शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाको एक वर्षः विमानस्थलमा यसरी सम्झिइयो रवीन्द्र अधिकारीलाई

बिहीबार, १५ फागुन २०७६, १५ : १३
बिहीबार, १५ फागुन २०७६

काठमाडौं । एक वर्षअघि हेलिकोप्टर दुर्घटनाको परी निधन भएका तत्कालिन तात्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा विमानस्थल परिसरमा वृक्षारोपण गरिएको छ । गत फागुन १५ गते ताप्लेजुङको पाथीभरास्थित सिस्नेभीरमा  तात्कालिन हेलिकोप्टर दुर्घटनामा अधिकारीसहित ७ जनाको निधन भएको थियो । 

सो दुर्घटनामा अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोक्षिभय र हेलिकोप्टर चालक प्रभाकर केसी दिवंगत भएका थिए ।  सो घटनाको एक वर्ष पुगेको दिन विहीबार नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक ट्रेड युनियनको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराई, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी लगायत विमानस्थलका अधिकारीहरु समेत उपस्थित थिए । 

उक्त कार्यक्रममा दिवङ्गत भएका ७ जनाको सम्झनामा परिसरभित्र ७ वटै प्रजातिका वनस्पतिको वृक्षारोपण गरिएको युनियनका उपाध्यक्ष ज्ञानेन्द्र भूलले जानकारी दिए । उनले अहिले वृक्षारोपण गरिएको क्षेत्रलाई स्मृति बगैंचा बनाउने उद्देश्य समेत लिइएको जानकारी दिए । 

उक्त घटना घटेको करिब एक वर्षपछि केही दिनअघि मात्रै घटनाको जाँचबुझ गर्न गठित समितिले दुर्घटनाको प्रतिवेदन सार्वजनिक गरेको छ । सो दुर्घटना पाइलटका कारण भएको समितिले निष्कर्ष निकालेको छ । उक्त हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए ।

कार्यक्रममा युनियनका अध्यक्ष श्रवणकुमार यादवले मन्त्री अधिकारीको निधनले नेपालको पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको भन्दै आगामी दिनमा त्यस्तो अकल्पनीय क्षति नव्यहोर्ने गरी हवाई सुरक्षाको व्यवस्थापन गर्नेगरी अघि बढ्न प्राधिकरणका सबै कर्मचारीहरुलाई आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप