मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ उपत्यका: राजधानी पाउने उत्साहसँगै कुँडिएको मन

बिहीबार, १५ फागुन २०७६, १३ : ४९
बिहीबार, १५ फागुन २०७६

–चम्फासिंह भण्डारी

यतिबेला ५ नं. प्रदेशको दाङ उपत्यकाले पूर्वाधार विकासको क्षेत्रमा फड्को मारिरहेको छ । नेकपाको नेतृत्वमा रहेको घोराही र तुलसीपुर उपमहानगरपालिका  नेतृत्वले मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा गतसाता विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय तथा प्रदेश सरकारको क्रियाशीलता र पूर्वाधार निर्माणको अभियानसँगै स्थानीय नागरिकको जनजीवन सहज बनाउने प्रयास प्रशंसनीय छन् । 

सम्भावित ५ नं. प्रदेशको राजधानीका रूपमा परिकल्पना गरिएको दाङ उपत्यकालाई सुरुमै नेपाली काँग्रेसको तत्कालीन सरकारले राजधानी बुटवल तोकेपछि त्यहाँका आम नागरिकको मन कुँडिएको छ । अहिले पनि दाङवासीले राजधानी हुने आशा मारिसकेका छैनन् तर परिस्थिति भने धेरै प्रतिकूल बन्दै  गएको महसुस भने नागरिकले गर्न थालेका छन् । बाँके बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्ने खालका घनिभूत छलफल सार्वजनिक भएपछि राजधानी बुटवलमै रहने अड्कलले थप बल पुगेको त्यहाँका राजनीतिक दल तथा जनप्रतिनिधिहरु बताउन थालेका छन् ।

भूगोलका हिसाबले केन्द्रस्थान, आवश्यक भौतिक पूर्वाधारहरुको पर्याप्तता, अध्ययनहरुको सकारात्मक निष्कर्ष, राजनीतिक शक्ति सन्तुलनको हिसाबले पनि दाङ ५ नं.को प्रदेशको राजधानीका लागि उपयुक्त थियो तर प्रारम्भमै भएको गडबडीका कारण बुटवलमा स्थापित राजधानीलाई सार्न असहज भएको विश्लेषण राजनीतिक वृत्तमा गरिए पनि नागरिक तहमा भने अझै आशा मरिसकेको छैन । निर्णय हुन बाँकी रहेको र यस पटकको गतिविधि र चहलपहलले त्यहाँका नागरिकलाई थप आशावादी बनाएको देखिन्छ ।

दाङ उपत्यकाका घोराही र तुलसीपुर उपमहानगरपालिकामा पूर्वाधार विकासको अभियान चलिरहेको छ । यसको रणनीतिक अर्थ भविष्यमा दुवै उपमहानगर जोडेर महानगर बनाउनका लागि आवश्यक पर्ने पूर्वाधारहरुको निर्माणमा अहिलेका जनप्रतिनिधिहरु जुटेका देखिन्छन् । नदी खोलामा पुल निर्माण गर्ने, सडकलाई फराकिलो बनाउने, चोकहरुमा उपमहानगरपालिकाको ऐतिहासिकता झल्कने खालका मूर्तिहरु स्थापना गर्ने, खानेपानी र सञ्चारका अत्यावश्यक पूर्वाधारहरु निर्माण गर्ने लगायतका विभिन्न काम अहिले सञ्चालनमा रहेका छन् । 

अव्यवस्थित बसोवासलाई व्यवस्थित बनाउने, शैक्षिक केन्द्रहरुको स्तरोन्नति गर्ने, खेल मैदानहरु तथा रङ्गशालाको व्यवस्थापन गर्ने, सम्मेलन केन्द्र भवन निर्माण गर्ने र खासगरी घोराही उपमहानगरपालिकाले सहरको सुन्दरता र सरसफाइमा ध्यान दिएको परिणाममै देखिन्छ । तुलनात्मक रूपमा देशका अन्य सहरहरु भन्दा सडकहरु सफा छन । सरसफाइका लागि त्यहाँका सबै मानिसको चेतना पनि माथि उठेको देखिन्छ । आवश्यक सााग्री खरिद गर्ने, त्यही खाने र बाटोमा फाल्ने बानी छ भने त्यहाँका बिक्रेताले नै केरा, बदाम जस्ता सामान खरिद गरी उभिएर खान लाग्दा उनीहरु त्यहाँ राखिएको फोहोर फाल्ने टोकरी बाल्टिन देखाउन अभ्यस्त भएका छन् ।  

उपमहानगरपालिकाहरुको यो पूर्वाधार विकास अभियानमा ५ नं. प्रदेश सरकार र सङ्घीय सरकारले पनि सघाइरहेको त्यहाँका जनप्रतिनिधिहरुको बुझाई रहेकोछ । ५ नं. प्रदेशका माननीय मुख्य मन्त्री शङ्कर पोखरेल, उहाँको मन्त्रीमण्डलका सदस्यहरु, सङ्घीय संसदका सदस्यहरुको निरन्तरको सहभागिता र उपस्थितिले पनि त्यहाँका जनप्रतिनिधिहरुलाई उत्साही बनाएको महसुस गर्न सकिन्छ ।

गत साता एउटा तालिम सहजीकरणको क्रममा घोराही दाङमा रहदा ५ नं. प्रदेशका मुख्यमन्त्री माननीय शंकर पोखरेल विभिन्न कार्यक्रममा त्यहाँ सक्रिय सहभागी रहनुभयो । घोराही उपमहानगरको ट्राफिक चोकमा दुईवटा घोडाको प्रतिमा स्थापित गरी घोराही उपमहानगरको ऐतिहासिकताको जग हाल्ने काम मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभयो भने तुलसीपुरको बेलझुण्डीमा ५ नं. प्रदेश स्तरीय एक्स्पो भव्य रूपमा उद्घाटन गर्नुभयो । लोपन्मुख कला संस्कृति, उद्योग, पर्यटन, जैविक विषादीदेखि लिएर सूचना प्रविधिहरुको बारेमा जानकारी आदान प्रदान भयो । ५ नं. प्रदेशले गरिरहेको कामका प्रगति प्रदर्शनका रूपमा समेत यसलाई हेर्न र विश्लेषण गर्न सकिन्थ्यो । 

नेकपाभित्रका युवा तथा वैचारिक एवं विकास र अर्थराजनीतिका योजनकारका रूपमा रहेका मुख्यमन्त्री शङ्कर पोखरेलको नेतृत्वमा रहेको प्रदेश सरकार र उनको उत्प्रेरणामा क्रियाशील यहाँका स्थानीय सरकारका प्रमुखहरुले गरेका विभिन्न प्रयासहरुले निरन्तरता पाइ नै रहने कुरामा आशावादी हुन सकिन्छ तर दाङकै जनप्रतिनिधि भएका कारण मुख्यमन्त्री पोखरेलले राजधानीको विषयमा भने ठोस प्रयास गर्न सक्नु भएन कि ? भन्ने प्रश्न यहाँका नागरिकहरुको मनमा उठ्नु अस्वाभाविक भने देखिँदैन । 

घोराही उपमहानगरपालिका वडा नं. ५ भित्र रहेको धारपानीमा रहेको विश्वकै सबैभन्दा अग्लो त्रिशूल पाण्डेश्वर महादेव मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको नमूना क्षेत्रका रूपमा विकास गर्न विभिन्न पूर्वाधार निर्माणका कार्यहरु जारी रहेका छन् । त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकलाई कम्तीमा एक दुई दिन घुम्न र हेर्न सकिने गरी पूर्वाधारहरुको निर्माण गरी त्यस क्षेत्रको पूर्वाधार विकासको योजना ज्यादै प्रसंशनीय छ । 

सुन्दर हरियाली र पहाडको फेदीबाट बुरु भएको यो धार्मिक पर्यटकीय क्षेत्र धारपानी क्षेत्र नेपालकै नमुना बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो । अहिले त्यहाँ निर्माण गरिन थालेका पूर्वाधारहरुको निर्माणसँगै वातावरणीय संरक्षण सहितको पूर्वाधार निर्माणको नमुना पनि हो । रूख बिरुवाहरुलाई संरक्षण गर्ने, थप वृक्षरोपण गरी त्यस क्षेत्रलाई सुन्दर बनाउने प्रयासहरु उपमहानगरपालिकाको प्रसंशनीय काम हो । भविष्यमा धारपानी क्षेत्रमा नियमित बस सञ्चालनको प्रयास गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउन सकिने र एक पटक हेर्नु नै पर्ने ठाउँको रूपमा विकसित गर्न सकिने अवस्था विद्यमान रहेकोछ ।

तुलसीपुर उपमहानगरसँगै जोडिएको दङ्गीशरण गाउँपालिका पूर्वाधार विकाससँगै माननीय विकासका क्षेत्रमा विभिन्न क्रियाकलापहरु अघि बढाइरहेको छ । आधारभूत पूर्वाधारहरुको विकाससँगै त्यहाँका मानिसहरुलाई सकारात्मक बनाउने, विकासलाई बुझ्ने र विकास अभियानमा तीव्र सहभागिता र आयआर्जनका विभिन्न माध्यमबाट उनीहरुको जीवन सहज बनाई समृद्धिको अभियान सँगसँगै अघि बढाउने प्रयत्न गाउँपालिकाले गरिरहेको छ ।

विभिन्न टोलहरुमा रहेका सामुदायिक समूहहरुसँगको नियमित अन्तक्र्रिया, स्रोतमा साझेदारी र स्थानीय स्रोत परिचालन गरी विकासलाई दिगो र प्रभावकारी बनाउने प्रयत्नहरु गाउँपालिका र स्थानीय नागरिकहरुको सहभागितामा हुन थालेका छन् । गाउँपालिकाको नेतृत्वले आम नागरिकहरुसँग सम्बन्ध विकास गर्ने, जानकारी सूचनाहरुको आदान प्रदान गर्ने र स्रोतहरुको दुरुपयोग रोकी दिगो विकास अभियानमा नागरिक सहभागिता वृद्धि गर्दै आइरहेका छन् । 

यी सबै कामका लागि स्थानीय ज्ञान, सीप र क्षमतालाई उपयोग गर्ने, मानिसलाई विकास अभियानहरूमा सहभागी हुन उत्प्रेरित गर्ने र सहयोग आदान प्रदानको प्रक्रियामा अन्तरक्रियाहरुलाई बढाउने, संवादको थालनी गर्ने, सेवाग्राहीको गुनासा सुन्ने र सम्बोधन गर्नेजस्ता विभिन्न योजनाबद्ध कामलाई दङ्गीशरण गाउँपालिकाले अघि बढाएको जनप्रतिनिधिहरुको भनाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चम्फासिंह भण्डारी
चम्फासिंह भण्डारी
लेखकबाट थप