शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्राफिक बत्तीले दुर्घटना कम गर्नमा सहयोग गरेको छ : सीताराम हाछेथु

शनिबार, १७ फागुन २०७६, १८ : ०१
शनिबार, १७ फागुन २०७६

ट्राफिक बत्ती सञ्चालनमा आउँदा पनि ट्राफिक प्रहरीको आलोचना हुन छोडेको छैन । पहिला ट्राफिक बत्ती नहुँदा पनि ट्राफिक प्रहरीको आलोचना हुन्थ्यो । ट्राफिक प्रहरीले पछिल्लो समय काठमाडौँ उपत्यकाको ११ ठाउँमा ट्राफिक बत्ती जडान गरेर सञ्चालनमा ल्याएको छ । झनै ट्राफिक बत्तीको कारण उपत्यकामा जाम बढेको जनगुनासो छ । यसै सन्दर्भमा रहेर अवकाश प्राप्त प्रहरी निरीक्षक (इन्सपेक्टर) सीताराम हाछेथुसँग गरिएको कुराकानीको सम्पादित अंशः

ट्राफिक बत्तीको कार्यान्वयनले उपत्यकामा झनै जाम बढेको जनगुनासो छ नि ?
विश्वमै ट्राफिक व्यवस्थापनमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने भनेको ट्राफिक बत्ती नै हो । ट्राफिक बत्तीले सडक अनुशासन र दुर्घटना कम गर्नमा सहयोग पुर्‍याउँछ ।  

काठमाडौँ उपत्यकामा १२ लाखभन्दा बढी सवारी साधन गुड्छ र ४० लाखभन्दा बढी मान्छे बसोबास गर्छन् । यस्तो परिस्थितिमा ट्राफिक लाइट कम सङ्ख्यामा प्रयोग हुनुले ट्राफिक व्यवस्थापनमा असर गरेको छ । 

अहिलेको प्रविधि युगमा पनि ट्राफिक प्रहरीले हातको इसाराले ट्राफिक व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ । ट्राफिक लाइट उपत्यकाको चोक–चोकमा आवश्यक छ । ट्राफिक लाइटले सवारी चलाउने र बाटो क्रस गर्ने दुवैलाई सहज पुर्‍याउनेछ । 

८० ठाउँमा ट्राफिक लाइट हुनुपर्नेमा हामीकहाँ जम्मा ११ ठाउँमा मात्रै ट्राफिक लाइट प्रयोग भएकाले जाम भएको देखिन्छ । सम्बन्धित निकायको चासो नभएका कारण भक्तपुरमा पाँच ठाउँमा भएको ट्राफिक लाइटमध्ये एक ठाउँमा मात्र सञ्चालनमा छ । यस्तै ललितपुरमा एउटा पनि ट्राफिक लाइट सञ्चालनमा आएको छैन । 

ट्राफिक लाइट जडानको सबै जिम्मा सडक विभागलाई दिइएको कारण पनि ट्राफिक प्रहरीले चाहेर पनि केही गर्न नसकेको अवस्था छ । स्थानीय सरकारले ट्राफिक लाइटको व्यवस्थापन गर्ने भनेर चुनावी घोषणापत्रमा प्रतिबद्धता जनाए पनि अहिलेसम्म कसैले चासो दिएका छैनन् । 

ट्राफिक गल्ती गर्नेलाई जनचेतना आवश्यक कि जरिवाना बढाउन आवश्यक ?
सर्वप्रथम जनचेतनाको कमीले गर्दा ट्राफिक गल्ती हुने गरेको देखिन्छ । हामी कहाँ कुनै स्कुल कलेजमा ट्राफिक शिक्षा नै छैन । सबै स्कुलमा डान्स शिक्षक, गायन शिक्षकलगायत छन् तर अत्यावश्यक ट्राफिक शिक्षक भने छैनन् ।  
आफू बच्ने र अरूलाई बचाउने महत्त्वपूर्ण कुरामा पनि हामी ध्यान दिँदैनौँ । लाखौँ खर्च गरेर डाक्टर, इन्जिनियर, बिजनेस म्यान, पाइलट पढाइन्छ । तर सडकमा कसरी बाटोमा हिँड्ने तथा बाटो कसरी क्रस गर्नुपर्छ र कसरी सवारी चलाउनुपर्छ भन्ने कुराहरु सिकाइँदैन । ट्राफिक शिक्षाका लागि एक रूपैयाँ पनि खर्च गर्न कोही तत्पर छैनन् । 

समुदाय–प्रहरी साझेदारी अन्तर्गत ट्राफिक प्रहरीले स्कुल, कलेजलगायत अन्य ठाउँमा ट्राफिक नियमबारे कक्षा दिँदै आए पनि अपर्याप्त छ । त्यसकारण अब सबै स्कुल कलेजमा सरकारले अनिवार्य रूपमा ट्राफिक शिक्षा दिन आवश्यक छ ।

कम जरिवानाले गल्ती दोहोर्‍याई तेहेर्‍याई गरेको पाइएको छ । जसले गर्दा सवारी दुर्घटना बढेको छ । त्यसैले ट्राफिक गल्ती गर्नेलाई जरिवाना पनि बढाउनुपर्छ ।

उपत्यकामा अहिले ट्राफिक व्यवस्थापनको अवस्था कस्तो छ ? 
पहिलेको तुलनामा धेरै सुधार छ । दुर्घटनामा पनि कमी आएको छ । पहिला प्रति महिना सरदर २२ जनासम्मको मृत्यु हुन्थ्यो भने अहिले ११÷१२ जना । ट्राफिक जनचेतनाको व्यापक वृद्धि र ट्राफिक नियम कडा भएको कारण यो दर घटेको हो । 

ट्राफिक नियम कडा हुँदा डीआईजीदेखि नेपाल सरकारका सचिवलाई ट्राफिक कारबाहीको दायरमा ल्याइएको छ । त्यस्तै पूर्वयुवराज पारस शाहलाई पनि ट्राफिक कारबाहीको दायरामा ल्याइएको थियो । 
जनतालाई पनि थाहा भयो कि ट्राफिक नियम भनेको हाम्रै लागि हो । त्यसैले ट्राफिक नियम पालना गर्नुपर्छ भन्ने भावना सर्वसाधारणमा वृद्धि भएको छ । 

समुदाय–प्रहरी साझेदारीअन्तर्गत महानगरीय ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकालको पहलमा ल्याइएको ‘ट्राफिक उज्यालो’ अभियानले पनि सर्वसाधारणलाई सकारात्मक सन्देश दिएको छ ।

सडकमा कोरिएको पहेँलो धर्सा बाहिर किन पार्किङ गर्न दिइन्छ ?
सडकमा सवारी अचानक बिग्रियो र दुर्घटना भयो भने पहेलो धर्सा बाहिर पार्किङ गरिन्छ । 

तर हामी कहाँ पार्किङको असुविधा रहेको भन्दै पहेँलो धर्सा बाहिर पनि पार्किङ गर्ने क्रम बढ्दो छ । सम्बन्धित निकायले बेलैमा पार्किङको व्यवस्था गरेर पहँेलो धर्सा बाहिर पार्किङ निषेध क्षेत्र बनाउनुपर्छ । 
यहाँ सडकमै आफ्नै ग्यारेजजस्तो बनाएर बिहानदेखि बेलुकासम्म पार्किङ गरेको देखिन्छ । त्यसैले पार्किङ गर्ने समय पनि फरक–फरक हुनुपर्छ । पार्किङको समस्या हुने ठाउँमा सडकमै १२ बजेदेखि ३ बजेसम्मका लागि ठाउँ हेरेर व्यवस्था गर्न सकिन्छ । 

बुँदागत रूपमा उपत्यकामा ट्राफिक जाम कम गर्न के गर्न सकिन्छ ?
१. मुख्य–मुख्य चोकमा ट्राफिक लाइट हुनुपर्छ । 

२. वानवेको विस्तार गर्नुपर्छ । 

३. फ्लाईओभर ब्रिज हुनुपर्छ । 

४. बढी बाटो काट्ने ठाउँमा आकाशे पुलको व्यवस्था । 

५. पार्किङको उपयुक्त व्यवस्था ।

६. उपत्यकाको रिङरोडभित्र नाराजुलुस, आमसभा, म्युजिकल कार्यक्रम गर्न दिनुहुँदैन । 

७. नयाँ नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । 

८. हरेक चोकमा सीसीटीभी क्यामेरा हुनुपर्छ । 

९. दक्ष ट्राफिक प्रहरी परिचालन गर्नुपर्छ । 
१०. सर्वसाधारण तथा सम्पूर्ण सवारी चालकलाई ट्राफिक जनचेतनाको आवश्यक ।

सडक चौडा गर्दा पनि ट्राफिक व्यवस्थापन किन सहज नभएको होला ?
सडक चौडा बनाउनु भनेको ट्राफिक व्यवस्थापनमा सहज पुर्‍याउनु हो । तर यहाँ घरलाई भत्काएर चौडा पार्ने ठाउँमा फेरि सवारी पार्किङ गरेर साँघुरो पारेको देखिन्छ । 

सडक भनेको सवारी साधन गुड्नका लागि हो, पार्किङका लागि होइन । पार्किङका लागि स्थानीय सरकारले नै छुट्टै बहुतले पार्किङ, अन्डरग्राउन्ड पार्किङ र निजी क्षेत्रलाई पनि कर कम गराएर पार्किङका लागि प्रोत्साहित गर्नुपर्छ । 

अहिले वर्कसप, होटल, अस्पताल, ठूला–ठूला मल, पार्टी प्यालेसहरुले सडकमै पार्किङ गराएर व्यवसाय गरिरहेको छ । अब सम्बन्धित निकायले पसल, अफिस, अस्पताल खोल्नका लागि पहिला पार्किङको सुविधा छ÷छैन हेरेर मात्र स्वीकृति दिनुपर्छ । 

फुटपाथ केका लागि बनाइन्छ र मापदण्ड कति हुनुपर्छ ?
फुटपाथ भनेको सुरक्षित यात्रा गर्न सर्वसाधारणको लागि सडक छेउमा बनाइएको बाटो हो । हामीकहाँ फुटपाथ बिना सवारी जाम खोल्नको लागि सडक बनाइएको हुन्छ, जसले गर्दा सर्वसाधारणलाई हिँडडुल गर्न धेरै समस्या छ । 

कुनै ठाउँमा २ फिट मात्र फुटपाथ, कुनै ठाउँमा रूख रोपेर साँघुरो, कुनै ठाउँमा बिजुलीको खम्बाहरु, कुनै ठाउँमा निर्माण सामग्रीहरु थुपारेको, कुनै ठाउँमा फुटपाथ पसल राखेको, कुनै ठाउँमा फुटपाथ नभएको सडक मात्र बनाइएको कारण सुरक्षित यात्रा गर्न सर्वसाधारणलाई असहज भएको र दुर्घटना पनि बढेको पाइन्छ । 

जस्तै एक उदहारण...
मङ्सिर ३० गते बूढानीलकण्ठ नगरपालिका–५ मा गोरखाकी लिला देवकोटालाई फुटपाथमा हिँडिरहेको बेला बा१४च ६१२३ नम्बरको कारले ठक्कर दियो । साँघुरो फुटपाथमा बिजुलीको पोल रहेको कारण देवकोटा सडक किनाराबाट हिँडिरहेकी थिइन् । 

कारको ठक्करबाट गम्भीर घाइते भएकी देवकोटाको उपचारको मृत्यु भयो । चालकले मादक पदार्थ सेवन गरी अत्यधिक गतिमा कारलाई हुइँक्याउँदा उक्त घटना भएको प्रहरीको दाबी छ । 

कम्तीमा फुटपाथ बनाउँदा ७ फिटको चौडाइ हुनुपर्छ । तर हामी कहाँ सडकमा चौडाइ बढाउन खोज्ने र फुटपाथमा हिँड्नेका लागि सम्बन्धित निकायको नै ध्यान पुगेको छैन । सडक बनाउने ठाउँमा फुटपाथ अनिवार्य रूपमा भएपछि सडक बनाउने स्वीकृति दिनु आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप