बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

शुक्रबार, १६ फागुन २०७६, १२ : ४५
शुक्रबार, १६ फागुन २०७६

काठमाडौं : मकवानपुर, सप्तरी, नवलपरासी (पूर्व), दाङ र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित सडकमा ना.४३ प १५१७ नम्बरको मोटरसाइकललाई ना–४६ प २८११ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका ना.४३ प १५१७ नम्बरका मोटरसाइकल चालक पर्सा वीरगंज  महानगरपालिका–२३ बस्ने ३० वर्षीय अफताव आलम अन्सारीको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

साथै दुर्घटना घाइते भएका दुबै मोटरसाइकलमा सवार अन्य तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल र चुरेहिल अस्पतालतर्फ पठाइएको छ ।

सप्तरीमा हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहास्थित सडकमा ज.१ त ६६४४ नम्बरको ट्याक्टरले ना.११ प १७०४ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका  मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २० वर्षीय बिनोद खरहरीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

 दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार  हनुमाननगर कंकालिनी नगरपालिका–३ बस्ने २१ वर्षीय सलेन्द्र खरहरीको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

नवलपरासी (पूर्व), देबचुली नगरपालिका–१३ कैलाश चोक नजिक भित्री सडकमा लु.३ त ४८३३ नम्बरको ट्याक्टर र ना.५५ प ३१६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गैडाकोट नगरपालिका–१५ बस्ने २१ वर्षीय दिनेश गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको  छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गैडाकोट नगरपालिका–१५ बस्ने १९ वर्षीय प्रितम गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङ, दंगिशरण गाउँपालिका–५ बागर खोला नजिकै रा.५ प १२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–८ अस्वार बस्ने १९ वर्षीय गौरव डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

बारा, कलैया उपमहानगरपालिका–१ भरत चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुषको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । ठक्कर दिने गाडी तथा चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप