शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाद मिलाउन माधव नेपालको दौडधुप, दुवै पक्षको अडान यथावत !

नेकपाको भविष्यसँग जोडिएको ‘वामदेव’ प्रकरण
शनिबार, १७ फागुन २०७६, ११ : ०५
शनिबार, १७ फागुन २०७६

काठमाडौँ । ‘केपी ओली र वामदेव गौतम नभए पार्टी ‘लुलो’ हुन्छ, नेतृत्वमा पुगे ‘धुलो’ हुन्छ’ कुनैबेला स्वर्गीय नेता मदन भण्डारीले भन्ने गरेको भनाइ हो यो । नेकपाका सबैजसो नेताहरुले आदर्श मान्ने मदनको यो भनाइ र आजको नेकपाको परिदृश्य मिल्न पुगेको छ ।

नेकपामा चर्केको विवाद, किचलो या बबण्डर जे उपमा दिए पनि यसलाई जतिसुकै लुकाउन र छिपाउन खोजिए पनि यो छताछुल्ला र छरपस्ट भइसकेको छ । किचलो वारपार नभएसम्म यसै हुन्छ भन्न सक्ने अवस्था नरहेको स्वयं नेताहरु नै बताउन थालेका छन् । त्यसैले अहिले पूर्व एमालेका केही नेताहरु उतिबेला मदनले भनेका लुलो र धुलो स्मरण गर्न बाध्य भएका छन् ।

मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद बोकेको नेकपामा हाल ओली अध्यक्ष छन् भने गौतम उपाध्यक्ष । खासगरी यिनै दुई नेताबीच देखिएको शक्ति सङ्घर्षका कारण नेकपा दोबाटोमा उभिएको यात्री सरह बनेको छ ।

नेकपा घोषणा हुँदा दुई अध्यक्ष राखिएको यो पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जेटका चालक भनियो । अहिले उनै चालक दुई कित्तामा छन् भने जेटभित्रका यात्री जहाज कसरी सेफल्यान्डिङ होला भनेर अत्तालिएका छन् । ‘जहाज जसरी ल्यान्ड गर्छ त्यसैले नेकपाको भविष्य निर्धारण गर्छ’, नेकपारूपी जहाजका लाखो यात्रु भन्न थालेका छन् ।

तीन दिनयता एक जहाजमा दुई पाइलट रहेको यो जहाजका सहचालक जस्तै रहेका गौतम एक चालक प्रचण्डसँग नजिक बनेका छन् भने अर्का चालक ओली विपरीत धु्रवमा उभिएपछि नेकपा रूपी जहाज आन्तरिक विवादमा रुमल्लिएको छ । 

प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको चाहानाविपरीत उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालयको निर्णयपछि बढेको यो विवाद तत्काल टुङ्गिने सङ्केत छैन । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका अधिकांश सदस्यहरु वामदेवका पक्षमा छन् । तर प्रधानमन्त्री ओली अहिले नै गौतमलाई राष्ट्रिय सभामा नपठाउने जोडबल गरिरहेका छन् । गौतमलाई राष्ट्रिय सभामा पठाउँदा आफ्नो भरोसा बनेका युवराज खतिवडालाई बिदाइ गर्नुपर्ने बुझाइ ओलीको छ । यसो गर्दा पार्टी र सरकारमा आफू थप कमजोर बन्ने ओलीको बुझाइ छ । यही विवादले नेकपा उत्तरचढावपूर्ण ढङ्गले अघि बढिरहेको छ । जेट हाँक्ने पाइलटहरु नै दुई कित्तामा लागेपछि भर्खर जहाज चढेका यात्रुरूपी नेकपा कार्यकर्ता संशय बेहोरिरहेका छन् ।

गत बुधबार बिहान बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई फागुन २० पछि रिक्त हुने एक मात्र राष्ट्रिय सभा सदस्य पदमा मनोनित गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । 

नेताहरुका अनुसार उक्त निर्णय सर्वसम्मत नै भएको हो । तर सर्वसम्मत निर्णय भएको दुई घण्टामै निर्णयप्रति ओलीले असन्तुष्टि जनाउँदै सरकारले गौतमलाई सिफारिस नगर्ने अडान सार्वजनिक गरे । 

‘मविरुद्ध घेराबन्दीको षड्यन्त्र भयो । यसअघि संविधान संशोधन नगरी राष्ट्रिय सभामा नजाने बताएका गौतम एकाएक कसरी अहिले जान तयार भए ? त्यसैले अब म युवराज खतिवडालाई नै निरन्तरता दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्छु’, ओलीले सोही साँझ बालुवटारमा माधव नेपाललाई बोलाएर भनेका थिए ।  

एकाएक सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्रीको यस्तो सन्देशले नेकपामा ‘हलचल’ नै पैदा भयो । 

त्यसपछि एकपक्षले अर्को पक्षलाई विभिन्न किसिमका आरोपका वर्षा लगाउन थाले । 

‘प्रधानमन्त्री ओलीले कि पार्टीको निर्णय मान्नुपर्ने कि बालुवाटार छोड्नुपर्ने’सम्मका चेतावनीहरु सार्वजनिक भए । 

बुधबार दिनभर शीर्ष नेताहरु यही विषयलाई लिएर आन्तरिक छलफलमा केन्द्रित भए । 

मध्यस्थकर्ताका रूपमा माधव नेपाल


विकसित घटनाक्रमपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई दुवै पक्षले मध्यस्थकर्ताका रूपमा रोजेका छन् । दुवैको रोजाइमा परेको नेपालले बुधबारदेखि नै आफ्नो भूमिका सक्रिय पारेका छन् । त्यसका लागि उनले ओली तथा प्रचण्ड लगायतका नेताहरुसँग पटक पटक टेलिफोन वार्ता र भेटवार्ता गरेर विवाद मिलाउने प्रयास गरिरहेका छन् । बुधबार उत्तरचढाव आउनुअघि नै बिहीबार नेकपा बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम तय भएको थियो ।

त्यो प्रशिक्षणमा ओली–प्रचण्ड दुवै अतिथिका रूपमा सहभागी भए । कार्यकर्ताहरुले यो विवादबारे ओली प्रचण्डले मुख खोल्छन् भन्ने अपेक्षा गरे पनि उनीहरुले पार्टीको सार्वजनिक कार्यक्रममा विवादको चुरो कुरो केही खुलाएनन् । 

ओली र प्रचण्डका भाषणमा उनीहरुबीच मतभेद छ भन्ने सङ्केत देखिए पनि त्यसलाई सामान्यीकरण गर्ने प्रयासमा दुवै लागेको देखिन्थ्यो । ‘कम्युनिस्ट पार्टीमा बहस र छलफल हुन्छन् । यो समान्य हो’ प्रचण्डले विवादप्रति सङ्केत मात्र गरे ।

तर ओलीले पार्टीभित्रको किचलोबारे केही बोलेनन्, खोलेनन् । बरु सरकारले राम्रो काम गरिरहे पनि आफ्नै पार्टीका नेता कार्यकर्ताले सपोर्ट नगरेको भन्दै गुनासो गर्न भ्याए । सोही कार्यक्रममा नेता नेपालले भने कुनै हालतमा आफू नेकपा विभाजन र विर्सजनको बाटोमा जान नदिने बताए । 

बिहीबारै नेता नेपालले ओली र प्रचण्ड लगायतका नेताहरुसँग पनि पुनः छलफल गरे । तर दुवै पक्षले आआफ्ना अडान छाडेनन् ।

बिहीबारको कार्यकर्ता भेलामा कुनै हालतमा पार्टी फुट्न नदिने बताएका नेता नेपालले आफ्नो प्रयास शुक्रबार पनि जारी नै राखे । शुक्रबार बिहान नेता नेपालले पहिला प्रचण्ड, झलनाथ खनाल नारायणकाजी श्रेष्ठ लगायतसँग भेटवार्ता गरेर आशय बुझेका उनले सचिवालयको निर्णयबाट कुनै हालतमा पछि हट्न नहुने सन्देश बोकेर पुनः बालुवाटार हानिए । यो विवाद र बहस चलिरहेका बेला शुक्रबारै चितवन पुगेका प्रचण्डले प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय मान्नुहुन्न भन्नेमा आफूले कल्पनासमेत नगरेको प्रतिक्रिया दिएका थिए ।  

बालुवाटारमा ओलीसँगको कुराकानीमा नेपालले मध्यमार्गी उपाय सुनाए । ‘गौतमलाई राष्ट्रियसभामा पठाउने खतिवडालाई मन्त्रीमा निरन्तरता दिने ।’ यो प्रस्तावमा ओलीले तत्काल कुनै प्रतिक्रया नजानाएर अडान कायमै राखे पनि अन्ततः यही मध्यमार्गी बाटो उपयुक्त निकासको माध्यम हुने दुवै पक्षको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप