शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मार्क्सवाद र मेरी आमा

शनिबार, १७ फागुन २०७६, ११ : ५०
शनिबार, १७ फागुन २०७६

-डा. अच्युतशाली घिमिरे

मेरी आमा
लेक–बेँसी गर्दा 
फुटेका कुर्कुचाहरु
बुझ्दछिन्,
दुब्ला ख्याउटे आफ्ना
सन्तानहरु बुझ्दछिन्,
वन, पहाड र झोपडी बुझ्दछिन्,
बिहान बेलुका खाने सिस्नो र ढिँडो पनि बुझ्दछिन्,
तर खै किन ?
मार्क्सवाद बुझ्दिनन् ।

मेरी आमाले
चुनाव आउँदाका
ती दिनहरुमा
बारीको कान्लामा बसेर
भाषण पनि सुनेकी हुन् अरे !
सर्वहारा वर्ग
शोषित वर्ग
भूमिहीन किसान वर्ग
सायद यिनै वर्गको 
नाम जप्दै
ऊ बेलामा
भाषण सुन्दै गर्दा
आमाले घोषणापत्र पनि नपढी
सीधै भोट हालेकी हुन् रे !
हिउँदमा जमिनै नदेखिने
कठयाङ्ग्रिँदो 
तुषाराको शासनमा
कतै घाम पो लागिहाल्छ कि भनेर ।
तर,
अचेल आमाले बुझ्दै नबुझ्ने
पुँजीपति
सामन्त जमिनदार 
जस्ता शब्दहरुको
पगरी गुथी
पो हिँड्छन् 
अरे चुनाव जितेका नेताहरु !
अनि कसरी
बुझून् त मेरी आमाले मार्क्सवाद ?

मनमा भावहरु उनेर
धुलोमा अक्षर लेख्ने
मेरी आमा,
पूर्व र पश्चिममा
अस्ताउने घामलाई
घडीका सुई बनाउने मेरी आमा
टुकीको उज्यालोमा
फाटेको मन
सिलाउन खोज्ने मेरी आमा
काल कुरेर बस्ने
छाउगोठहरुमा
देउता देख्ने मेरी आमा,
हो यिनै कारणले हुन सक्छ
मेरी आमाले मार्क्सवाद बुझ्दिनन्
वा बुझ्न नै चाहिनन्
तर 
टाउकाहरु गनेर
भोट खोस्ने बेलामा
किन पढाउन सकिएन
मेरी आमालाई मार्क्सवाद ?
किन पढाउन सकिएन
वैज्ञानिक समाजवाद र
आत्मनिर्णयका अधिकार ?
किन पढाउन सकिएन
मातृ सत्ता र वर्ग सङ्घर्ष ?
के मेरो देश
अझै पनि मेरी आमालाई
आदतको दास र
चलनहरुको शिकार
भएको हेर्न चहान्छ ?

मेरी आमा
फुटेको ऐनामा
आफ्नै चेहेराको बिजोग देख्छिन्,
मेरी आमा
काला कसौडी माझ्दा माझ्दा
कुरूप भएका
ती आफ्नै निरक्षर हातहरु देख्छिन्,
मेरी आमा
भौतिक शास्त्रका विकासहरुमा
बोक्सीका रङहरु देख्छिन्,
मेरी आमा
बाबुको ज्यादतिहरूमा
लोग्नेको माया देख्छिन्,
मेरी आमा
कुचो बढार्छिन्
पँधेरा गएर पानी ल्याउँछिन्
भकारो सोहोर्छिन्
ढिकी चलाउँछिन्
जाँतो पिँध्छिन्
बिस्कुन सुकाउँछिन्
ढिँडो पकाउँछिन्
सबैलाई पेटभर खुवाउँछिन्
आफू भने भोकै उठ्छिन्
अनि संसार जितेझैँ मख्ख हुन्छिन् !
त्यसैले त
म भन्छु 
मेरी आमा मार्क्सवाद बुझ्दिनन् ।

हो, परिवारमा नै 
सदिऔँदेखि
मेरी आमाको श्रम शोषण
गर्ने मेरा बा र म लगायत
कसैले पनि
आमालाई मार्क्सवाद पढाउने 
चेष्टा गरेनौँ,
कतै,
जमानादेखि
मार्क्सवाद बुझ्ने भएका हामी,
आफ्नै घरमा
सामन्त भएर बसिरहन
चाहेका पो थियौँ कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप