बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केही दिनमै किड्नी ट्रान्सप्लान्ट हुन्छ, ५ दिन अस्पताल बस्छु,छैटौं दिन फर्किन्छुः प्रधानमन्त्री ओली

बिहीबार, १५ फागुन २०७६, १७ : २६
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै आफ्नो किड्नी ट्रान्सप्लान्ट गर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफु अस्पताल भर्ना हुने बताए । उनले भने, ‘केही दिनभित्रै किड्नी ट्रान्सप्लान्ट गर्न अस्पताल भर्ना हुँदैछु ।

५ दिन अस्पताल बस्छु, छैटौं दिन अस्पतालबाट डिस्चार्ज हुन्छु र आफ्नो काममा लाग्छु ।’ प्रधानमन्त्री ओलीले बिरामी भएर खासै सक्रिय नभएको भन्ने आरोपको खण्डन गर्दै आफु १८ घण्टासम्म काममा खटिरहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रष्टाचार गरेको ठहर भएमा सजाय भोग्न तयार हुनुपर्ने बताउँदै   कुनै अनाधिकृत व्यक्तिले अडियो बाहिर ल्याउँदैमा भ्रष्टाचार गरेको ठहर नहुने बताए । उनले भने, ‘कुनै अनधिकृत व्यक्तिले अडियो बाहिर ल्यायो, भ्रष्टाचारको बात लाग्यो र उहाँले राजीनामा दिनुभयो । भ्रष्ट्राचार भएको प्रमाणित गर्ने आधार छैन ।’

उनले आफुमाथि समेत अख्तियारमा उजुरी हालेको प्रसंगमा व्यङ्ग्य गर्दै उनले त्यसलाई पत्रु भ्रष्ट उजुरीको संज्ञा दिए । प्रधानमन्त्री ओलीले प्रेस खरिद प्रकरणमा स्वीस प्रनिनिधिको नाम जोडिएको बताउँदै सरकारले स्वीससँग नभई फ्रान्स र जर्मनीसँग छलफल प्रक्रिया अघि बढाइरहेको भन्दै बास्कोटाको बचाउ गरे ।

अर्को एक प्रसंगमा ओलीले आफुलाई केक प्रकरणमा जोडेर निराधार हल्ला चलाइएको आरोप लगाए । आफु गृहजिल्ला जाँदा विकासका कार्यक्रम उद्घाटन गर्न गएको बताउँदै जनताले स्वतस्फूर्त रुपमा उत्साहित हुँदै केक ल्याएर जन्मोत्सव मनाएको बताए । उनले भने, ‘म धारा, सडक, बिजुली उद्घाटन गर्न त्यहाँ गएको थिएँ । जनता उत्साहित भए, केक ल्याइदिए, मैले छोइदिए । कतिवटा केक ल्याए त्यो पनि मलाई थाहा छैन । तर राजधानीमा पत्रकार रोए ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप