शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा अनुभवी जनशक्तिको अभाव

शनिबार, १७ फागुन २०७६, १७ : ०९
शनिबार, १७ फागुन २०७६

काठमाडौं । स्थानीय तहमा अनुभवी जनशक्तिको अभाव हुँदा न्यायिक समितिको प्रभावकारिता कमजोर देखिएको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । 

‘स्थानीय सरकारको न्यायिक समितिको प्रभावकारी सञ्चालन’ सम्बन्धमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधिहरुले अनुभवि जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या देखिएको गुनासो गरेका हुन् । 
बाग्लुङ जिल्ला गलकोट नगरपालिकाकी उपमेयर तथा न्यायिक समितिका संयोजक रेनुका काउचाले अनुभवि कर्मचारीको अभाव र नयाँ संरचना र जनप्रतिनिधि पनि नयाँ हुँदा न्यायिक समितिको काममा प्रभाव परेको बताइन् । 
उनँले न्यायिक समितिमा आउने मुद्याहरु मेलमिलाप केन्द्रमा सिफारिस गर्नुपर्ने र केन्द्रले निवेदन मिलाई फेरी न्यायिक समितिमा पठाउँदा काम गर्न असहज भइरहेको बताइन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त पौडेलले न्यायिक समितिलाई कानूनी कार्यविधिका विषयमा पूर्ण जानकारी नहुने भएकाले कानून जानेको कर्मचारी आवस्यक रहेको बताए । उनले संघीय निजामति सेवा ऐन र प्रदेश तथा स्थानीय तहका सेवा सम्बन्धी ऐन नबन्दा जनशक्ति अभाव भएको बताए । उनले ऐन बनेपछि स्थानीय तहले आफुलाई आवस्यक भएको जनशक्ति आफै भर्ना गर्न सक्ने बताए । 

चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले स्थानीय तहका अध्यक्ष उपाध्यक्ष, मेयर उपमेयर फरक राजनीतिक दलको प्रतिनिधि भएका ठाउँमा न्यायिक सम्पादनमा एक अर्काले असहयोग गर्ने गरेकाले समस्या आउने गरेको बताए । त्यस्तै स्थानीय तहमा रहेका न्यायिक समितिका सदस्यहरुलाई तालिम प्रदान गर्ने संस्था धेरै भएको र तालिममा एकरुपता नहुँदा समेत न्याय सम्पादनमा समस्या देखिएको बताए । 

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले स्थानीय तहमा न्यायिक समिति निर्माण गर्ने विषय संविधान मै उल्लेख भएकाले न्यायिक समितिले काम गर्न कानून पर्खनुपर्ने अवस्था नरहने बताए । 
पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले संविधानको उद्देश्य न्याय गर्नु भएकाले न्याय समितिको व्यवस्थापन सजिलो नभएको बताए । उनले न्याय समितिको व्यस्थापन गर्न पूर्वाधार नभइकन, अनुभव नभइकन, संरचना तयार नगरिकन र ऐन कानूनका प्रकृयाहरु पनि प्रयाप्त तयार नगरिकन कठिन भएको बताए । 
कार्यक्रममा स्थानीय तहमा रहेका न्यायिक समितिहरुले कसरी काम गरिरहेका छन भन्ने सम्बन्धमा छलफल भएको थियो । त्यस्तै न्यायिक समितिका समस्या र चुनौतिहरुका विषयमा स्थानीय जनप्रतिनिधिहरुले आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप