इजरायलमा मतदान शुरु
एजेन्सी । इजरायलमा सोमबार बिहानबाट मतदान शुरु भएको छ । मुख्य दलबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै यो तेस्रो आमनिर्वाचनको मतदान शुरु भएको हो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोचक हुने सङ्केत गरेको छ । यस निर्वाचनमा ६४ लाख योग्य मतदाता रहेका जनाइएको छ ।
गत वर्ष अप्रिल र सेप्टेम्बरमा सम्पन्न दुईवटा चुनावमा दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी ब्लू एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेन्नी गान्जले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन् । उनीहरु दुबैले सरकार गठनका लागि साना दलसँग पनि समझदारी निर्माण गर्न नसक्दा तेस्रो चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको बताइएको छ । तर दुबै पक्षले बहुमतको अभाव हुने अपेक्षा गरेका छन । पटकपटकको चुनावबाट थकित भइसकेका इजरायलीले यस आमचुनावमा पनि त्यति उत्साह देखाएका छैनन् । राजनीतिक सहमति नभए वर्षान्तमा चौथो चुनाव हुने अड्कलबाजी गर्न थालिएको छ ।
अघिल्लो चुनावभन्दा यसपटक भिन्न अवस्था देखापर्दैछ । इजरायलका सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री रहेका नेतान्याहुमाथि पदमै रहँदा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको थियो ।
गत नोभेम्बरमा उनीमाथिका प्रमाण सार्वजनिक गरिएको थियो भने गत महिना अदालतमा मुद्दा दायर गरिएको छ । उक्त मुद्दामा उनीमाथि घूसखोरी, धोखाधडी र विश्वास भङ्ग गरेको आरोप लगाइएको छ ।
प्रधानमन्त्री नेतान्याहुले आफूविरुद्ध लगाइएका आरोप झुठा रहेको भन्दै निरन्तर अस्वीकार गरिरहेका छन् । उनीमाथि लागेको सबैभन्दा गम्भीर आरोप टेलिकम क्षेत्रको रहेको छ । नेतान्याहुमाथिको मुद्दाको सुनुवाई आगामी मार्च १७ तारिखबाट शुरु हुँदैछ ।
पछिल्ला चुनावी मतसर्वेक्षणले नेतान्याहूको लिकुड पार्टी र ब्लू एन्ड ह्वाइट पार्टी दुबैले संसदमा बहुमत जुटाउन नसक्ने देखाएका छन् । इजरायली संसद् नेसेटमा बहुमत प्राप्त गर्न ६१ सिट आवश्यक पर्दछ ।
–एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
-
४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक, कहाँको मतपत्र कस्तो ?
-
लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो
-
रश्मिका मन्दनाले गरेकी हुन् इन्गेजमेन्ट ?