केन्द्रीय संस्करण

मिथिलाञ्चलबाट लोप हुँदै ढोल र पिपही

person explore access_timeफागुन १४, २०७६ chat_bubble_outline0

–धनवीर महतो

महोत्तरी । महोत्तरी, सोनमा गाउँपालिकाका २५ वर्षीय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल पिपही को स्मरण अझै ताजा नै छ । पन्ध्र वर्षका उमेरमा विद्यालयमा बिदा भएका समयमा गाउँमै आयोजना भएको दुर्गा मेलामा मनोरञ्जनका लागि बुबाले ढोल र आफूले पिपही (मिथिलाञ्चलका उत्सवमा बजाइने एक प्रकारको लोकबाजा)  बजाएको समय स्मरण गर्दै मञ्जीतले भने, ‘हुन त त्यस समयमा सोखले बजाए तापनि पछिल्लो समयमा आफूले अरु व्यवसाय नपाउँदा व्यावसायिक रुपमै पेशा अँगाल्ने सोच बनाएको थियौँ  तर क्रमिकरुपमा सो धुन (सहनाइ) क्रमिकरुपमा समाजबाट हराएपछि आफना समुदायका युवा बेरोजगार भई कडा परिश्रम गर्नका लागि विदेशिनु परेको छ ।’

मिथिलाञ्चल समुदायमा एक दशक अगाडि ढोल र पिपहीको आवाज हरेक उत्सवका लागि अनिवार्य नै रहेको गौशाला नगरपालिका–१ का रामभजन महरा बताउँछन् । महरा भन्छन्, ‘त्यस समयमा पनि एक दिनका लागि पाइने परिश्रमले राम्ररी नै परिवार पाल्नका लागि सहयोग पाइन्थ्यो तर अब ढोलपिपही क्रमिकरुपमा लोप भएपछि अन्य पेशा अँगाल्दा दुःख लागेको छ ।’

लोकबाजा बजाउँदै आएका औरही नगरपालिकाका विनोद रामले मनोरञ्जनका लागि यस्ता लोकबाजा बजाएर गुजारा चल्न नसकेपछि बाध्य भएर अर्कै पेशा अँगालेको बताए । सर्वसाधारणले क्रमिकरुपमा आधुनिकतातर्फ कदम उठाएकै कारण आज ती बाजा इतिहास भएको गौशाला नगरपालिका–२ स्थित मावि निगौलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्रुघनप्रसाद महराले बताए । ‘हाम्रो समाजले  पश्चिमी संस्कारलाई अँगालेका छन् ।
यसको प्रत्यक्ष उदाहरण हुन् अत्यधिक ध्वनि प्रदूषणले भरिपूर्ण डिजेजस्तो घातक बाजा । डिजेले कहिल्यै कसैको भलो चिताएको छैन । त्यसमा न त सुर हुन्छ न त ताल नै’, उनले भने, ‘अहिले पनि विवाहको समयमा पहिलो रोजाइ बनेको छ अत्याधुनिक मनोरञ्जनको साधन डिजेजस्ता खतरनाक बाजा । यसले विवाहजस्तो महान् उत्सवमा झैँझगडा निम्त्याएर ज्यानसमेत जाने गरेको छ । यस्ता बाजालाई संरक्षण गर्नु सबैको दायित्व हो ।’

आधुनिकतालाई समाजले सजिलै अँगालेकै कारण यस्ता बाजा हराउँदै गएको गौशाला नगरपालिका–१० का प्रगास मोची महराले बताए । प्रगास भन्छन्, ‘हामीले परम्परागतलाई  भुलेका छौं । हामी पश्चिमी संस्कृतिको नक्कल गर्ने क्रममा हजारौं खर्चिन तयार हुन्छौ तर हाम्रा समाजमा कम रकममा उपलब्ध हुने बाजालाई बिर्सिँँदै गएका छौँ । हामी सोची नसम्झिकन देखासिखीका नाममा पर्वउत्सव मनाउने क्रममा साहु महाजन खोज्न तयार हुन्छौँ र चर्को ब्याजदरको ऋणको भारी बोकी एक छिनका लागि रमाएर वर्षौ आर्थिक मारमा पर्दै आएको हुन्छौँ । यसले हामीलाई कदापि भलो गर्दैन ।’

गौशाला बजारमा व्यवसाय सञ्चालन गर्दै आएका नागेन्द्रकुमार साह मिथिलामा विवाह, व्रतबन्ध, मुण्डनलगायत दशैँ, छठ आदि पर्वमा यस्ता वाद्ययन्त्रको प्रयोग केही वर्ष अगाडिसम्म कायमै रहे पनि क्रमिकरुपमा बजाउने कलाकारको अभावमा  प्रयोगमा कमी आएको बताउँछन् । ‘बाजा बजाउने चमार समुदाय पनि पर्व उत्सवको समयमा मनोरञ्जनको लागि आफ्ना लोकशैली बिर्सिदै गएका छन् । उनीहरु पनि क्रमिकरुपमा आधुनिकतातर्फ लम्किँदै छन्’, उनले भने ।

प्रदेश सरकारले ऐच्छिकरुपमा भए पनि यस्ता विषयवस्तुलाई पाठ्यक्रममा समावेश गरी विद्यालयमा पठनपाठनको व्यवस्था गरेमा मैथिली संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने धारणा पूर्वशिक्षक जयनारायण झाले राखे ।
विश्व २१ औँ परिवेशमा प्रवेश गरेका सन्दर्भमा सर्वसाधारण पनि आधुनिकतामा प्रवेश गरेकै कारण समाजबाट ढोल पिपही लोप हुनुको मुख्य कारण रहेको नेपाल शिक्षक महासङ्घ सोनमाका उपाध्यक्ष धर्मेन्द्रकुमार यादव बताउँछन् । शिक्षक यादवले भने, ‘पहिलेपहिले हरेक उत्सवमा अनिवार्य रहँदै आएको ढोल पिपही वर्तमान परिवेशमा समाजमा भित्रिएको डिजेजस्तो बाजाको प्रवेशकै कारण समाजबाट हराउन थालेका छन् । अब यस्ता धुन कहिलेकाहीँ पूजा तथा कुनै कुनै स्थानका मेलामा विरलै सुन्न पाइन्छ । यसलाई संरक्षण गर्न अति नै आवश्यक रहेको छ ।’

छालाका वाद्यवादनमा ढोलक मिथिला सङ्गीतको पुरानो साथी हो । चमार जातिले नाल, तबला आदि पनि त्यत्तिकै सघनताका साथ प्रयोग गरिरहेका समयमा मृदंगलाई शास्त्रीय वाद्य मानिए पनि मिथिलामा कहिलेकाहीँ मात्र लोकवाद्यवादनका रूपमा प्रयोग भइरहेको सञ्चारकर्मी सुनिताकुमारीको भनाइ  छ ।

उनी भन्छन्, ‘वर्तमान परिवेशमा भगतैई अर्थात् महराइ(कुलदेवताको पूजा)मा झ्याली, ढोल, पिपही भने अनिवार्य प्रयोग गरिन्छ । यो बोलप्रधान नभई स्वरप्रधान गीतको श्रेणीमा आउँछ । यसमा शब्द अस्पष्ट हुन्छ  । यसले धार्मिक सहिष्णुता कायम राख्न मद्दत गरेको छ ।’ 

पछिल्लो क्रममा लोकनाट्यमा पनि हारमोनियम, ढोलक, पिपही, नाल, नगराजस्ता लोकबाजाको प्रयोग हुँदै आएको सुनिता बताउँछन् । ‘एक समयमा मैथिली लोकसङ्गीतको अभिन्न अङ्ग बन्न सफल ढोल र पिपहीलाई समकालीन सङ्गीतज्ञ र गायकले आधुनिकता दिएर प्रयोग गर्नुपर्छ ।  जटजटिन, झिझिया, धोबिया, कजरी, चैताबर, बारहमासा, भगैतजस्ता पर्वमा पारम्परिक मैथिली गीतसंगीतहरूलाई जोड्नुपर्ने हुन्छ  ।’

मिथिला क्षेत्रमा बजाइने यस्ता बाजालाई जातीयतासँग जोडिएकाले युवामा रसनचौकी, पिपही, दुग्गी, तासा, ढोललगायत लोकबाजाप्रति क्रमिकरुपमा विकर्षण बढ्दै गएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षी बताउँछन् । प्रेमर्षिले भने, ‘मिथिलामा वाद्ययन्त्र बजाउनु सम्मानित विधाको रुपमा लिइन्थ्यो तर कालान्तरमा यस पेशालाई जातीयतासँग मात्रै जोडिएपछि लोक वाद्ययन्त्रको दुर्दशा शुरु भएको हो । मिथिला क्षेत्रमा रसन चौकी, पिपही, दुग्गी, तासा, ढोललगायतका वाद्ययन्त्र चमार जातिले बजाउने गर्छन् । वाद्ययन्त्र बजाउने पेशालाई तल्लोस्तरमा राखेर हेर्न थालिएपछि बजाउनेमा पनि हीनताको भावना पैदा भएको छ । यसैले चमार जातिका युवासमेत अन्य पेशामा रमाउन थालेका छन् ।’

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले ऐतिहासिक संस्कृतिको धरोहरलाई संरक्षण गर्न सबैको परमकर्तव्य रहेकाले सबैको सहयोग अन्त्यन्त आवश्यक रहेको बताए । अति लोपोन्मुख भइरहेको यस्ता धरोहरलाई सङ्ग्रहालयमार्फत संरक्षण गर्नका लागि नगरपालिका तयार रहेको बताउँदै प्रमुख महतोले भने, ‘चालु आर्थिक वर्षमा मगर जातिको पहिचानलाई जीवित राख्नका लागि मगर सङ्ग्रहालयको निर्माणका लागि बजेट छुट्याइएको छ । आगामी दिनमा नगरपालिकाले नगर परिषद्बाटै बजेट पारित गराएर यस्ता लोपोन्मुख अवस्थामा रहेको धरोहरलाई संरक्षण गर्नका लागि विशेषरुपले कदम उठाउनेछ ।’  

प्रदेश नं २ सरकारले ढोल, पिपही, डम्फा, झाल, डमरु, सारङ्गी, घुना तिसी, करताल, सिंग्हा आदि बाजालगायत मौलिक तथा परम्परागत सांस्कृतिक पहिचान बोकेका बाजालाई संरक्षण गर्न विशेष सहुलियत दिई सांस्कृतिक महोत्सवको आयोजना गरेर प्रदेशको पर्यटन विकाससँग जोड्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकतामाथि प्रदेश नं २ का प्रदेशसभा सदस्य भरतप्रसाद साह जोड दिन्छन् । लोकसंस्कृति र लोककलालाई जोगाउनु वर्तमान परिवेशमा तीनै तहका सरकारका कर्तव्य रहे तापनि कुनै पक्ष अगाडि नबढ्नु दुःखद् रहेको प्रदेशसभा सदस्य साहले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...