बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विकासको गाडी तयार भयो, अब हामी गुड्न सक्छौँ : पदम बडुवाल

सोमबार, १९ फागुन २०७६, १३ : ३९
सोमबार, १९ फागुन २०७६

सुदूर पश्चिम प्रदेशमा रहेको बडिमालिका नगरपालिका बाजुरा जिल्लाको सबैभन्दा जेठो नगरपालिका हो । २०७१ मङ्सिर १६ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले साविकको मार्तडी, जुगाडा र बुडीगङ्गा गरी ३ वटा गाविसलाई मिलाएर बडिमालिका नगरपालिका घोषणा गरिएको थियो ।

२०७४ मा वैशाख ३१, जेठ ३१ र असोज २ गरी तीन चरणमा स्थनीय तहको निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा यस नगरपालिकाबाट नेपाली काँग्रेसका प्रतिनिधि पदम बडुवाल २९४० मत प्राप्त गरी विजयी भएका थिए । 
शिक्षा, स्वास्थ्य र रोजगारीका विकराल समस्याबाट गुज्रिरहेको यो नगरपालिकालाई समृद्ध र विकसित गराउन नगर प्रमुख पदम बडुवाल लागि परेका छन् । उनले यस नगरपालिकाको विकासका लागि गरेका काम र तय गरेका योजनाका विषयमा रातोपाटी अनलाइनको ‘जनप्रतिनिधि संवाद’ लागि गरिएको कुराकानी ।
नगर प्रमुखको हैसियतले समृद्ध नगरपालिका बनाउन उनले सुरुमा यी पाँच कुरालाई महत्त्वका साथ अगाडि बढाए । 

१. शैक्षिक सुधार
नगर शिक्षक राखेर सामुदायिक विद्यालय कसरी राम्रो बनाउन सकिन्छ भनेर ४८ जना शिक्षक राखेर प्रविधि मैत्री, पूर्वाधार मैत्री र जनशक्ति मैत्री बनाउने काम गरियो । 

२. स्वास्थ्य सेवा 
यो नगरपालिका २०७१ मा ९ वटा वडा मिलेर बनेको सानो नगरपालिका हो । तीमध्ये ३ वटा वडामा स्वास्थ्य संस्था थिए तर अरूमा थिएनन् । अहिले ती सबै वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौँ । त्यहाँबाट सबैले सेवा लिएका छन् । 

३. सडक
प्रत्येक वडामा सडक पुर्याउने उद्देश्यले सातवटा केन्द्रमा सडक पुगिसेकेको छ । एउटा वडामा यो वर्षभित्र सम्पन्न हुन्छ । अर्कोमा एउटामा आगामी वर्षसम्ममा पुगिसक्नेछ । प्रत्येक वडामा सडक पुर्याउन सकियो भने बजारीकरण गर्न पनि सहज हुन्छ । त्यसले गाउँमा उत्पादन वृद्धि गर्छ र उत्पादनमुखी काममा लगानी गर्न सकिन्छ ।  

४. मार्तणी २०३४ सालदेखि सदरमुकामको रूपमा रहेको छ । तर त्यतिबेलादेखि अहिलेसम्म स्वास्थ्य संस्थासम्म पुग्न एम्बुलेन्स गुड्ने सडक थिएन । कार्यालयसम्म सडक जोडिएको थिएन । अहिले नगरपालिकाले सबै सरकारी कार्यालय जोड्ने गरी आवश्यक सडक निर्माण गरेको छ । बजारसँग जोड्ने आरसीसी सडक पनि निर्माण भएको छ भने बाँकी सडक निर्माणका लागि ३, ४ वटा टेन्डर पनि भइसकेको छ । 
त्यसैगरी बजार अवधारणामा गएको यो नगरपालिका उच्च पहाडी क्षेत्रमा पर्ने भए पनि अहिले हरेक वडामा सरर इन्टरनेट चल्छ ।  

५. दिगो विकास लक्ष्य 
यो नगरपालिका देशलाई २०३० सम्ममा विकसित मुलुकसँग जोड्नुपर्ने भएकाले अहिले दिगो विकासको लक्ष्यमा केन्द्रित भएको छ ।  दिगो विकास लक्ष्यमा मानवीय विकासदेखि लिएर आर्थिक विकास र सामाजिक विकासतिर अगाडि बढिरहेको नगर प्रमुख बडुवालले जानकारी दिए । उनले उक्त क्षेत्रमा रहेका कुरीतिहरु छाउपडी प्रथा, बहुविवाह र बालविवाह जस्ता कुरालाई अभियानका रूपमा अगाडि बढाइरहेको समेत जानकारी दिए ।

उनले भने, ‘नगरपालिकालाई संस्थागत गर्न लेखालाई सूत्रमा राखेका छौँ । योजनालाई सफ्टवेरमा राखेका छौँ । यसरी विधिको शासन र सुशासन कसरी कायम गर्न सकिन्छ, त्यसका लागि जग बसालिरहेका छौँ ।’

कृषिको प्रवद्र्धन र विकास
उत्पादन भनेकै कृषि हो । वर्तमान अवस्थामा धनगढीबाट अण्डा, मासु, चामल जस्ता घरायसी सामानहरु आयात गर्नुपर्छ । धनगढीबाट आउँदा सामान भरिभराउ गाडी आउने र यहाँबाट जाँदा रित्तो फर्किनुपर्ने बाध्यता छ । त्यसका लागि ‘एक वडा एक पाठशाला’ भन्ने नारासहितको योजना अगाडि बढाएका छन् । पाठशालाभित्र बीउ उत्पादन, जेटीए राखेर कृषकलाई प्रशिक्षण दिने, आलु खेती, प्याज खेती, धानबाली जस्ता खेतीका बारेमा तालिम दिने व्यवस्था उनले गरेका छन् । 

सिंहदरबारको अधिकार गाउँमा  
सिंहदरबारको अधिकार गाउँसम्म पुगेन भन्ने गुनासोका विषयमा बडुवाल भन्छन्, ‘सिंहदरबार गाउँमा पुग्यो तर जनताले त्यसको अनुभव गर्न पाएनन् भनेर जसरी सञ्चार माध्यम, सामाजिक सञ्जालमा कुरा उठाउने पुरानै केन्द्रीकृत राज्य चाहाने मानिसको झुण्डले फैलाएको हल्ला हो । बाजुरा जस्तो विकट जिल्लामा तत्कालीन अवस्थामा केन्द्रीकृत राज्य व्यवस्था हुँदा कुनै पनि क्षेत्रका लागि बजेटको व्यस्था हुँदैनथियो । अहिले सबै नगरपालिकाको गरेर अर्बौं बजेट छुट्याइएको छ । हामी स्थानीय तहमा जग बसाल्न खोजिरहेका छौँ ।’

उनले दिगो विकासका लागि पञ्चवर्षीय योजना निर्माण र सडक गुरुयोजना बताएको समेत जानकारी दिए । 

गरिबका छोराछोरी पढ्ने विद्यालयमा शिक्षकका दरबन्दी थिएनन् । त्यसको स्थापना गरिएको छ । केन्द्रीकृत राज्य भएको भए विकट क्षेत्रका जनताले यस्ता सुविधा नपाउने जिकिर गर्दै बडुवालले केन्द्रीकृत राज्यमा स्थानीय विद्यालयमा दरबन्दी थप्ने अधिकार स्थानीय क्षेत्रमा नहुने व्यवस्था भएकाले अहिले प्रत्येक वडामा आफैले स्वास्थ्य संस्था स्थापना गर्न सकेकोप्रति सङ्घीयतको उपलब्धि भएको बताउँछन् ।   

केन्द्रीकृत राज्यले स्थानीय तहलाई नजिकबाट नियाल्ने जमर्को गरेको थिए तर अहिले हामीले स्थानीय क्षेत्रको समस्या नजिकबाट नियाल्न सकेको समेत उनले बताए । 
साथै उनको नगरपालिकामा अहिले विभिन्न कार्यक्षेत्रमा १२९ जनाले सरकारी रोजगारी उपलब्ध पाएको समेत उल्लेख गरेका छन् । 

उनी भन्छन्, ‘सिंहदरबार महसुस भएको छ । सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा लेख्नेहरुले सिंहदरबार गाउँमा पुगेको छैन भन्छन् त्यो सीमित व्यक्तिहरुको विचार मात्रै हो । विकट क्षेत्रका जनताका लागि सङ्घीयताले न्याय दिएको छ । नजिकबाट बजेट पाएका छन् र विकास पनि हुन सुरु भएको छ । यही रफ्तारमा विकास हुने हो भने १० वर्षमा देश धेरै अगाडि बढ्छ ।’

युवा र वृद्धवृद्धा लक्षित कार्यक्रम
पछिल्लो तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेको छ । त्यसैले उक्त नगरपालिकामा युवाहरुलाई विदेश गएर पैसा कमाउनुपर्ने बाध्यताको अन्य गर्न युवा लक्षित कार्यक्रम बनाइएको छ ।

उत्पादन नहुँदा ह्वात्तै बढेको महँगीलाई न्यूनीकरण गर्न उत्पादनलाई बढवा दिने हो । त्यसैले युवालाई स्वरोजगार हुनका लागि बिजुलीदेखि विभिन्न उत्पादनका सन्दर्भमा छ सय युवालाई तालिम दिएको बताउँछन् नगर प्रमुख बडुवाल । 

उनले भने, ‘अहिले पनि कृषिसम्बन्धी सीटीईभीटीई र अन्य ठाउँमा अनुरोध गरेर कृषि तालिम, पशुपालन तालिम दिने गरेका छौँ । तर तालिम पनि भत्तामुखी भएकाले हामीले तालिम लिएपछि त्यसको प्रतिफल पनि दिनुपर्ने व्यवस्थाको विकास गरेका छौँ ।’

समस्या 
उक्त क्षेत्रको प्रमुख समस्याहरु के–के हुन् त ? भन्ने प्रश्नमा नगर प्रमुख बडुवालले नगरपालिकाको प्रमुख समस्याको रूपमा सिँचाइको अभाव बताएका छन् । उनले उक्त नगरपालिकामा जम्मा २७६ वर्ग किलोमिटर जग्गा भएको बताएका छन् । यसमा ५८०० हेक्टर खेतीयोग्य जमिन छ । खेती भइरहेको जम्मा ४६०० हेक्टर जमिन छ । सिंचित भने जम्मा ११७५ हेक्टरमा मात्र छ । बर्खे झरीले सिँचाइ गर्नुपर्ने ३५० हेक्टर छ भने बाह्रै महिना सिँचाइको व्यवस्था भएको जमिन ८२५ हेक्टर मात्रै छ । सुख्खा भूमिमा आकाशको पानीकै भर पर्नुपर्ने बाध्यता रहेको समेत बताए । 

उनले भने, ‘त्यसैले यहाँको प्रमुख समस्या भनेको सिँचाइ नै हो । त्यसैले ४००० हेक्टर जमिन सिंचित होस् भनेर दीर्घकालीन योजना तर्जुमा गरेका छौँ । यो वर्ष युनिसेफसँग साझेदारी गरेर एक घर एक धाराको निर्माण गरेका छौँ ।’

फोहोरको समस्या व्यवस्थापन गर्न पूर्ण सरसफाइ अभियान चलाएको पनि उनले जानकारी दिए । साथै विद्यालयको शैक्षिक गुणस्तर बढाउन विद्यालयमा सिकाइ मेलाको आयोजनाको व्यवस्था गरेको जानकारी दिए । पढाइसँगै सिकाइ पनि गराउने व्यवस्था गर्न  लागेको पनि उनले बताए । 

स्थानीय जनप्रतिनिधिका रूपमा काम गरेको लगभग ३ वर्षमा उनले कर्मचारीको अभावको अन्त्य गरेर  विकासको गाडी तयार पारेको र अब हामी गुड्छ तयार भएको जानकारी दिए । 

कार्यकालभरको सपना
अब बाँकी कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने सपना छ भन्ने प्रश्नको जवाफमा नगर प्रमुख बडुवालले भने, ‘मेरो धेरै ठूलो सपना छैन । बस् यो दुर्गम क्षेत्र भएकाले यहाँ स्वास्थ्य सेवा पाउन निकै कठिन छ । त्यसैले यहाँको जनताले सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा पाउन सकून् भन्ने लक्ष्यका साथ काम अगाडि बढाएका छौँ । 

यसका साथै गाउँगाउँका विद्यालयमा शिक्षा प्रयोगात्मक होस् । गाउँमा सडकको सुविधा प्राप्त होस् । उत्पादन बढाउन सिँचाइको व्यवस्था गर्न सकूँ र सबैभन्दा बढी सुुशासन कायम होस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिक्षा भट्ट
प्रतिक्षा भट्ट
लेखकबाट थप