बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् नेकपा गण्डकी प्रदेश कमिटी बैठकका निर्णय

बिहीबार, १५ फागुन २०७६, १८ : १३
बिहीबार, १५ फागुन २०७६

पोखरा । फागुन १३ र १४ गते पोखरामा बसेको नेकपा गण्डकी प्रदेश कमिटी बैठकले २० निर्णय सार्वजनिक गरेको छ । प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले २० बुँदामा आफ्ना निर्णय सार्वजनिक गरेको हो । 

गण्डकी प्रदेश पार्टी कमिटीका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र पार्टी केन्द्रीय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठको निर्देशनपछि सुरु भएको बैठकमा प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमाथि १२ समुह बनाएर छलफल चलाइएको थियो । छलफलपछि ग्रुप लिडरले सामुहिक सुझाव पेश गरेका थिए । उक्त समूहलाई १० मिनेटको समय सीमा तोकिएको थियो ।     

अध्यक्ष पाण्डेले प्रस्तुत गरेको प्रतिवेदनमा गण्डकी प्रदेश कमिटीले गरेका महत्वपूर्ण कामको उल्लेख साथै समीक्षा पनि गरिएको थियो । यस्तै नेकपा केन्द्रको ‘पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान’ छलफल गरिएको थियो । 

बैठकको दोस्रो दिन जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र सुखानीका सहिद, सम्पूर्ण सहिदहरुको सम्मानमा मौनधारण गरि श्रद्धाञ्जली दिइएको थियो ।  अध्यक्ष पाण्डेको राजनीतिक तथा संगठनात्मक प्रस्ताव माथि सामुहिक छलफलपछि सबै समूहका नेताहरुले सुझाव पेश गरेका थिए ।

समूहबाट उठाइएका जिज्ञाशाहरुलाई प्रष्ट पार्दै, छलफलमा उठाइएका महत्वपूर्ण विषयहरु प्रतिवेदनमा समावेश गर्ने गरि विषयहरुको प्रस्ताव अध्यक्षले बैठक सामु प्रस्तुत गरेपछि छलफल चलाइएको थियो । छलफलपछि आवश्यक परिमार्जन गरेरसर्वसम्मत रुपमा उक्त प्रतिवेदन पारित गरिएको थियो ।   

बैठकमा केन्द्रिय कमिटीले निर्देशन दिएको ३ महिने अभियानको विषयलाई महत्वका साथ लिइएको थियो । बैठकले गरेको निर्णयअनुसार चैत १ गते प्रदेशका एघारै जिल्लाका जिल्ला सदरमुकाममा सरसफाई कार्यक्रम सहितका कार्यक्रम गरेर पार्टी तथा जनसम्वन्ध विस्तार अभियानको सुरुआत गर्ने नेकपा प्रदेश कमिटीको निर्णय छ । अभियान चैत १ गतेदेखि जेठ मसान्तसम्म चल्ने छ । ३ महिनामा जिल्ला, नगर, गाउँ, वडा र टोलसम्म अभियान सञ्चालनपछि असारमा विभिन्न तहका कमिटीहरुले अभियानको समीक्षा गर्ने छन् । 

यस्तै,गण्डकी प्रदेश कमिटीको कार्यालय गठन, सचिवालयबारे पनि बैठकमा छलफल भएको थियो । जसअनुसार १३ सदस्यीय सचिवालय निर्माण गरेर एघारै जिल्लाका पार्टी अध्यक्षहरु सदस्य हुनेगरि प्रदेश कमिटीका अध्यक्ष र सचिव सचिवालयको जिम्मेवारीमा हुने छन् । बाँकी रहेका सांगठनिक कामहरुलाई समय सीमा तोकेर अघि वढाउने र पार्टीलाई गति दिने प्रदेश कमिटीले निर्णय गरेको छ । 

दोश्रो पूर्ण बैठकदेखि यता यस तेश्रो वैठकसम्म भएका गण्डकी प्रदेश पार्टी कमिटी पदाधिकारीहरुको १० औँ देखि २० औँ बैठकसम्मका निर्णयहरु  पनि अनुमोदन गरिएको छ ।  बैठकले २० बुँदे समसामयिक प्रस्ताव र पार्टीका सबै एजेण्डाहरु पारित गरि ती निर्णयहरुको दृढ कार्यान्वयनमा लाग्न प्रदेश कमिटी इन्चार्ज पृथ्वीसुब्बा गुरुङ निर्देशन दिएका थिए । साथै पार्टीको ३ महिने अभियान सफल पारी, पार्टी एकीकरणका बाँकी काम क्रमश सक्दै लैजानेमा प्रदेश कमिटीका सदस्यहरु एकमत भएका छन् । इन्चार्ज गुरुङले जनतासँग पार्टीको सम्वन्ध सुदृढ पार्न एकताबद्ध भई उत्साहपूर्वक जुट्न निर्देशित दिएका थिए ।  

प्रदेश कमिटी बैठकले विश्वभर महामारीको रुपमा फैलिई रहेको कोरोना भाइरस रोक्न राज्यका सबै संयन्त्र परिचलानको लागि अपेक्षा सहित, पोखरालाई पर्यटकीय राजधानी बनाएर पर्यटकीय हब बनाउँन सरकारलाई आग्रह लगायत २० वटा समसामयिक प्रस्तावहरु पनि पास गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप