शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संस्थापनइतरको ‘भारत मोह’ र ओलीसँगको भेटवार्ताले काँग्रेसमा तरङ्ग

आइतबार, १८ फागुन २०७६, १० : ०५
आइतबार, १८ फागुन २०७६

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर पक्षका नेताहरुको भारत ‘साइनो’बाट संस्थापन पक्ष सशंकित देखिएको छ । उनीहरुको राजनीतिक भेटवार्ताले विशेषत सभापति शेरबहादुर देउवामा बेचैनी थपिदिएको छ ।

पार्टी १४ औँ महाधिवेशनको तिथि–मिति सार्वजनिक भएपछि इतर पक्षबाट भारत आउ–जाउलाई संस्थापन पक्षले चासोका साथ हेरेको पाइएको छ । नेपालको आन्तरिक राजनीतिमा चासो राख्ने भारतमा गत पुस र माघ २९ गते नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले गरेको राजनीतिक भेटवार्ताले काँग्रेसभित्रै तरङ्ग पैदा गरेको हो ।

काँग्रेसभित्र भारतलाई हेर्ने दृष्टिकोणमा एकमत छैन । संस्थापन पक्ष पछिल्लो समय भारतप्रति आक्रामक देखिएको छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रामण र कालापानी सीमा विवादमा भारतको काँग्रेसको संस्थापन पक्षबाट चर्को विरोध भयो । जसको अग्रपंक्तिमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मा देखिएका थिए । कालापानीबारे देउवाले विरोध जनाउँदा केन्द्रीय सदस्य शेखर कोइराला प्रतिवादमै उत्रिएका थिए ।

काँग्रेसको इतिहासमा ‘भारतको विस्तारवाद, मुर्दावाद’ लेखिएका व्यानरमा भ्रातृ संस्था सडकमा देखिए । देउवाकै सुझावअनुसार सीमा विवादलाई लिएर नेविसंघले करिब एक महिनासम्म आन्दोलन गरेको थियो ।

भाजपा पूर्वअध्यक्षसमेत रहेका रक्षामन्त्री राजनाथ सिंहसँग भटेर फर्किएका वरिष्ठ नेता पौडेलले पार्टीका आन्तरिक बैठकमा देउवासँग भारत रिसाएको सन्देश सुनाएका थिए । शुक्रबार देउवा निवास बूढानीलकण्ठमा संस्थापन पक्षीय नेताको बैठकमा संस्थापनइतर पक्षको भारत साइनोका विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताले रातोपाटीसँग भने, ‘नेपालको पछिल्लो राजनीति, केही नेताहरुको भारत मोह र पार्टीको आन्तरिक विषयमा छलफल भयो ।’ ती नेताका अनुसार संस्थापन पक्षले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालाबीचको भेटवार्तालाई सहज रुपमा लिएको छैन ।

ती नेताले भने, ‘आफ्नो पार्टीबाट आप्ठ्यारो महसुस हुँदा प्रधानमन्त्रीजीले प्रतिपक्षीसँग कुरा गर्न खोज्नु स्वभाविक हो । तर काँग्रेसको आधिकारिक धारणा एउटा केन्द्रीय सदस्य (शेखर)सँग गरिनुका पछाडि आशङ्का गर्ने ठाउँ रहन्छ ।’

गत विहीबार विहान ८ बजेदेखि १०  बजेसम्म प्रधानमन्त्री ओली र नेता कोइरालाबीच कुराकानी भएको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय र देउवाको आन्तरिक गतिविधि चासोका साथ नियालिरहेका कोइरालासँग ओलीले भेटवार्ता गर्नुलाई अर्थपूण रुपमा हेरिएको छ । काँग्रेसको संस्थापन पक्षले उनीहरुको भेटवार्तालाई भारतीय दृष्टिकोणबाट व्याख्या गरेको छ । संस्थापन पक्षको विरोधको स्वर जहाँ ठोकिन्छ, त्यहाँ नै इतर पक्षका नेताहरुको हिमचिम बढ्दो छ ।

उत्तर प्रदेश मुख्यमन्त्री योगी जनकपुरधाम–जयनगर रेलमार्गको उद्घाटन र रामजानकी विवाहोत्सवका लागि ०७५ मंसिर २६ गते जनकपुर आउने कार्यक्रम तय भयो । प्रदेश दुई सरकार त्यसको तयारीमा लाग्यो । तर काँग्रेस उपसभापति निधिले सार्वजनिक रुपमै योगीको भ्रमणको उद्देश्यप्रति प्रश्न उठाए । योगीको विवादास्पद राजनीतिक पृष्ठभूमिप्रति लक्षित गर्दै उनले योगीलाई किन आमन्त्रण गरेको भनेर स्पष्टीकरण खोजे ।

रेलमार्गको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी आउने भनिएको थियो । तर, मोदीको भ्रमण रद्द भएपछि योगीले रेलवे उद्घाटन भनिएपछि निधिले चेतावनी दिएका थिए । ‘राज्यको एउटा मुख्यमन्त्रीलाई ल्याएर मुलुकै दूरगामी प्रभाव पार्ने ठूलो आयोजनाको उद्घाटन गराउन खोजिएको हो भने आपत्तिजनक छ,’ निधिको भनाइ थियो । यता, काँग्रेसले पनि आधिकारिकरुपमै पत्रकार सम्मेलन गरेरै विरोध जनाएको थियो । विरोधपछि योगी रामजानकी विवाह महोत्सवमा सहभागी मात्र भएका फर्किएका थिए ।

‘योगी नेपालमा हिन्दू राज्य र राजतन्त्र पुनर्बहाली गराउन खोज्ने व्यक्ति हुन् । यसले नेपालमा राजनीतिक अस्थिरता ल्याइदिन सक्छ,’ निधिको भनाइ थियो । योगीले पनि निधिको भनाइलाई बल पु¥याउने गरी अभिव्यक्ति दिँदै आएका छन् । लखनऊमा ९ असार २०७६ मा योगीले नेपाल फेरि हिन्दू राज्य भएको हेर्ने आफ्नो चाहना भएको बताएका थिए । हिन्दू राज्य बन्नेतर्फ अग्रसर भए बहुसङ्ख्यक भारतीय जनता नेपालको पक्षमा उभिने उनको भनाइ थियो । नेपाली पत्रकारहरूसँगको कुराकानीमा पनि उनले भनेका थिए, ‘हिन्दु राज्य हुँदा नेपाललाई ठूलो फाइदा छ । सय करोडभन्दा बढी हिन्दू भएको भारतका बासिन्दा पनि यही चाहन्छन् ।’ हिन्दू राज्य बनाउन सके विश्वमा नेपालले आफ्नो अस्तित्व अलग्गै बनाउन सक्ने उनको भनाइ थियो ।

बेला बखत हिन्दु राज्यको चर्चा गर्दै आएका काँग्रेस महामन्त्री कोइरालाले फागुन १ गते योगीसँग गरेको भेटवार्ताको यतिबेला काँग्रेस वृत्तमा चर्चा छ । यद्यपि पछिल्लो समय शशांकले हिन्दु राज्य नभइ धार्मिक स्वतन्त्रता आफ्नो एजेण्डा रहेको बताउँदै आएका छन् । तैपनि उनीहरुबीचको भेटलाई पार्टीको आगामी महाधिवेशन र ‘हिन्दु राज्य’ को मुद्दासँग जोडेर हेर्ने थालिएको छ ।

उत्तरप्रदेशमा कोइराला इन्डिया फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान र नेपाल–भारत च्याम्बर अफ कमर्स इन्डस्ट्रीले संयुक्त रूपमा माघ २९ देखि फागुन १ सम्म आयोजना गरेको कार्यक्रममा शशांकका विश्वास पत्रसमेत रहेका महामन्त्रीका आकांक्षी मिनेन्द्र रिजाल पनि सहभागी थिए । आयोजकले योगी सहभागी हुने कार्यक्रममा शशांक र रिजाललाई बोलाउनु पनि अर्थपूर्ण रहेको बताइएको छ । कार्यक्रममा शेखर कोइरालालाई पनि बोलाइएको थियो । तर उनी निर्धारित कार्यक्रमका कारण सहभागी हुन सकेनन् ।

यद्यपि नेपाल र भारतबीचको बहुपक्षीय विषयमा भएको संवाद कार्यक्रममा अन्य राजनीतिक दलका नेतासमेत सहभागी थिए । कार्यक्रमपछि शशांक र योगीबीच छुट्टै भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पार्टीको आसन्न महाधिवेशन र नेपालको पछिल्ला घटनाक्रमबारे कुराकानी भएको रिजालले बताउँदै आएका छन् ।

पार्टी पंक्तिबाट कालापानी सीमा विवाद समाधानका लागि सरकारलाई दबाब दिएरहेका बेला रक्तचाप स्थिर नभएको भन्दै वरिष्ठ नेता पौडेल अल इण्डिया मेडिकल इन्स्टिच्यूटमा उपचार गर्न भन्दै दिल्ली उडेका थिए ।

दिल्ली पुगेको भोलिपल्टै भाजपा भारतका रक्षामन्त्री सिंहसँग उनकै कार्यकक्षमा पौडेलले भेटघाट गरेको तस्वीर सार्वजनिक भयो । एक हप्ताको भारत बसाइमा नेता पौडेलले भाजपा अरु नेताहरुसँग पनि भेटघाट गरे । तर त्यसपछि भने तस्वीर सार्वजनिक गरिएन ।

यता, पछिल्लो समय भारतको रोजाइमा पनि सस्थापनइतर कै नेताहरु परेको देखिन्छ । पछिल्लो समय देउवाका लागि भारत जाने साइत जुरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप