शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्धको सुरुवात मधेसबाटै भएको हो ?

सोमबार, १९ फागुन २०७६, १५ : ४७
सोमबार, १९ फागुन २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ २३ गते सिरहाको सखुवा नन्कारकट्टी पुगेर सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई–मधेसबाटै गरेको बताएका थिए । तराई–मधेसको राजनीतिक महत्व दर्शाउँदै उनले पटक पटक अभिव्यक्ति दिने गरेका छन् ।

उनी जति पटक मधेस झर्छन्, त्यति पटक नै आफ्नो राजनीतिक जीवनमा मधेसबाहेक अरू केही छैन जस्तो गरी भावनात्मक अभिव्यक्ति दिने गर्छन् । मधेसलाई कहिले ‘माइती’ भन्ने, कहिले ‘मधेससँग लभ परेको’ भन्ने त कहिले मधेसबाटै गोली हान्न सिकेको बताएर उनले आफ्नो राजनीतिक जीवनमा तराई–मधेसको भूमिका महत्वपूर्ण रहेको सन्देश दिने गरेका छन् ।

उनले ‘मधेस मेरो लभर हो, लभरलाई दुःख दिनेविरुद्ध अनसन बस्छु’ समेत भनेका छन् । प्रचण्डले मधेसप्रति देखाएको यो भावना कतै न कतै तत्कालीन जनयुद्धसँग जोडिएर आएको देखिन्छ ।

प्रचण्डले माओवादी जनयुद्धमा स्व. रामराजाप्रसाद सिंहले पनि सघाएको कुरा बेलाबेला स्मरण गर्ने गरेका छन् । रामराजाप्रसाद सिंहले जनयुद्धका लागि हतियारको व्यवस्था मिलाइदिएको प्रचण्डले स्वीकार्दै आएका छन् । यही योगदानका कारण प्रचण्डले उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन चाहेका थिए । तर तत्कालीन मधेसी जनअधिकार फोरमले साथ नदिएका कारण त्यो सम्भव भएन ।

हालै रौतहटमा उपराष्ट्रपति नन्दबहादुर पुनले तराई मधेस जनयुद्ध स्मृति प्रतिष्ठानको उद्घाटन गरेका छन् । यसले पनि मधेस र जनयुद्ध बीचको सम्बन्धलाई पुष्टि गर्छ । त्यतिमात्र होइन, जनयुद्धका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो संविधान सभाको निर्वाचनमा सिरहाबाट विजयी भएका थिए । त्यसले पनि मधेस र जनयुद्ध बीचको सम्बन्ध गहिरो छ भन्ने पुष्टि भएको जनकपुरका रोशन जनकपुरी बताउँछन् । जनयुद्ध र मधेसको सम्बन्ध घनिष्ट भएकै कारण माओवादीले मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको थियो । तत्कालीन समयमा उक्त मोर्चा निकै शक्तिशाली मानिन्थ्यो ।

जनयुद्ध २०५२ सालदेखि सुरु भए पनि त्यसको तयारी २०४२ सालदेखि नै भएको जनयुद्धमा संलग्न एवं वाम बुद्धिजीवी रोशन जनकपुरीले बताए । जनयुद्धको तयारीका लागि २०४५ सालमा लडाकु तालिम लिएको महेन्द्र पासवान बताउँछन् । उनले भने– म विद्यार्थी थिएँ, जनयुद्धको तयारी भइरहेको सूचना पाएपछि धनुषाको बरमझिया गएर तालिम लिएको थिएँ । मजस्ता थुप्रै युवा त्यसको तयारीका लागि तालिममा लागेका थिए ।’

वर्ग सङ्घर्षको सुरुवात मधेसबाट र त्यसको पहिलो आन्दोलन धनुषाको बरमझियाबाट भएको पासवान बताउँछन् ।

रोशन जनकपुरी भन्छन्, ‘मधेसप्रति प्रचण्डको प्रेम र भावना जायज हो, जनयुद्धको जरा खोज्दै जाने हो भने त्यसको सुरुवात मधेसबाटै भएको भेटिन्छ । केही समयपछि सुरक्षाको दृष्टिकोणले यो आन्दोलन हिमाल र पहाडतिर केन्द्रित भयो ।’ जयगोविन्द साह, निर्मल लामा, सूर्यनाथ रान लगायतका नेता २०४२ सालदेखि नै जनयुद्धको तयारीमा लागेका थिए । उनीहरुले जनयुद्ध आवश्यक छ तर तत्कालै जनयुद्ध गरिहाल्नुपर्ने अवस्था नरहेको भनेर प्रचण्डसँग फरकमत राख्ने गर्थे । त्यतिबेला मधेसबाट जनयुद्धमा थोरै मान्छे लागेका थिए तर जति लागेका थिए सबै जुझारु थिए ।’

२०४६ सालमा एकता केन्द्र बन्यो । पछि फुटेर प्रचण्ड नेतृत्वमा ‘मशाल’ बनेको थियो । टुट्ने, फुट्ने र जुट्ने कामसँगै जनयुद्धको तयारी पनि चलिरहेको थियो । त्यतिबेला नेकपा एकता केन्द्रसँग वैचारिक द्वन्द्व चलिरहेको थियो ।

जनयुद्धको तयारी चलिरहँदा नेताहरुले सिरहा र धनुषाको बीचमा रहेको कमला नदीको किनारलाई लडाकु प्रशिक्षण स्थलको रूपमा प्रयोग भएको थियो । त्यतिबेला प्रचण्ड, मोहन वैद्य ‘किरण’, बाबुराम भट्टराई, दिवाकर, सीपी गजुरेल लगायतका नेताहरु पटक पटक मधेस आउँथे । भेष बदलेर विभिन्न ठाउँमा आएर सेल्टर लिएर बस्थे । लडाकु प्रशिक्षण गर्नेदेखि विभिन्न राजनीतिक दस्तावेज मधेसमै बसेर तयार गर्ने गर्दथे ।

रामरिझन यादव भन्छन्, ‘माओवादी जनयुद्धको आधार इलाका रुकुम, रोल्पा, जाजरकोट र सल्यान थिए । मधेसमा पछि स्थापना भएको हो तर मधेस जनयुद्धको महत्त्वपूर्ण क्षेत्र हो भन्ने कुरा अस्वीकार गर्न सकिँदैन । किनकि मधेस जनयुद्धको मेरुदण्ड नै थियो । 

तत्कालीन माओवादीका सबैभन्दा पकड भएका जिल्ला सिरहा र धनुषा थिए । रौतहटमा पनि गतिविधि हुन्थे । तिनै जिल्लाका दुर्गम क्षेत्रमा सेल्टर लिई जनयुद्धको तयारी हुने गरेको रोशन जनकपुरी बताउँछन् ।

ऋषि देवकोटाले आजाद तराई मधेस सङ्गठन निर्माण गर्न मुख्य भूमिका खेलेका थिए । त्यतिबेला मधेसमा रामवृक्ष यादव, मातृका यादव, सूर्यनाथ रान, किसुन मण्डल, हरि लामा लगायत नेता सक्रिय थिए ।

पछिल्लो समय उपेन्द्र यादव (अहिले समाजवादी पार्टीका अध्यक्ष), महेन्द्र पासवान, प्रभु साह, श्रवण यादव, देवनारायण यादव, अजवलाल यादव, भरत साह, रामकुमारी यादव, महादेव यादव जस्ता थुप्रै नेता मधेसबाट जनयुद्धमा होमिएका थिए । रामवृक्ष यादवपछि मधेसका सबभन्दा ठूला नेता मातृका यादव नै हुन् । रामवृक्ष यादवको निधनपछि मातृका यादवको ठाउँ अहिलेसम्म कसैले लिन सकेको छैन ।

जयकृष्ण गोइत पछि जोडिएका थिए तर असन्तुष्टि जनाउँदै उनी बाहिरिएका थिए । हाल उनी सशस्त्र आन्दोलनका लागि भूमिगत छन् । रोशन जनकपुरी भन्छन्, ‘मधेसबाट जनयुद्धको तयारी भएको कुरा सहिदको सङ्ख्याले पनि पुष्टि गर्छ । जनयुद्धका सहिदमध्ये २० प्रतिशत सहिद धनुषाका नै हुन् ।’ जनयुद्धका समयमा मधेसबाट ३ हजार सहिद भए । धनुषाको कटरैत र बरमझिया तत्कालीन माओवादीको आधार इलाका थियो । त्यसका साथै चुरे नजिकका केही गाउँहरु पनि तत्कालीन माओवादीको सेल्टर हुन्थ्यो ।

जनयुद्धमा माओवादीले प्रयोग गरेका सबै हतियार मधेसको बाटो भएर नै हिमालसम्म पुगेको मधेसका नेताहरु बताउँछन् । नेता पासवान भन्छन्, ‘युद्ध सामग्री वितरण गर्ने स्थलका रूपमा मधेसलाई प्रयोग गरिन्थ्यो । बाहिरबाट हातहतियार ल्याएर त्यहीँबाट सबैतिर वितरण हुन्थ्यो ।’ धेरैजसो बम, बारुद मधेसमै तयार हुन्थ्यो । हतियार चलाउने तालिम पनि मधेसमै दिइन्थ्यो । हतियार प्रायः भारतबाट ल्याइन्थ्यो । भारतबाट आउने हतियार लुकाई छिपाई पहिले मधेस भित्र्याइन्थ्यो ।

जनयुद्ध घोषणा हुनुभन्दा पहिले मधेसमा किसान आन्दोलन चलेको थियो । त्यसले पनि जनयुद्ध तयारीलार्ई निकै सहयोग पुर्याएको थियो । किसान, मध्यम तथा निम्न वर्ग, श्रमजीवीहरुले जनयुद्धलाई साथ दिए पनि जमिनदारहरुले साथ दिएका थिएनन् ।

उच्च वर्गले पनि सहयोग गथ्र्र्यो तर डर र त्रासका कारण सहयोग गर्थे । जनयुद्धकै तयारीका क्रममा रामवृक्ष यादव (मास्टर साहब) को हत्या भयो । हाल नेकपाका केन्द्रीय सदस्य रामकुमार शर्मा भन्छन्, ‘रामवृक्ष यादव जनयुद्धको तयारीमा लाग्नुभएको थियो तर त्यहाँका जमिनदार र राज्य मिलेर उहाँको हत्या भएको थियो ।’

माओवादीले जनयुद्ध सुरु गर्नुभन्दा पहिले पनि मधेसमा राज्यको षड्यन्त्रमा केही व्यक्तिको हत्या हुनेगरेको तत्कालीन माओवादी मधेसी नेताहरु बताउँछन् ।

माओवादी जनयुद्धबाट सबभन्दा बढी तराई मधेसका जमिनदार त्रसित थिए । माओवादी नेता कार्यकर्ताको पक्राउ र हत्या गर्न प्रहरी, सेनालाई रकम दिने गर्थे ।

जमिनदारहरुका कारण मधेसका युवा माओवादीमा संलग्न हुन सकिरहेका थिएनन् । उनीहरुलाई भड्काउने काम जमिनदारहरुबाट हुन्थ्यो । कतिपय जमिनदारले सुराकीको काम गरेर माओवादीका शुभचिन्तकहरुलाई दुःख दिने कामसमेत गर्थे ।

जब २०५८ सालमा माओवादी र सरकारबीच पहिलो पटक वार्ता भयो । यो वार्तापछि मधेसमा माओवादीमा जनलहर आयो । यसपछि तत्कालीन माओवादी शाक्तिशाली रहेको र यसले विभेदमा परेका जनताको पक्षमा बोल्न सक्छ बुझेर मधेसको मधेसका युवाको आकर्षण माओवादीतिर गएको नेता शर्माको बुझाइ छ ।

जनयुद्धका कारण नै मधेस आन्दोलन सफल पनि भयो, मधेसमा राजनीतिक चेतनाको विकास भयो । जनयुद्ध नभएको भए मधेस जागरुक हुने थिएन, नेता शर्मा भन्छन्, ‘मधेसमा जेजति राजनीतिक विकास भएका छन्, ती सबै जनयुद्धकै कारण सम्भव भएको हो ।’

तर मधेसमा राजनीतिक चेत बढे पनि विभेद भने हटेको छैन । जनयुद्ध पहिचान र विभेदरहित समाज निर्माणका लागि भएका थियो तर मधेसलाई त्यो प्राप्त हुन सकेन । तत्कालीन माओवादीले ४० बुँदे माग राखेर थालेको जनयुद्धमा थुप्रै मधेसी मारिए तर उक्त मागका कुनै पनि बुँदामा मधेस र मधेसी शब्द छैन । ४० बुँदे मागको २५ नम्बर बुँदामा पहाड र तराईको क्षेत्रीय भेदभाव अन्त्य गरिने उल्लेख गरिएको छ तर त्यो भेदभाव अझै अन्त्य नभएको गुनासो नेकपाका मधेसी नेताहरुको रहेको छ ।

विकासको अवस्था जस्ताको त्यस्तै छ । जनयुद्धको समयमा मधेसले जसरी साथ दिएको थियो त्यसको प्रतिफल मधेसले पाउन सकेन । अहिले तत्कालीन माओवादी (अहिलेको नेकपा) ले मधेसलाई बिर्सेजस्तो छ ।

मधेसबारेमा आवाज उठे पनि अवसर दिने सन्दर्भमा नेकपाले मधेसलाई बिर्सिएको रोशन जनकपुरीको गुनासो छ । समानुपातिक समावेशीका लागि मधेसले माओवादीलाई साथ दिएको थियो तर राज्यको हरेक निकायमा अझैसम्म मधेसको पहुँच पुग्न सकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप