शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनसान बनेको ठमेल (फोटोफिचर)

व्यवसायी भन्छन्, ‘हतार नगरौँभन्दा भन्दै निर्णय गरियो, अब जे भयो स्वीकार्नै पर्छ’
आइतबार, १८ फागुन २०७६, १३ : ४४
आइतबार, १८ फागुन २०७६

काठमाडौं । सधैँ जसो भीडभाड र व्यवस्त देखिने काठमाडौँको पर्यटकीय केन्द्र बजार ‘ठमेल बजार’ आजभोलि सुनसान छ । विदेशीहरुको बाक्लो उपस्थिति रहने यो बजारमा तिनै विदेशीहरुको चहल पहल कम हुँदा खल्लो बनेको ठमेलको रौनकता नै हराएको छ ।

नेपालले भ्रमण वर्ष मनाउँदै गर्दा कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिन थालेपछि यतिखेर पर्यटन बजार रित्तिदै गएका छन् । जसको जोलन्त उदाहरण बनेको छ ठमेल बजार ।

भ्रमण वर्ष २०२० सफल पार्न एकजुट भएका ठमेलका पर्यटन व्यवसायीहरुको मेहेनत र लगानीसमेत यतिखेर बालुवामा पानी भएको छ । पर्यटक स्वागत गर्न गरेको लगानी र व्यापार व्यवसाय बढाउन गरेका लगानी पर्यटकको अभावमा खेर जानेमा पर्यटन व्यवसायीहरु चिन्तित छन् ।

गत वर्षको तुलनामा अहिले ९० प्रतिशतले व्यापार घटेको ठमेलका पर्यटन व्यवसायी तथा टानका पूर्व अध्यक्ष नवराज दाहाल बताउँछन् । ‘हामीले भ्रमण वर्षका लागि भनेर ठूलो तयारी ग-यौं । लगानी पनि बढायौँ तर अहिले हात लाग्यो शुन्य भयो ।’

व्यवसायी दाहाल भन्छन्, ‘पर्यटन आगमनको हिसाबले झन् यो वर्ष गत भन्दा पनि ९० प्रतिशतले पर्यटक(अकुपेन्सी) घटेर गएको छ । सोचेअनुरुप १० प्रतिशत पनि पर्यटक नपुग्दा यो दर अबको सिजनल समयमा पनि यस्तै रहलाकी भन्ने चिन्ता बढाएको छ ।’

दाहालका अनुसार यो समयमा चिनियाँ पर्यटकहरु मात्र होइन अन्य मुलुकका पर्यटकहरुको आगमन समेत घटेको छ । जसको प्रभाव प्रत्यक्ष रुपमा पर्यटन व्यवसायमा परेको हो । दाहाल ठमेलका ट्रेकिङ्ग व्यवसायी हुन् ।

यतिखेर कोरोनाको प्रभाव ठूला व्यवसायमा मात्र नभएर पर्यटनसँग जोडिएका ठमेलका सामान्य खुद्रा, व्यापार व्यवसायमा समेत परेको छ । ठमेलमा रिक्सादेखि खुद्रा पसल, फुटपाथ पसलदेखि ठूला व्यवसाय, होटल रेष्टुरेन्ट तथा मनोरञ्जनाका क्लबहरुमा समेत परेको छ ।

पर्यटक अभावकै कारण ठमेलको करिब ९० प्रतिशत व्यापार, व्यवसाय चौपट भएको व्यवसायीहको भनाइ छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसले संसार आक्रमण गरेसँगै विश्व पर्यटन बजार रोकिदा ठमेलको मात्र होइन अन्य क्षेत्रको समेत पर्यटन व्यवसाय यस्तै छ । पर्यटक बोलाउने देखि, डुलाउने र भुलाउनेहरु समेत प्रभावित भएका छन् ।

यतिखेर आफ्नै हब झैं गर्ने पर्यटकहरुले समेत ठमेललाई मरेको कुकुरलाई उपियाँलै छाडेझैँ छाड्दै गएका छन् ।

पर्यटन व्यवसायी तथा ठमेल टुरिजम डेप्लभमेन्ट काउन्सिलका उपाध्यक्ष भवि शर्मा अहिले यो दुर्गति सरकारको निर्णयको उपज भएको बताउँछन् । त्यसमा भाइरल कोरोनाभाइरसले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

‘हामी पर्यटन व्यवसायीहरुले पहिल्यै सरकारलाई भ्रमण वर्ष घोषणा गर्न हतार नगरौँ भनेका थियौँ । आधारभूत आवश्यकता तथा पूर्वधारहरु तयार गरेर मात्र भ्रमण वर्ष आह्वान गर्न उचित हुन्छ भनेका थियौँ । तर सरकारले हतार हतार भ्रमण वर्षको घोषणा ग-यो । अब जे भो सो स्वीकारनै पर्छ ।’

उपाध्यक्ष शर्माले भने, ‘यसमा कोरोनाभाइरसले थप भूमिका खेल्यो । नेपालले भ्रमण वर्ष घोषणा गर्दा नगर्दै चीनमा कोरोनाभाइरसको प्रकोप देखियो । अहिले यो विश्वव्यापी बनेको छ । जसले नेपालको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुन पुगको छ ।’

उपाध्यक्ष शार्माका अनुसार अहिले कारोनाभाइरसकै कारण ठमेलको पर्यटन व्यवसाय ८० देखि ९० प्रतिशत प्रभावित हुन पुगेको छ । बुकिङ्ग भएका होटल लजहरुको ७५ प्रतिशत बुकिङ्ग रद्द भएका छन् । यो वर्ष ३०–४० प्रतिशत पर्यटक बढ्ने र सोही अनुरुप व्यवसाय बढ्ने व्यवसायीहरुको अपेक्षामा उल्टो ५०–६० प्रतिशत व्यापरमा ह्रास आएको छ ।

‘चिनियाँ पर्यटक मात्र रोकिदा नेपाललाई खासै नोक्सान हुने थिएन । तर चीनकै कारण विश्वका पर्यटकहरु रोकिँदा हामीलाई ठूलो असर परेको छ । शर्माले भने, ‘चिनियाँ पर्यटकहरु त केवल नेपालको पर्यटकको संख्यात्मक वृद्धि मात्र हुन् । खर्च त अन्य तेस्रो मुलुकका पर्यटकहरुले गर्थे । अहिले सबै तिर डामाडोल भएको छ ।’ अब ठमेलले पुनः आफ्नो गति लिन केहि समय लाग्ने शर्माको भनाइ छ ।

भ्रमण वर्षलाई लिएर ठमेलमा पर्यटन व्यवसाय व्यवस्थित गर्ने भन्दै बाहिर अव्यवस्थित पोलपोलमा जेलिएका तारहरु व्यवस्थित गर्ने अभियान चलाएको थियो । त्यस्तै, ठमेलको शान्ति सुरक्षालाई लिएर सामुदायी प्रहरीका साथ साथै पर्यटन प्रहरी र महानगरीय प्रहरीको साझेदारीमा ठमेलको सुरक्षा व्यवस्था कडा गरिएको छ भने, पर्यटन मैत्री वातावरणकै लागि ध्वनी प्रदुषणमुक्त ठमेल बनाउने अभियान समेत सञ्चालन गरिएको थियो ।

तस्विरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप