शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जसले आफ्नै लागि विद्रोह गरिन्

शनिबार, १७ फागुन २०७६, १५ : ०३
शनिबार, १७ फागुन २०७६

काठमाडौँ । कहिलेकाहीँ सन्तानको रुचिमा आमा–बुवाको चित्त बुझेको हुँदैन भने कहिलेकाहीँ आमा–बुवाको रुचिमा सन्तानको चित्त बुझेको हुँदैन । 

आमा–बुवाले सन्तानका लागि एक थोक सोचेका हुन्छन् भने सन्तान अर्कैमा रमाइरहेका हुन्छन् । यद्यपि रुचि र अरुचिकै बीचमा कोही सफल भयो भने एक अर्कालाई स्वीकारेका उदाहारण धेरै छन् ।

त्यस्तै भयो, गायिका अञ्जु यादवको जीवनमा । एक समय अञ्जुलाई गायन क्षेत्रमा प्रवेश गर्नका लागि पुरै बन्देज लगाएका उनका आमा–बुवा अहिले अञ्जुप्रति गर्व गर्छन् । जतिबेला गायन क्षेत्रमा प्रवेशका लागि अञ्जुले मरिहत्ते गरिरहेकी थिइन्, त्यतिबेला उनका आमाबुवाले बोलचाल समेत बन्द गरिसकेका थिए ।

गायन क्षेत्रमा रहेको रुचि पूरा गर्नका लागि अञ्जुले घर परिवारसँगै विद्रोह गरिन् । र, सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियास्थित घर छाडेर आफ्नो क्यारियरका लागि उनी राजविराजमा बस्न थालिन् । उनी आफ्नो पथमा निरन्तर हिँडिन् । गायन क्षेत्रमा आफ्नो संघर्षका पाइला अघि बढाउन थालिन् । आफ्नो स्वरले विस्तारै विस्तारै सबैको मन जित्दै गइन् तर मधेशी समाजले त्यसलाई पचाउन सकिरहेको थिएन । स्टेजमा गीत गाएका देखेर गाउँका मान्छेले उनका बुवालाई अनेकथरी सुनाउन जान्थे । 

तेरो छोरी नटुवा (नाच्ने, गाउने) भइन् भनेर कतिपयले कुरा काट्ने गर्दथे । अझै पनि तराई मधेशतिर छोरी चेलीबेटी स्टेजमा गीत गाउँदा राम्रो मानिँदैन । गाउँका मान्छेले कुरा काट्दा उनको बुवालाई चित्त दुख्थ्यो तर छोरीलाई केही भन्न सक्दैनथे । 

घर परिवारसँगै विद्रोह गरेर कसैको परवाह नगरी गायन क्षेत्रमा निरन्तर होमिएकी अञ्जु अहिले नाम चलेकी गायिका भएकी छिन् । त्यतिमात्र होइन, उनी सामाजिक अभियन्ता पनि भएकी छिन् । उनी आफैँ दाइजोविना विवाह गरेर समाजमा उदाहरणीय बनेकी छिन् । 

तराई मधेशमा व्याप्त दाइजो कुप्रथा तथा बालविवाह निर्मुल पार्ने अभियानमा लागेकी गायिका अञ्जु फागुन ७ गते वैवाहिक बन्धनमा बाँधिएकी छिन् । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वैवाहिक समारोहस्थलमै पुगेर अञ्जुलाई शुभकामना दिएका थिए ।

 मुख्यमन्त्री राउतले तराई मधेशमा छोरीलाई हेर्ने दृष्टिकोण फरक रहेकाले छोरीलाई शिक्षित बनाएर यसरी नै दाईजोविनाको विवाहलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा समेत अञ्जुको विवाहले सघाउ पुगेको छ । 

६ सयभन्दा बढी गीत
६ वर्षकै उमेरदेखि गायन क्षेत्रमा लागेकी यादवले अहिलेसम्म मैथिली, नेपाली, हिन्दी, थारु, भोजपुरी, राजवंशीसहितका भाषा गरी ६ सयभन्दा बढी गीत रेकर्ड गरिसकेकी छिन् । 

एक समयमा ‘फलानोको छोरी त नटुवा भयो रे, यादवको छोरी स्टेजमा खुलमखुल्ला गीत गाउँछिन् रे, यादवको जातिको त नाकै कट्यो रे’ जस्ता टिका टिप्पणी खेप्ने गरेकी अञ्जु अहिले त्यही समाजमा उदाहरणीय बनेकी छिन् । ‘ती टिकाटिप्पणीहरु सुन्दा त कहिलेकाहीँ दिक्क लाग्थ्यो, बेकारै यतातिर लागेँजस्तो पनि मनमा हुन्थ्यो’ उनले सुनाइन् ।

तर उनलाई ती टिकाटिप्पणीसँग मुकावला गर्न र भरोसा दिने व्यक्तित्व थिए श्यामसुन्दर यादव । श्यामसुन्दर नाम चलेका पत्रकार हुन् । तराई मधेशको पत्रकारिता तथा साहित्य क्षेत्रमा नाम कमाउन सफल श्यामसुन्दर यादव नभएको भए सायद अञ्जु यादव आजको अवस्थामा आउन सक्ने थिइनन् ।

श्यामसुन्दरको सहयोग
अञ्जु अहिले पनि सम्झिन्छिन्, ‘श्यामसुन्दर भाइजी (दाजु)ले नै आफ्नो काखमा लिएर गीत गाउन स्टेजमा पु¥याउनु हुन्थ्यो, मलाई गीत गाउने इच्छा नहुँदा नहुँदै पनि श्यामसुन्दर भाइजीले कर गरेर गाउन लगाउनु हुन्थ्यो, कार्यक्रमहरुमा लग्नु हुन्थ्यो । आज म जे छु, भाइजीकै कारण छु ।’

स्कूल तथा साना कार्यक्रमहरुमा गीत गाउँदासम्म उनका आमाबुवा पनि खुशी थिए । तर जब ठूला ठूला स्टेज शो गर्न थालिन्, अनि आमाबुवाले मन पराउन थाल्नु भएन । 

उनका आमाबुवाको इच्छा छोरीले पढेर अर्कै काम गरोस् भन्ने थियो । गीत संगीतमा नजाओस् भन्ने नै आमाबुवाको इच्छा थियो । किनकि मधेशी समाजमा गीत संगीतमा लाग्ने, कला क्षेत्रमा लाग्ने, फिल्मी क्षेत्रमा लाग्ने कुनै पनि महिलालाई रुचाउँदैनन् ।

अञ्जुले भारतको बिहार राज्यमा पर्ने मधुवनी, दरभंगा लगायत नेपालको काठमाडौँ, बुटवल, जनकपुर, गाईघाटमात्र नभई विदेशमा पनि आफ्नो कला प्रस्तुत गरेकी छिन् । एउटा रोचक घटना सुनाउँदै अन्जुले भनिन्, ‘भारतको चरौटमा एउटा साँस्कृतिक कार्यक्रम थियो । सो कार्यक्रममा धेरै कलाकारहरु सहभागी थिए । तर मैले एउटा गीत गाएपछि दर्शकले रातभरि मलाई नै गीत गाउन लगाए ।’

बजारको अभाव
मैथिली गीत संगीतमा बढी रुचि राख्ने अञ्जुको अनुभवमा मैथिली गीत तथा संगीतको बजार राम्रो छैन । मैथिली फिल्म, गीत तथा एल्बमहरुमा लगानीकर्ताको अभाव छ । कोही कसैले ढुक्क भएर लगानी गर्न चाहेको छैन । मैथिली समाजमा पनि हिन्दी तथा भोजपुरी गीत संगित सुन्न मन पराउँछन् तर मैथिली गीत सुन्दैनन् । 

‘मैथिली समाजमा महिलालाई काम गर्न निकै गाह्रो छ । समाज पोजेटिभ छैन,’ उनी भन्छिन्, ‘तर निराश हुने अवस्था छैन । शिक्षित समाजले विस्तारै स्वीकार गर्दै आइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप