बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

युरोपा लिगः अवे गोलमा आर्सनल स्तब्ध, युनाइटेडको गोल वर्षा

शुक्रबार, १६ फागुन २०७६, ०८ : ०२
शुक्रबार, १६ फागुन २०७६

अवे गोलको आधारमा ओलम्पियाकोससँग पराजित हुँदै इङ्लिस क्लब आर्सनल युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । बिहीबार राति आफ्नो घरेलु मैदानमा सम्पन्न खेलमा १–२ गोल अन्तरले पराजित हुँदै समग्रमा २–२ को बराबरी गरे पनि अवे गोलको आधारमा आर्सनल पराजित भएको हो ।

पहिलो लेगमा १–० को अग्रता बनाएको आर्सनल दोस्रो लेगमा ५३ औँ मिनेटमा पापे अबु सिस्सेको गोलले पछि परेको थियो । निर्धारित समयमा थप गोल हुनसकेपछि खेलमा अतिरिक्त समय थप गरिएको थियो ।

खेलको ११३ औँ मिनेटमा कप्तान पिएरे एमरिक औबामियाङले गोल गर्दै खेलमा बराबरी तथा समग्रमा आर्सनललाई २–१ को अग्रता दिलाए । तर, ११९ औँ मिनेटमा युसेफ एल अरबीले गोल गर्दै खेललाई समग्रमा २–२ को बराबरीमा ल्याए ।

खेलको अन्तिम समयमा औबामियाङले गोलको लागि सुन्दर अवसर खेर फालेपछि थप गोल हुनसकेन र अवे गोलको आधारमा ओलम्पियाकोसले बाजी मार्न सफल रह्यो ।

उता, अर्को इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडले भने १० खेलाडीमा सिमित क्लब ब्रुजमाथि गोल वर्षा गरेको छ । आफ्नो घरेलु मैदानमा खेलिएको दोस्रो लेगमा युनाइटेडले ५–० को जीत निकाल्दै समग्रमा ६–१ को जीतसहित अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो ।

युनाइटेडको जीतमा फ्रेडले दुई गोल गरे भने ब्रुनो फर्नान्डेज, ओडियोन इघालो, स्कट म्याकटोमिनेले एक–एक गोल गरे ।

अन्य खेलमा गत वर्ष च्याम्पियन्स लिगको सेमिफाइनलिस्ट आयाक्स गेटाफेसँग समग्रमा २–३ ले स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । इन्टर मिलान, बायर लेभरक्युजन, एएस रोमा, वुल्फसवर्ग, वुल्भस, एफसी कोपनहेगन, एफसी बासेल, इस्तानबुल बासाक्सेइर र लास्कले पनि अर्को चरणमा स्थान बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप