बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एल क्लासिको : बार्साभन्दा रियललाई गुमाउनु धेरै

आइतबार, १८ फागुन २०७६, १६ : ५५
आइतबार, १८ फागुन २०७६

बुधबार च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीसँग रियल म्याड्रिड २–१ गोलअन्तरले पराजित हुँदै गर्दा एउटा युगको अन्त्यको सङ्केत गर्दै थियो । हामीले पछिल्लो दशक युरोपियन फुटबलमा दबदबा जमाएको टोलीको अन्त्य हेर्दै थियौँ । आफ्नो घरेलु मैदानमा दुई ‘अवे’ गोल खाएको रियल म्याड्रिडले अब क्वाटरफाइनलको यात्रा तय गर्नका लागि मुन्डो डिर्पोटिभोले भने जस्तै, ‘चमत्कार’ नै गर्नुपर्नेछ ।

रियल म्याड्रिडको अहिलेको समस्याको नाम भनेको ‘क्रिस्टियानो रोनाल्डो’ हो । सन् २०१८ मा रोनाल्डो युभेन्टससँग आबद्ध हुनअघि रियलले ला लिगाको इतिहासमा बार्सिलोनाभन्दा ४२ गोल बढी गरेको थियो । तर, त्यसयता ६२ हप्ताको अन्तरालमा बार्सिलोनाले, विशेष गरेर कप्तान लियोनेल मेस्सीको गोल वर्षाको मद्दतले, रियललाई एक गोलले उछिनेको छ । उता, रोनाल्डोले क्लब र देशका लागि ३८ खेलमा ३७ गोल गरिसकेका छन् ।

‘रियल म्याड्रिडले गोल नै गर्न सकिरहेको छैन,’ क्लबका पूर्व अध्यक्ष रामोन काल्डेरोन भन्छन्, ‘पछिल्लो ९ वर्षमा रोनाल्डोले हरेक सिजन ५० गोलको औसतले गोल गरिरहेका थिए । मैले पहिलेदेखि नै भन्दै आइरहेको छु, उनलाई बेच्नु ठूलो, ठूलो गल्ती थियो । अहिले क्रिस्टियानोलाई बेच्नु हाम्रो लागि ठूलो घाटा थियो भनेर पुष्टि भइसकेको छ । अहिले रियलको आक्रमणमा करिम बेन्जेमाले मात्र केही राहत दिइरहेका छन् । गेराथ बेलले गोल गरिरहेका छैनन् भने चोटग्रस्त छन् । उनी रियलबाट खेल्न खुसी छैनन् भनेर खुला रुपमा भनिरहेका छन् । यसले समर्थक पनि खुसी छैनन् ।’

‘भिनिसियस अझै युवा छन् । उनी चाँडो छन् र राम्रो खेल्छन् तर उनी गोल गर्नमा राम्रो छैनन् । लुका जोभिच असफल साबित भएका छन् । मलाई थाहा छैन, तर अर्को वर्ष हामीले कायलिन एम्बाप्पेलाई किन्न सफल हुन्छौँ होला यो सबै रियल म्याड्रिडको सपना हो ।’

रोनाल्डोको जर्सी नम्बर ७ को जिम्मेवारी पाएका एडिन हजार्डले खुट्टाको चोटका कारण बाँकी सिजन गुमाउने पक्का जस्तै छ । उनले अहिलेसम्म रियलका लागि मात्र एक गोल गर्न सकेका छन् । अहिले उनलाई स्पेनिस प्रेसले ‘काका’ सँग तुलना गर्न थालिसकेको छ जो रियलका लागि महङ्गो, चोटग्रस्त फ्लप साबित भएका थिए ।

रोनाल्डोको उत्तराधिकारीका रुपमा हेरिएका बेलले पनि रोनाल्डोको बर्हिगमनपछि त्यो जिम्मेवारी पुरा गर्न असफल भएका छन् । बेलले प्रत्येक सिजन १४ गोलको औसतले गोल गर्दै आइरहेकोमा गत सिजन उनले आठ लिग गोल गरेका थिए भने यो सिजन उनले मात्र दुई गोल गरेका छन् भने च्याम्पियन्स लिगमा खाता नै खोल्न सकेका छैनन् ।

‘बेल यो सिजन रियल म्याड्रिडको सबैभन्दा निराशजनक खेलाडी बनेका छन्,’ स्पेनिस फुटबल लेखक जुआन्मा ट्रेउबा भन्छन्, ‘गत सिजन रोनाल्डोले क्लब छाडेपछि बेलले उनको जिम्मेवारी सम्हाल्नेछन् भनेर आशा गरेका थिए । तर, त्यो देख्न पाइएको छैन । बरु उनले क्लब छाड्न चाहेको सङ्केत दिइरहेका छन् । हजार्ड घाइते भएपछि बेल फेरि रियलका लागि बेल महत्त्वपूर्ण बनेका छन् । उनी टोलीका एक मात्र ‘न्याचुरल’ गोलस्कोरर हुन् ।

‘यसअघि समर्थकहरुले बेल रोनाल्डोको छायामा परेको भन्दै माफी दिएका थिए । तर, रोनाल्डो गएपछि पनि बेल त्यहीको त्यही रहे । उनले आफ्नो जिम्मेवारी ग्रहण गरेनन् । उनी टोलीको नेतृत्व गर्न लायक छैनन् ।’

‘समर्थकहरुले पनि उनीमाथि भरोसा गर्न छाडेका छन् । किनभने उनले क्लबमा लामो समय बिताइसकेका छन् । उनी एक सुपरस्टार बनेर क्लबमा आएका थिए । तर, उनले टोलीमा नियमित रुपमा स्थानसमेत बनाउन सकेनन् । न त उनले समर्थकहरुसँग सम्बन्ध नै बनाउन सके । यतिका समयसम्म पनि स्पेनिस सिक्न नसक्नु यसको उदाहरण हो ।’

केही हप्ता अघिसम्म रियल म्याड्रिड २१ खेलको अपराजित यात्रामा थियो । तर, त्यो एकाएक तासको पत्ताको घरजस्तै भत्किन थालेको छ । सिटी र लेभान्तेसँगको पराजय र कोपा डेल रेको क्वाटरफाइनलमा रियल सोसिसाडसँग पराजित भएपछि जिनेदिन जिदानको टोलीको ‘फल्ट लाइन’ लाई पुनः उजागर गरेको छ ।

फेडे भालभर्डे र कासिमेरोको जोडीले यो सिजन रियललाई धेरै सफलता दिलाउन मद्दत गरेको काल्डेरोन भन्छन् । ‘उनीहरुको जोडीले गर्दा टोलीले यो सिजन कम गोल खाएको छ । पछिल्ला केही खेलमा भने रियलको डिफेन्स कमजोर देखिएको छ,’ उनले भने ।

उता, आइतबारको खेलअघि बार्सिलोना पनि चोटग्रस्त छ । म्याड्रिडको घरेलु मैदानमा खेलिने क्लासिकोमा बार्सिालेना लुइस सुवारेज, ओसमान डेम्बेले, जोर्डी आल्बा, सर्जी रोबर्टो र सम्भावित रुपमा जेरार्ड पिके बिना नै मैदानमा उत्रनेछ ।

टोलीले यो सिजन उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । जसले गर्दा गत जनवरीमा अर्नेस्टो भालभर्डेले आफ्नो जागिर नै गुमाउनुप-यो । बार्सालाई अहिलेसम्म कप्तान मेस्सीले जोगाउँदै आएका छन् । चोटका कारण सिजनको १÷५ खेल गुमाएका मेस्सीले लिगमा अन्य खेलाडीभन्दा ५ गोल बढी र ५ एसिस्ट बढी गरेका छन् ।

च्याम्पियन्स लिगमा अर्को चरणमा प्रवेश गर्ने सम्भावना ‘असम्भव’ नै जस्तो देखिरहँदा आजको खेलमा बार्साभन्दा रियलले गुमाउने धेरै छ । आजको खेलअघि रियल बार्सिलोनाभन्दा २ अङ्कले पछि छ । आजको खेलमा पराजित भए रियल लगातार पाँचौ पटक स्टान्टियागो बर्नेबाउमा पराजित हुनेछ र सँगै लिग उपाधिको सपना अन्त्य हुनेछ ।

‘यस्तो खेलमा विजेता को हुन्छ भन्नु निकै कठिन हुन्छ,’ काल्डेरोन भन्छन्, ‘हामीलाई गोल गर्न समस्या छ भने बार्सिलोना डिफेन्समा कमजोर देखिएको छ । आजको खेलमा मेस्सीको प्रदर्शन नै निर्णायक हुनेछ । यदी आजको खेललाई उनले विश्वको उत्कृष्ट को हो भन्ने देखाउन प्रयोग गरे हामी समस्यामा हुनेछौँ ।’

केही तथ्याङ्कः

१. बार्सिलोनाले ला लिगामा रियल म्याड्रिडविरुद्ध सबैभन्दा धेरै ७२ खेल जितेको छ भने रियलले पनि बार्सिलोनालाई सर्वाधिक ७२ पटक हराएको छ ।

२. लिगमा खेलिएका पछिल्ला सात एल क्लासिकोमा रियलले बार्सिलोनालाई हराउन सकेको छैन । यसमा तीन ड्र र चार हार समावेश छ । यदी आजको खेलमा पनि जीत हासिल गर्न नसके बार्सिलोनाविरुद्ध रियलको सबैभन्दा खराब दौर साबित हुनेछ ।

३. बार्सिलोनाले स्टान्टियागो बर्नेबाउमा खेलिएका पछिल्ला ४ क्लासिकोमा जित हासिल गरेको छ । रियल म्याड्रिडविरुद्ध लगातार चार अवे खेल जित्ने बार्सिलोना लिगको इतिहासमा पहिलो टोली हो ।

४. बार्सिलोनाले यो सिजन आफ्ना पछिल्ला चार अवे खेलमध्ये एकमा मात्र जीत हासिल गरेको छ । प्रत्येक चार खेलमा उनले दुई–दुई गोल खाएको छ ।

५. आजको खेलमा जाभीलाई उछिन्दै लियोनेल मेस्सी सबैभन्दा धेरै क्लासिको खेल्ने बार्सिलोनाको खेलाडी बन्दैछन् । उनले ४२ क्लासिको खेल्नेछन् ।

६. करिम बेन्जेमाले बार्सिलोनाविरुद्ध पछिल्ला ७ खेलमा गोल गर्न सकेका छैनन् ।

७. बार्सिलोनाका प्रशिक्षक किके सेटिनले प्रशिक्षकका रुपमा रियलविरुद्ध पछिल्ला आठमध्ये दुई खेलमात्र जित्न सकेका छन् । उनले दुवै जीत जिनेदिन जिदान प्रशिक्षक हुँदा हासिल गरेका थिए ।

८. जिनेदिन जिदानले प्रशिक्षकका रुपमा बार्सिलोनासँग आठ खेलमध्ये दुईमात्र हार बेहोरेका छन् । (तीन जीत, तीन हार) । दुवै हार उनले बर्नेबाउमा बेहोरेका छन् ।

आजको खेल नेपाली समयअनुसार सोमबार बिहान १ बजेर ४५ मिनेटमा खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप