बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिक मुख्यालय निर्माण गर्ने मजदूरले भुक्तानी पाएनन्, सुरु भयो धर्ना

बुधबार, १४ फागुन २०७६, २० : ३२
बुधबार, १४ फागुन २०७६

काठमाडौँ । नेपाली सेनाको मुख्यालय भवन पुनःनिर्माण गर्ने केसी कन्स्ट्रक्सनले उद्घाटन भएको १० महिना बितिसक्दा पनि मजदूरलाई भुक्तानी दिएको छैन । भूकम्पले भत्किएको भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु तीन अर्ब ५१ करोडको लागतमा निर्माण भएको थियो ।

केसी कन्स्ट्रक्सन कुपण्डोलले निर्माण ठेक्का पाएको भवन क्वेष्ट सोलुसन नक्सालले सब कन्ट्याक्टरका रुपमा काम गरेको हो । 

क्वेष्ट सोलुसनमार्फत् पेटी ठेक्का लिएका २० जना कामदारले करिब रु २५ करोड नपाएको भन्दै मङ्गलबारदेखि नेपाली सेनाको मुख्यालय अघि ‘प्ले कार्ड’ सहित धर्ना शुरु गरेका छन् । निर्माण व्यवसायीले १० दिनपछि दिन्छु, १५ दिनपछि दिन्छु भन्दै झुलाउँदा एक वर्षदेखि काम गरेको पैसा पाउन नसकेको धर्नामा सहभागी पेटी ठेक्का लिएका रमेश शिवाकोटीले बताए । 

काम गरेको पैसा नपाएपछि दशैँअघि प्रधानसेनापतिको सचिवालयमा मौखिक एवं लिखित निवेदन दिँदा समेत सुनुवाई नभएको उनको गुनासो छ । काम गरेको पैसा नपाएसम्म मुख्यालयअघि धर्ना दिने भन्दै दुई दर्जन बढी कामदार ‘प्ले कार्ड’ सहित बसिरहेका छन् । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले केसी कन्स्ट्रक्सनलाई सबै भुक्तानी दिइसकेको बताए ।  सम्झौता गरेको निर्माण व्यवसायीलाई भुक्तानी भइसकेकाले पेटी कन्ट्याक्टरको विषय उसैले मिलाउनुपर्ने उनको भनाइ छ । 

क्वेष्ट सोलुसनका खरिद एकाइ हेर्ने कर्मचारी साजन पौडेले केसी कन्स्ट्रक्सनले बिल भुक्तानी नगरेका कारण पेटी कन्ट्याक्टरलाई तिर्न नसकेको बताए । 
 यस सम्बन्धमा प्रतिक्रिया लिन केसी कन्स्ट्रक्सनका मालिक रोशन केसीसँग पटकपटक सम्पर्क गर्दा पनि उनको मोबाइलमा सम्पर्क हुन सकेन । कन्स्ट्रक्सनको कार्यालय कुपण्डोलको नाममा रहेको नम्बरमा पटकपटक सम्पर्क गर्दा फोन उठेन । प्रधानसेनापतिको सचिवालयमा निवेदन दिँदा दर्ता नगरी ‘सेक्युरिटी चेक्ड’ मात्र लेखिदिएको मजदूरको गुनासो छ । काम गरेको करोडौँ ज्याला नपाउँदा सयौँ मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत धौ धौ भएपछि धर्नामा उत्रनुपरेको जनाएका छन् । भवनको उद्घाटन गत वैशाख १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप