बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्याग्दीको बेनीमा दूध प्रसोधन उद्योग सञ्चालनमाः कृषकमा खुशियाली

शनिबार, १७ फागुन २०७६, १७ : ०४
शनिबार, १७ फागुन २०७६

म्याग्दीको बेनीमा दूध प्रसोधन उद्योग सञ्चालनमा आएको छ । 

धौलागिरि डेरी उद्योगले औपचारिक क्षेत्रमा उत्पादन हुने दूधलाई संकलन गरी दूध कम उत्पादन हुने स्थानमा पठाउनका लागि दूध प्रसोधन उद्योग सञ्चालनमा ल्याएको हो । 

दूध प्रसोधन उद्योग सञ्चालनमा आएपछि उपभोक्ताले अब स्वच्छ र गुणस्तरीय दूध उपभोग गर्न पाउनुका साथै खपत नभएको दूध बिक्री नहुने समस्याबाट यहाँका कृषकले मुक्ति पाएका छन् । 

गण्डकी प्रदेशको पशु विज्ञ तथा मत्स्य विकास निर्देशनालयको सहयोगमा दूध प्रसोधन उद्योग सञ्चालन गरेको सञ्चालक वीरेन्द्र उपाध्यायले बताए । रु २८ लाखको लगानीमा स्थापित उद्योगमा जडित उपकरण खरिदमा निर्देशनालयले चालीस प्रतिशत अनुदान उपलब्ध गराएको उनले जानकारी दिए । किसानले उत्पादन गरेको दूध प्रसोधन गरेर विभिन्न दूग्धजन्य पदार्थ उत्पादन गर्न सकिने सञ्चालक उपाध्यायले बताए । 

उद्योगमा एक घण्टा दूध चिस्याएपछि ७५ घण्टासम्म सुरक्षितरुपमा भण्डारण गर्न सकिन्छ । म्याग्दीमा यसअघि यस्तो सुबिधा थिएन् । उद्योगमा दूधको गुणस्तर परीक्षण गर्ने अत्याधुनिक एनालाइजर मेसीनसमेत जडान गरिएको छ । प्याकेजीङ गर्ने उपकरण पनि छ । 

पासराइजीङ, आइक्रिम, मिल्क क्यान, क्रिम सेपरेटर, पनिर बनाउने मेसिन पनि उद्योगमा राखिएको छ । किसानले ल्याएको दूध पाइपमार्फत उद्योगको क्यानमा खनाउन सकिन्छ । उद्योगको क्षमता ५०० लिटरको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा बेनीकै दोभान कृषि सहकारी संस्थाले मङ्गलाघाटमा पनि दूध सङ्कलन तथा प्रसोधन उद्योग सुरु गरेको अध्यक्ष अमृतादेवी बानियाले बताइन् । 

खपत नभएको दूधलाई प्रसोधन गरेर घीउ, पनिर, दही र छुर्पी बनाउने सञ्चालक उपाध्यायले बताए। दैनिक तीन हजार लिटर दूध खपत हुने बेनीमा जिल्लाका कृषकले दुई हजार लिटरको हाराहारीमा आपूर्ति गर्दै आएका छन् । 

पछिल्लो समय बेनी आसपासका क्षेत्रमा व्यवसायिक गाईभैँसीपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै दूधलाई बजारको समस्या थियो । प्रसोधन उद्योग सञ्चालन भएपछि बिक्री र खपत नभएको दूध बोकेर घर फर्कनुपर्ने समस्या हट्ने कृषक सुरेश ढुङ्गानाले बताए ।

पहाडी जिल्ला म्याग्दीमा व्यावसायिक गार्ईभैँसीपालनमा कृषकको आकर्षणसँगै दूध उत्पादन बढ्दै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप