शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यालय स्थापनाको २६ औँ वर्षमा पहिलो वार्षिकोत्सव !

शनिबार, १७ फागुन २०७६, १७ : ४०
शनिबार, १७ फागुन २०७६

चितवनको इच्छाकामना  गाउँपालिका–६ स्थित देवी भञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा  अभिभावकले भरिए । दुलहीजस्तै विद्यालय सिङ्गारिएको थियो । 

स्थापनाको २६ औँ वर्षपछि शुक्रबार अभिभावक एकसाथ उपस्थित भएको  पहिलोपटक हो । अधिकाशं चेपाङ समुदायका बालबालिका अध्ययनरत उक्त विद्यालयले अहिलेसम्म वार्षिकोत्सव तथा अभिभावक दिवस नमनाएको विद्यालय  व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर चेपाङले जानकारी दिए । उनका अनुसार विद्यालयले आफ्नो स्थापनाको २६ वर्षपछि पहिलोपटक वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । समारोहमा अध्यक्ष चेपाङले भने, “विद्यालय स्थापना  भएको पनि यतिका वर्ष भइसकेछ, तर हामीले पहिलोपटक वार्षिकोत्सव मनाएका छौँ, आज निकै  खुशी  लागेका  छ ।” उनले  विद्यालयलाई यहाँसम्म  ल्याउन साथ र सहयोग गर्ने व्यक्ति सङ्घसंस्था सबैलाई धन्यवाद दिए ।   

चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले शिक्षाको गुणस्तर बढाउनतर्फ  ध्यान दिनुपर्नेमा जोड दिए । 

वडाध्यक्ष भूपेन्द्र चेपाङले जनचेतनाको कमीका कारण शुरुका दिनमा विद्यालय सञ्चालनमा कठिनाइ भए पनि पछिल्लो समय सहयोगी संस्थाका कारण केही सहज भएको  बताए। विद्यालयका  संस्थापक  प्रधानाध्यापक गोपी सिलवालले विद्यालय निकै कठिनाइका साथ स्थापना गरिएको  जानकारी दिए  । 

विद्यालयलाई  सहयोग गर्दै आएका  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्णज्यु ठकुरी, वाल्मीकि शिक्षा सदन भरतपुरका प्रधानाध्यापक लक्ष्मीकान्त चालिसे, सर्वोच्च अदालत बार एशोसिएशनका उपाध्यक्ष राजु खड्का, लायन्स क्लब अफ चितवन सिटीका पूर्व अध्यक्ष, मिसिका फाउन्डेशनका अध्यक्ष मधुसुदन अर्याल, हेल्पकोड नेपालका शिला देवकोटा, आरआर एनका बिरु गुरुङ विद्यालयका पूर्व प्रअ  सिलवाल र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले शिक्षा नै विकासको पूर्वाधार भएको धारणा राखेका थिए । 

चेपाङ बालबालिकाका नृत्यले सहभागीलाई आकर्षित गरेको थियो । सेन्चुरी कमर्सियल बैंक वाग्मती प्रदेश इञ्चार्ज शङ्कर केसी तथा बेलचोक शाखाका प्रबन्धक गणेश शर्माले विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेका थिए । यस  विद्यालयमा १२० चेपाङ विद्यार्थी अध्ययनरत रहेको  प्रधानाध्यापक ज्ञानु पाण्डेले जानकारी दिए ।  
    विद्यालयमा विभिन्न सङ्घसंस्थाबाट दैनिक खाजाको व्यवस्था  गरिएको छ । साथै शैक्षिक समग्रीलगायत सहयोग गरिरहेका  छन् । रासस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप