स्पष्ट जवाफ दिएनन । उनले भने, ‘पक्राउ परेको घटनामात्र थाहा भएको र प्रहरीले खण्डन गरेको थाहा छैन् ।’

यस्तै आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको घटनामा पनि पनि काठमाडौँ प्रहरी चुकेको छ । प्रचण्डलाई ताकेर जुत्ता प्रहार गर्न खोजेका रतन तिरुवालाई राम्रोसँग सोधपुछ नै नगरी समाचार बाहिर ल्याउन प्रहरी आतुर भयो ।

घटनालगत्तै प्रहरीले जुम्लाका २१ वर्षीय तिरुवा सहिद परिवारको र माओवादी संघर्षको क्रममा बुबा गुमाएको भन्दै प्रचार गर्यो । मिडियाले पनि प्राथमिकताका साथ समाचार सम्प्रेषण गरे ।

जब साँझ सत्तारुढ दल नेकपा जुम्लाले एउटा विज्ञप्ति निकाल्यो, तब थाहा भयो रतन तिरुवा सहिद परिवारको सदस्य नभएको र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ता रहेको खुल्यो ।

तिरुवालाई राम्रोसँग सोधपुछ नगरेर हतारमा सूचना ‘लिक’ गर्दा काठमाडौँ प्रहरी विवादमा तानिएको हो । घटना भएको २० मिनेटमै प्रहरीले तिरुवा सहिद परिवारको सदस्य रहेको दावी गरेको थियो ।

झन्डै डेढ वर्षअघि कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार–हत्या प्रकरणमा गतिलो अनुसन्धान नभएको भनेर प्रहरीको क्षमतामाथि प्रश्न उठ्यो । निर्मलाकी आमा दुर्गादेवी पन्तले किटानी जाहेरी दिएका आधारमा स्थानीय दिलिप सिंह बिष्ट समातिए । तर उनीविरुद्ध प्र्रहरीले ठोस प्रमाण फेला पार्न सकेन । अन्ततः बिष्ट छुटे । हालसम्म पनि निर्मलाको हत्यारा पत्ता लागेको छैन ।

त्यतिबेला निर्दोष व्यक्तिलाई प्रहरी समातेर फसाउन खोजेको भन्दै निर्मलाकी आमादेखि बुबा सबै आन्दोलनमा उत्रिए । प्रहरी र स्थानीयबीच झडप हुँदा दर्जनौं घाइते समेत भए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप