बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्मुसले भने –‘सेन्टी भाइरस’ नाफामा गइसक्यो

सोमबार, १९ फागुन २०७६, १३ : ०२
सोमबार, १९ फागुन २०७६

काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अभिनय निर्माण रहेको फिल्म ‘सेन्टी भाइरस’ले राम्रो व्यवसाय गर्न सफल भएको छ । निर्माण युनिटले आइतबार साँझ एक कार्यक्रम गर्दै फिल्मले अहिलेसम्म ४ करोड माथि कमाएको जानकारी दियो ।
कार्यक्रममा राजधानीका वितरक गोविन्द शाहीले फिल्मको ९ दिनसम्मको कमाई देशभर गरि ४ करोड ८ लाख ग्रस रहेको बताए । उनले राजधानीमा मात्रै २ करोड १० लाख ३ हजार ब्यवसाय गर्न सफल भएको दाबी गरे । 
विगत ६ महिनायता हलमा दर्शक घट्दो रहेको सन्दर्भमा फिल्मले भने ठूलो आशा जगाएको बितरक शाहीको भनाई रहेको थियो ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘सेन्टी भाइरस’ प्रदर्शनको दुई दिन अर्थात शुक्रबार र शनिबार देशभरका हलमा हाउसफुलको ब्यवसाय गर्न सफल रहेको थियो । 

कार्यक्रममा निर्माता समेत रहेका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण अभियानमा सघाउन पनि दर्शक फिल्म हलमा आएको धारण राखे । उनले फिल्मको आम्दानीको ५० प्रतिशत क्रिकेट रंगशालामा खर्चिने वाचा कार्यक्रममा पुन दोहोर्याएका थिए ।

डिजिटल राइट्स र ओभरसिज राइट्स मिलाएर फिल्ममा लगानी भएको २ करोड ८५ लाख उठिसकेको जानकारी सितारामले दिए ।

समीक्षकबाट राम्रो प्रतिक्रिया पाउन नसकेको फिल्मले दर्शकबाट भने राम्रो साथ पाएको थियो । फिल्मको ब्यवसाय दोस्रो सातामा पनि राम्रो रहेको छ ।

कार्यक्रममा सितारामले फिल्म समीक्षकबाट प्राप्त सल्लाह, सुझाव र प्रतिक्रिया आत्मसात् गर्ने बताए । ‘फिल्मको समीक्षा गर्नु उहाँहरुको अधिकार हो । हामी त्यसलाई स्वीकारछौ’ सितारामले थपे ‘पहिलो प्रयास हो । कमिकमजोरी भए होलान् । आगामी दिनमा त्यो सुधार्नेछु ।’ कार्यक्रममा सितारामले कलाकारितालाई अव निरन्तरता दिने समेत बताए ।

सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित फिल्म ‘सेन्टी भाइरस्’मा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, कमलमणी नेपाललगायतका कलाकाहरुको अभिनय छ । फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप