बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको सन्त्रासलाई उपेक्षा गर्दै जम्बो टोली सरकारी खर्चमा जापान भ्रमणमा

भ्रमणमा सांसददेखि प्रधानमन्त्रीको सचिवालय सदस्यसम्म
सोमबार, १९ फागुन २०७६, १२ : २९
सोमबार, १९ फागुन २०७६

काठमाडौँ । ‘कोभिड–१९’ अर्थात् कोरोनाभाइरसले विश्वका ५० भन्दा बढी मुलुक प्रभावित भएको अवस्थामा कयौँ मुलुकले अन्तर्राष्ट्रिय उडान कटौति गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले सचेतता अपनाउन थाल्दासमेत नेपालले उल्टो धार समात्दै अन्तर्राष्ट्रिय उडानलाई प्राथमिकता दिने र नयाँ गन्तव्य रोज्ने क्रमलाई निरन्तरता दिएको छ ।

नेपाल वायुसेवा निगमको वाइड बडी विमानले सोमबारदेखि जापानको नारितामा उडान सुरु गरेको छ । यसअघि विवादीतरुपमा जापानको ओसाकामा उडान गर्दै आएकोमा रुट ‘सिफ्ट’ गरेर नारितामा उडान थालेको हो । काठमाडौँ–नारिता उडान उद्घाटनका क्रममा एयरलाइन्सले प्रधानमन्त्रीका प्रेस संयोजक, मन्त्रीका पिएदेखि लिएर सांसद, सञ्चारकर्मीको जम्बो टोलीलाई नारिता भ्रमण गराएको छ ।


जापानकै एउटा गन्तव्यको साटो अर्को गन्तव्यमा उडान गर्न लागेको अवस्थालाई समेत निगमले ‘ठूलो पर्व’ का रुपमा लिएको देखिन्छ । यसका लागि निगमका उच्च अधिकारीदेखि लिएर सांसदहरु, सञ्चारकर्मीहरुको टोलीलाई जापान लगिएको छ ।

पछिल्लो समय जापानमा समेत कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोनाभाइरसको संक्रमण देखिएको र संक्रमितहरुको मृत्युसमेत हुन थालेपछि जापानले देशभरका सबै विद्यालय बन्द गर्ने घोषणा गरिसकेको छ भने केही क्षेत्रमा आपत्कालसमेत घोषणा गरेको छ ।

कोरोनाभाइरसको संक्रमण भएका मुलुकमा अन्तर्राष्ट्रियस्तरमा धमाधम उडान कटौति भइरहेको छ । कयौँ मुलुकले चीन, दक्षिण कोरिया, जापान लगायतका मुलुकमा उडानसेवा कटौति गरे पनि नेपालले समवेदनशील अवस्थाका बाबजुद कोरोना प्रभावित मुलुक जापानमा व्यावसायिक सफलता खोज्न उद्यत देखिन्छ ।

जापानमा कोरोना संक्रमण देखा परेको र केही व्यक्तिको मृत्युसमेत भइसकेको अवस्थामा यही समय पारेर नेपाल वायुसेवा निगमले जापानमै व्यावसायिक उडान विस्तार गर्नु अनौठो मानिएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्का भने जापानबाट कुनै प्रकारको ‘ट्राभल एडभाइजरी’ जारी नभएका कारण पूर्वयोजना अनुसार नै ओसाकाबाट नारितामा उडान ‘सिफ्ट’ गरिएको बताउँछिन् । ‘यसका लागि पाँच÷सात महिनादेखि नै तयारी भइरहेको थियो,’ उनले भनिन्, ‘लामो तयारीपछि बल्ल उडान सुरु हुन लागेको हो, हामीले तयारी थाल्दा कोरोनाको प्रकोप नै देखिएको थिएन । सबै तयारी पूरा भइसकेको र जापानले पनि त्यस्तो कुनै खतरा नरहेको बताइरहेको अवस्थामा हामीले निर्धारित कार्यक्रम रद्द गर्नु उचित थिएन ।’

नारिता उडान सुरु गरेको अवसरमा निगमले जोखिम मोलेरै १५ जनालाई सम्पूर्ण खर्च व्यहोर्दै जापान लगेको छ । जबकि विश्व स्वास्थ्य संगठनले कोरोनाप्रति सचेत हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दै आएको छ । सचेत हुनुको अर्थ संक्रमण देखा परेका मुलुकमा आवत जावत नगर्ने, ती मुलुकका नागरिकको आगमनमा सतर्कता अपनाउने लगायत नै हो ।

तर नेपाल वायुसेवा निगमले कोरोना संक्रमण देखिएको जापानमा गन्तव्य ‘सिफ्ट’ गर्दासमेत नेपालबाट १५ जनाको टोलीलाई सम्पूर्ण खर्च व्यहोर्दै लगेर किन जोखिम मोल्दैछ भन्ने प्रष्ट हुन सकेको छैन । निगमका अनुसार काठमाडौँ–नारिता–काठमाडौँ (दुईतर्फी) भाडामात्र प्रतिव्यक्ति ७३ हजार रुपैयाँ पर्दछ । यस अतिरिक्त निगमले लगेका १५ जना अतिथिको होटल खर्च पनि निगमले नै व्यहोर्नेछ ।

को–को गए जापान ?

निगमले प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका पिए प्रेम गुरागाईँ, सांसदहरु कृष्णप्रसाद दाहाल, गणेशकुमार पहाडी, सरलाकुमारी यादवलाई नारिता भ्रमणमा लगेको छ ।

निगमकै प्रवन्ध निर्देशक गणेशबहादुर चन्दको नेतृत्वमा निगमको वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहाल, इन्जिनियर अच्युतराज पहाडी लगायतका कर्मचारी पनि नारिता भ्रमणमा गएका छन् ।

यस अतिरिक्त सञ्चारकर्मीहरु कालिका खड्का, राजेश राई, टेलिभिजन कार्यक्रम सञ्चालिका निमाकुमारी काफ्ले पनि नारिता गएका छन् । यस्तै, खगेन्द्र अधिकारी, बेन्जु सुवेदी, बोधमाया यादव, प्रदेश १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सुहाङ पनि नारिता गएका छन् ।

आवश्यक तयारीबिना नै उडान

निगमको वाइडबडी विमानले यसअघि नै जापानको ओसाकामा उडान सुरु गरिसकेको थियो । ओसाका उडान बन्द गरेर नारितामा ‘सिफ्ट’ गर्न कै लागि  नेपालबाट जम्बो टोली लगेर तामझाम गर्न जरुरी नै नरहेको निगम स्रोत बताउँछ । ‘जापानमा उडानको उद्घाटन कार्यक्रम भइसकेको हो,’ स्रोतले भन्यो, ‘एउटा सहरबाट अर्को सहर सिफ्टमात्र भएको हो, यस्तो अवस्थामा फजुल खर्च गरिरहन जरुरी थिएन ।’

त्यसो त, निगमले नारिता उडान सुरु गरेको उपलक्ष्यमा कुनै औपचारिक कार्यक्रम नगरिएको जनाएको छ । औपचारिक कार्यक्रम नगर्ने निधो भइसकेको अवस्थामा १५ जनाको टोलीलाई सम्पूर्ण खर्च व्यहोर्दै किन जापान लगियो भन्ने प्रष्ट हुन सकेको छैन ।

नारितामा उडान सुरु गरे पनि निगमले उडानका लागि आवश्यक तयारीहरु औपचारिकतामा मात्र सीमित गरेको छ । नारिता विमानस्थलमा ‘म्यानुअल सिस्टम’बाट ‘ग्राउन्ड ह्यान्डलिङ’ का काम हुँदैछ । यो प्रविधि विश्वमै लोप भइसकेको छ । तर निगमले जापानजस्तो आधुनिक प्रविधि भएको मुलुकमा ‘ग्राउन्ड ह्यान्डलिङ’मा प्रविधिको प्रयोग गर्न सकेको त छैन नै, तालिममा समेत विफल भएकालाई जिम्मेवारी दिएर परिचालन गरेको छ । जसले गर्दा नेपाल एयरलाइन्सप्रति जापानी यात्रुको दृष्टिकोण कस्तो बन्ला ? सहजै अनुमान गर्न सकिन्छ ।

फाइनान्स म्यानेजर, एयरपोर्ट म्यानेजर र कन्ट्री म्यानेजरका लागि तीन जनालाई खटाइए पनि उनीहरु आफैँ सक्षम नभए पनि नेपालबाट सहयोगी पठाइएको स्रोत बताउँछ । एउटा दक्ष मानिसले गर्न सक्ने काममा अतिरिक्त मानिससमेत पठाउनु परेको र खाने–बस्ने लगायतका अतिरिक्त खर्च व्यहोर्नु परेका कारण निगमको व्यावसायिक नीति कति प्रभावकारी छ भन्नेमा समेत प्रश्न उब्जिएको छ ।

निगमको वाणिज्य विभाग निर्देशक पटक-पटक जापानमा

नेपाल वायुसेवा निगमका वाणिज्य विभाग निर्देशक टङ्कनिधि दाहाल पटक–पटक विदेश भ्रमण जाने गरेका छ्न । उनको विदेश भ्रमणको तालिका हेर्ने हो भने निगमले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा निकै ठूलो छलाङ मार्न लागेको हो कि भन्ने अनुभूति हुन्छ । तर निगमको अवस्था सुध्रन सकेको छैन ।

यद्यपि निर्देशक दाहालको आर्थिक अवस्थामा भने निकै सुधार हुँदै गइरहेको छ । उनको विदेश भ्रमणका क्रममा दैनिक दुई सय डलर भत्ता आउने गर्दछ । प्रति दिन खान र बस्नका लागि एक सय डलर खर्च गरे पनि प्रतिदिन एक सय डलर जोगिन्छ । औसत रुपमा सरदर दुई महिनामा एक पटक उनी विदेश भ्रमणमा जाने गरेका छन् ।

उनी हालै जापानको नारिताबाट फर्किएका थिए । तर एक साता मै उनी फेरि नारिता गएका छन् । निगमको प्रवन्ध निर्देशक आफैँ नारिता उडान सुरु भएको अवसरमा जापान गएको अवस्थामा दाहाल किन गए र त्यसको उपलब्धि के हो भन्नेबारे निगमकै कर्मचारीहरु बुझ्न सकिरहेका छैनन् । भनिन्छ, यस्ता प्रवृत्तिकै कारण निगम आर्थिक रुपमा कहिल्यै माथि उठ्न नसकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप