शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाभित्रको रडाको : सिंहदरबार छेउमा ओली–प्रचण्डको त्यो ४ घण्टा

बिहीबार, १५ फागुन २०७६, २० : ०५
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादले केही दिनयता राजनीतिक माहोल गर्मिदो छ ।गत शनिबार र बुधबार बसेको नेकपा सचिवालयको बैठकको निर्णयले पार्टी पंक्तिमा हलचल छ ।

यही बीचमा बिहीबार सिंहदरबारको छेउमा रहेको यगम्बर पाटी प्यालेसमा नेकपाको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम तथा भेलामा भयो । कार्यक्रममको समय बिहान ११ बजेका लागि तय गरिए पनि एक घण्टा ढिलो गरी सुरु भयो ।
कार्यक्रम सञ्चालकले विभिन्न जिल्लाबाट नेता कार्यकर्ता आइपुग्न ढिला भएकाले कार्यक्रम ढिलो गरी सुरु गर्नु परेको बाध्यता सुनाएका थिए । कार्यक्रम सञ्चालकले यसो भनिरहँदा कार्यक्रममा प्रमुख अथिति र विशिष्ट  अथितिहरु भने निर्धारित समयभन्दा झण्डै २ घण्टा ढिला आइपुगेका थिए ।

कार्यक्रममा सबैभन्दा पहिला वरिष्ठ नेता माधवकुमार नेपाल आइपुगे । उनी १२ बजेतिर कार्यक्रममा पुगेका थिए भने त्यसको १ घण्टापछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगमन भयो ।
त्यहीबीचमा सचिवालय सदस्य ईश्वर पोखरेल पनि आइपुगे । अनि कार्यक्रमले औपचारिकता पायो ।

पार्टीका उपाध्यक्ष बामदेव गौतमका राष्ट्रियसभा सदस्य मनोनयन गर्ने विषयको पार्टीमा उत्पन्न विवादबारे नेतृत्व हतबाट के कुरा आउँछ भन्नेमा कार्यकर्ताहरु ३ घण्टादेखि प्रतिक्षामा बसेका थिए ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली त्यतिन्जेलसम्म पनि आइनपुगेपछि बागमती प्रदेशका सचिव आनन्द पोखरेलले कार्यक्रम अगाडि बढाए ।

बागमती प्रदेशका अध्यक्षसमेत रहेका कार्यक्रमका अध्यक्ष नारायण दाहालले कार्यक्रममा सहभागीलाई स्वागत मनतव्यमार्फत स्वागत गरे । त्यसपछि सोही प्रदेशका सह–इन्चार्ज हितमान शाक्यले आफ्नो धारणा राखे ।
त्यही बीचमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली पनि कार्यक्रममा आइपुगे । उनले सुरुमा दर्शक दिर्घामा बसेका कार्यकर्तालाई अभिवादन गरे ।  ओलीको आसनका लागि मञ्चको अग्रभागमा विशेष व्यवस्था गरिएको थियो । उनको दायाँतिर वरिष्ठ नेता नेपाल र बाँयातिर अध्यक्ष प्रचण्डको आसन थियो । मञ्चमा पुगेका ओलीले वरिष्ठ नेता नेपालसँग हात मिलाए र आफ्नो आसनमा बसे ।

बाँयातिर बसेका प्रचण्डसँग ओलीले न हात मिलाए, न बोल्ने जागर नै देखाए । त्यसपछि बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले आफ्नो सम्बोधन सुरु गरिन् । उनले अधिकांश समय सरकारको आलोचनामा खर्चिन् । शाक्य सरकारमा मात्र सिमति भइनन्, पूर्वमन्त्री गोकुल बाँस्कोटा र प्रधानमन्त्री ओलीको बर्थडे प्रकरणको विषयलाई लिएर चर्को आलोचनामा उत्रिन् ।

शाक्यले बोलि रहँदा भेलामा सहभागीहरुले उनको पक्षमा हुटिङ पनि गरे । त्यो देखेर प्रचण्ड मुस्कुराइरहेका थिए । त्यति बेलासम्म पनि ओली र प्रचण्डबीच संवादहीनता नै थियो । बरु प्रचण्डले बेला बेला पोखरेलसँग कानेखुसी गरिरहेका देखिन्थ्ये । तर ओलीले प्रचण्डबीच भने कार्यक्रमा त्यस्तो कुनै हार्दिकताको देखिएन । बरु ओली नेपालसँग भने कानेखुसी गरिहेका देखिन्थ्ये । 

करिब  ४ घण्टासम्म  चलेको कार्यक्रममा  पनि ओली र प्रचण्डबीचको हार्दिकताको आभाव देखिएको पान्थ्यो । अध्यक्षद्वय कार्यक्रमको अत्यसम्म नै त्यहाँ थिए ।


नेपाल र पोखरेल प्रधानमन्त्री ओलीले सम्बोधन नगर्दै कार्यक्रमबाट निस्किसकेका थिए । अर्कोतिर कार्यक्रमभर ओलीको मुहारमा कुनै चमक पनि थिएन । कार्यक्रम सकेर बाहिरिदा भने ओलीले प्रचण्डसँग हात मिलाउँदै धन्यवाद दिएका थिए ।

बुधबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न सिफारिस गर्न निर्णय गरेको थियो । तर उक्त निर्णयको केही घण्टामै प्रधानमन्त्री ओलीले सचिवालय निर्णय आफू मान्न बाध्यकारी नहुने संकेत देखाएका थिए । जसले गर्दा नेकपाभित्र बबन्डर मचिएको त होइन भन्ने अड्कलबाजी चलिरहेको थियो ।

यद्यपि अध्यक्षद्वय ओली र प्रचण्डका साथै वरिष्ठ नेता नेपाल पार्टीभित्रको समस्याबारे आत्तिनु पर्ने अवस्था नआएको भन्दै कार्यकर्तालाई विश्वास दिलाएका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप