शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झूटको पुलिन्दामा नेपाल ट्रस्टको ‘श्वेतपत्र’ ! जनार्दन शर्माले खोले पोल

बिहीबार, १५ फागुन २०७६, १५ : ०९
बिहीबार, १५ फागुन २०७६

काठमाडौँ । नेपाल ट्रस्टको सम्पत्तिबारे ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको श्वेतपत्रको विश्वसनीयतामा प्रश्न उठेको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले श्वेतपत्रमा झूटा विवरण उल्लेख भएको खुलासा गरेका हुन् ।
‘सरकारले दुई दिन अघि श्वेतपत्र जारी ग¥यो, श्वेतपत्र भनेको के हो मलाई थाहा छैन,’ उनले भने, ‘सायद कुनै विषयमा जस्ताको तस्तै कुरा जनताका सामु ल्याउनका लागि श्वेतपत्र जारी हुन्छ होला भन्ने मैले बुझेको थिएँ ।’

श्वेतपत्रमा आफ्नो नामसमेत मुछिएको मिडियाबाट थाहा पाएपछि वास्तविकता बुझ्नका लागि आफू नेपाल ट्रस्टको कार्यालयसमेत पुगेको उनले जानकारी दिए ।

ट्रस्टको कार्यालयमा गएर आफूले लिखित निवेदन दिदैँ माइन्युटमा लेखिएको विवरण मागेको उनको भनाइ थियो । ‘माइन्युटमा लेखिएको तथ्य कुरा हेर्न चाहेँ । मैले निवेदन दिएँ । तर मलाई त्यो दिइएन,’ उनले भने, ‘ताल्चा लागेको छ, खोल्न मिल्दैन भनियो ।’ 

आफूले त्यहाँका कर्मचारीसँग श्वेतपत्रका विवरणबारे सोधखोज गरेको पनि उनले जनाए । ‘हैन, हामीले त हजुरको नाउँ छैन, उहाँले मिटिङ गर्नु भएको छैन, उहाँको पालामा कुनै निर्णय भएको छैन भनेर भनेका हौँ’ भन्ने जवाफ कर्मचारीहरुले दिएको पनि उनले सुनाए ।

पूर्वमन्त्री शर्माले भने, ‘मैले मुख्यसचिवसँग पनि सोधेँ । अहिलेको मुख्य सचिव म गृहमन्त्री हुँदा गृह सचिव हुनुहुन्थ्यो । मैले उहाँलाई पनि मेरो नाम कसरी लेखियो भनेर सोधेँ ।’

गृहसचिव भएका नाताले त्यतिबेला केही निर्णय गराउनु भयो कि, मैले थाहा नपाएर हस्ताक्षर पो गरेँ कि भनेर आफूले मुख्यसचिवसँग सोधेको उनले बताए ।

‘हैन हजुर यो विवरण नै झुटा हो, विल्कुलै झुटा हो, हजुरको पालामा पनि भएन, अरु सम्माननीयको पालामा पनि भएन भनेर उहाँले भन्नु भयो,’ शर्माले भने, ‘अनि म आश्यचर्यमा परेँ । यो श्वेतपत्र हो कि अश्वेतपत्र हो !’

शर्माले श्वेतपत्रको विवरण झुठो भएको तथ्य खुलासा गर्दै अगाडि भने, ‘२०७४ कातिक १३ गते निर्णय भएको भनेर मेरो नाम जोडिएको छ । म असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको थिएँ । असोज ३० देखि मलाई विना विभागीय जिम्मेवारीमा पठाइएको छ र म गृहमन्त्री नै छैन ।’

गृह मन्त्री नभएका कारण स्वाभाविक रुपमा ट्रस्टको कार्यालयसँग साइनो नरहने भन्दै उनले आफ्नो नाम जोडिनु आश्चर्यजनक भएको बताए ।

‘मन्त्री नै नभएको मान्छेलाई जबर्जस्ती नाम लेखिने कुरा र कर्मचारीले भनेको कुरा नसुनेर नाम लेखिनुको कारण के ?’ उनले प्रश्न गरे ।

श्वेतपत्रमा केही पूर्वप्रधानमन्त्री र केही पूर्वमन्त्रीको नाम उल्लेख गरिनु र पछिल्ला निर्णयमा कसैको नाम नलेखिनुको कारणबारे पनि उनले प्रश्न उठाएका छन् । ‘कसैको नाम लेख्नुपर्ने, कसैको नाम नलेख्नुको कारण के हो ?’ उनले भने ।

आफू संसदको राज्यव्यवस्था समितिमा पनि रहेको र संविधान बाहिरका स्प्रिटसहित ल्याइएका ऐनलाई अन्य सांसदले झैँ आफूले पनि विरोध गर्ने गरेको स्मरण गराउँदै उनले यसकै कारण आफूलाई निशाना बनाइएको त होइन भन्ने आशंकासमेत गरे ।

सरकार दलालहरुको घेराबाट बच्नुपर्छ, भ्रष्टाचार अन्त्य हुनुपर्छ भनेर बारम्बार भनेका कारण पनि आफूलाई निशाना बनाइएको हुन सक्ने उनको भनाइ छ ।

आफूलाई तर्साउन खोजिएको हो भने यस्ता झुठा विवरण सार्वजनिक गर्दैमा आफू नतर्सिने उनले प्रष्ट पारे । उनले प्रश्न गरे, ‘सरकारले मलाई ढाँट्न, ठग्न सक्ला, जनतालाई मतदातालाई ढाँट्न सक्छ ?
उनले पछिल्लो समय विभिन्न कम्पनीलाई बाँडिएका, भाडामा लगाइएका ट्रस्टका सम्पत्ति फिर्ता ल्याउनु पर्ने पनि उनले बताए ।

उनले आफूले उठाएका प्रश्नको जवाफ सरकारले दिनुपर्ने मागसमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप