बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

आइतबार, १८ फागुन २०७६, १६ : ०८
आइतबार, १८ फागुन २०७६

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिए । यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ । 

अमेरिकी स्वास्थ्य विभागले कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्धहरु घोषणा गरेको हो ।  उपराष्ट्रपति पेन्सले इरानी नागरिकमाथि यात्रा प्रतिबन्ध पहिल्यैदेखि रहे पनि विगत १४ दिनयता इरान भ्रमण गरेका कुनै पनि विदेशीलाई अमेरिका प्रवेश गर्न नदिइने बताए । उनले इटाली र दक्षिण कोरियाका कोरोना प्रभावित इलाकाहरुमा भ्रमण नगर्न सल्लाह दिइएको पनि बताए ।

त्यस अवसरमा राष्ट्रपति ट्रम्पले संयुक्तराज्य अमेरिकामा २२ जनामा कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिँदै पछिल्लो परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताए । उनले कोरोनाभाइरसको खोप निर्माणका सन्दर्भमा कुराकानी गर्न अमेरिकाका विशिष्ट औषधि निर्माता कम्पनीहरुलाई छलफलका लागि आमन्त्रण गरेको जानकारी दिए ।

चीनको उहानबाट फैलिएको कोरोनाभाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारत समेत  विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको सङ्क्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको छ ।  चिनियाँ स्वास्थ्य आयोगले शनिबार कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ । चीनमा मात्र हालसम्म दुई हजार ८३५ जनाको ज्यान गइसकेको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप