केन्द्रीय संस्करण

केक, सञ्चार शक्ति र देशप्रेम

person explore access_timeफागुन १४, २०७६ chat_bubble_outline0

प्रधानमन्त्रीले ‘केक’ काटेकैले विवाद मच्चिएको होइन केवल नेपालको नक्सा भएको केक काटिएको र मोटो रकम खर्चिइएकोमा जनतामा पीडाबोध भएको हो । जन्मदिन मनाउनु, आफन्त र गाउँबासीसँग भेट्ने अवसरका लागि प्रधानमन्त्रीको जन्मदिन एउटा निहुँ बन्यो । 

उहाँको व्यक्तिगत स्वतन्त्रतालाई प्रभाव पार्ने राय किञ्चित होइन । तर यथार्थभित्र दुख्ने घाउमा मन पिरोलिनुलाई पनि गलत भनिहाल्न पनि त मिल्दैन । देश त सबैका लागि प्यारो अवश्य छ भने देशको नाम गाँसिएकाले जनताले आवाज उठाउनु अचम्मको कुरै होइन ।

 किनकि देशप्रेम कुनै घाँटीमा भिरिने परिचय पत्र होइन यो त शरीरको नसा–नसामा बगेको रक्तकणमा सिँचित प्रवाहको अंश पुञ्ज हो । कमजोरीलाई कमजोरी हो भन्ने बुद्धिको विकास भएको आजको जनताको मनलाई अबका नेतृत्वले गर्वका साथ स्वीकार गर्नुपर्छ । हरेक कार्य गर्नुअघि जनताको नाममा एउटा मन अर्पिनु आवश्यक छ किनकि जनतामा नेतृत्वलाई चियो गर्ने क्षमताको विकास भएको छ । यसर्थ यो विरोध वर्तमान प्रधानमन्त्रीको होइन । उहाँको कार्यमा भएको कमजोरीको हो ।  
    
केक त प्रधानमन्त्रीले बनाएका होइनन् । सायद जो त्यस कार्यक्रमका व्यवस्थापक थिए, त्यही टिमले राम्रो सोचेरै बनाए हुनन् । उक्त कार्यक्रमलाई संयोजन गर्ने वा अरू कसैको बुद्धि होला । उसै त आजभोलिको भाषामा ‘सरप्राइज’ भन्ने गरिन्छ । सायद त्यसो पनि हुँदो हो । अमेरिका, चीन लगायतका कतिपय राष्ट्र प्रमुखले पनि आफ्नो देशाङ्कित केकको नक्सालाई काटेको देखिन्छ भन्ने एकाथरि विश्लेषण पनि छँदै छ । 

यसो भनिरहँदा आफ्नै देशको नक्सालाई चक्कु बोकेर काट्ने मन कसरी भएको होला ? एउटा विचार अवश्य पनि हो । अर्को पक्ष जन्मदिनमा करोडौँ रकमको खर्च गरिएको विषय पनि आपैmँमा सोचनीय हो । एक त हाम्रो नेपाली संस्कारलाई हामी सबैले छोडिसक्यौँ । बत्ती बाल्नुपर्ने सुन्दर संस्कृति भएका हामी निभाइदिन्छौँ । मन्दिरमा पूजा गर्ने वा आफ्ना इष्टदेवलाई, बाबाआमालाई सम्झेर पूजा गर्नुपर्ने हामीले साथीभाइसँग बसेर सुरापान गर्ने र पार्टी गर्ने नाउँमा महँगो विकृतिलाई बोक्न थालेका छौँ । 

जन्मदिनमा लगाउने चुच्चो टोपी लगाउँदा तपाईं कस्तो देखिनुहुन्छ ? के त्यो हाम्रो बहुल सांस्कृतिक धारभित्रको कुनै अंश हो र ! के त्यो नेपाली राष्ट्रियताको आस्थासँग कतै मिल्छ ? हुन त बहुसङ्ख्यक जनताले रुचाएको विषयमा बोल्दा सायद एक्लो बृहस्पति झुटो होला नै तर यो नितान्त पश्चिमा कुपरम्पराबाट हामी बिरामी भएको यथार्थ हो । लोक समाजले अन्धो बनेर अपनायो सबैलाई प्रिय भइदियो । प्रधानमन्त्री पनि एक जना व्यक्ति हुनुहुन्छ । अझ ठूला मान्छेसँग हातमा अधिकार त हुन्छ तर अर्काको सुझावमा हिँड्नुपर्ने आफ्नै बाध्यता पनि हुन्छ । यसर्थ केकको विषयमा प्रधानमन्त्रीले मात्र होइन, तपाईं हामीले पनि आफ्नो नामाङ्कित केक काट्न लहसिएका यथार्थबाट भाग्न मिल्दैन । 

वास्तवमा यो विषयलाई यत्रो ठूलो विषय बनाउनु आवश्यक नै छैन किनकि आजभोलि सम्पन्नशाली मानिस र सहरवासीले आफ्नो नाम लखेरै केक काट्छन् । आफ्नो नाम आपैmँ काट्नु पनि त राम्रो होइन नि– यो पनि यथार्थ होइन त ? सायद प्रधानमन्त्रीले पूजा अर्चना गरेर पण्डितज्यूबाट, आफ्ना बुबाबाट आशीर्वाद लिनुभएको यो विवाद नै आउने थिएन होला । जुन दिनमा दीप जलाएर दिनभर ननिभाई जन्मोत्सव मनाउने चलन हामीसँग थियो, एउटा राम्रो संस्कार थियो त्यसलाई त बिर्सियौँ । पुरातन भनिदियौँ । 

अझ ‘हिन्दू’को भनेर उसैमा टाँसिदियौँ । रुढिवादको संज्ञा भिरायौँ अनि चरम विकृतिलाई बेसरम भित्र्यायौँ । केही मानिसले वृद्धाश्रममा दान गर्ने, गरिबलाई सेवा गर्ने गरेका पक्ष आपैmँमा मानवीय र सह्रानीय छन् । यद्यपि सबैले स्वीकार गर्नुपर्ने विषय त हामीले हाम्रो संस्कारलाई छोडेर अर्काको देखासिकी गरिरहेका होइनौँ र !

पश्चिमाहरूसँग हाम्रा जस्ता जात्रा, पर्व, चाड वा अन्य सामाजिक जमघट हुने थिति खासै छैन । उनीहरू दिनदिनै यान्त्रिक संस्कारमा एक्लिएकाले जन्मदिनलाई विशेष रूपमा मनाउनु तिनको बाध्यता हो । कामको रनाहामा व्यस्त हुँदा रमरस गर्ने र अलिकति जमघटको निहुँ चाहिँदा तिनका लागि ‘बड्डे’ भन्ने कुरै ठूलो विषय भइदिएको मात्र हो । हाम्रो संस्कृतिमा मूलतः घडी, पला, बार, दिन, तिथि लगायतका विषयसम्मलाई हेरेर पूजापाठ, होमादि गर्ने हिन्दू परम्परा छ भने दान पुण्यादि गर्ने बौद्ध धर्मावलम्बीको आफ्नै शैली होला । तब त अर्काको सिको गरिरहनु पनि त हामी सबैको ठूलो कमजोरी होला नि ! अझ अहिले त कुनै नयाँ कार्यको थालनीमा केक काटिन्छ अनि बत्ती बालेर निभाइन्छ । हाम्रो संस्कृतिले अन्धकारलाई कसरी स्वीकार गरायो ? के हामीले ‘असतोमा सत्गमय, तमसोमा ज्योतिर्गमय’ भन्ने भावलाई बिर्सनु सार्थक होला ? हाम्रो बुद्धिमा सकारात्मकता र मौलिकता कहाँ छ ?

नर्वे जस्ता कतिपय देशका राष्ट्र प्रमुखहरू विना व्यक्तिगत सुरक्षाकर्मी  (पर्सनल सेक्युरिटी गार्ड) परिवारसँग सर्वसाधारण जसरी घुम्न निस्कन्छन् । किनकि कुनै पनि कलाकार, प्रधानमन्त्री, मन्त्री भलै देशको प्रधानमन्त्री वा जिम्मेवार व्यक्ति किन नहोस् तर उहाँहरूको पनि व्यक्तिगत जीवन हुन्छ । उहाँहरूले पनि पारिवारिक जमघट गर्न पाउनुपर्छ । यसमा कसैको आपत्ति अवश्य नरहला नै । मुलुकको जिम्मेवारीलाई निर्वाह गर्ने र पारिवारिक जिम्मेवारीलाई वहन गर्ने दुवै कुरा प्रधानमन्त्रीका लागि अवश्य हक हुनुपर्छ । अर्कोतर्पm चाहे जुनसुकै ओहदामा बसेको मानिस होओस्, सधैँ सही मात्र गरिरहने पृथक् खुबी हुन्छ भन्ने पनि होइन तर आत्मालोचनाको खाँचो रहन्छ । यसर्थ प्रधानमन्त्री, मन्त्रीको भन्दा पनि ठूलो दिमाग सल्लाहकारको हुन्छ । सहीलाई सही र गलतलाई गलत भयो भन्नु आवश्यक होला नै । यसलाई हामीले सही अधिकारको सदुपयोग हो भन्ने सम्झनु उचित होला । 

भर्खरै गोकुल बाँस्कोटाको घुस संवाद र प्रधानमन्त्रीले विश्वास गरेकै मान्छे भ्रष्ट भएको विचारले देशमा एउटा माहोल खडा गरिरहेकै थियो । साथमा केकवाला विचारमा अतिरञ्जित व्याख्या थपिएर गरिएकै हो । आजको सबैभन्दा ठूलो शक्ति भनेको सञ्चार माध्यम हो जसमा जनताको प्रत्यक्ष सम्बन्ध गाँसिन्छ । यसो भनिरहँदा सबै सञ्चार माध्यम निष्पक्ष रूपमा प्रेस स्वतन्त्रतालाई उपयोग गर्छन् भन्ने विश्वास पनि जनता माझ छैन । तिललाई पहाड बनाउने र पहाडलाई तिल बनाउने दुवै खुबी सञ्चार माध्यमसँग छ । यसको अर्थ सेटिङ र लबिङको चक्करमा मुलुकमा बेथिति कायमै छ । 

पूर्वाग्रही व्याख्या गरिँदा दोषी पनि निर्दोष बन्ने र निर्दोष पनि दोषी ठह¥याउने प्रपञ्च हुन्छ भन्ने एकाथरि जनताको विश्वदृष्टिलाई केलाउनुपर्ने देखिन्छ । अतः अबका नेतृत्वले सकारात्मक कर्म गर्न र जनता पनि छन् भनेर कुनै कामको योजना बनाउनु आवश्यक छ । पारदर्शी र स्वच्छ राष्ट्रभक्तिको सहारामा जिउने नेतृत्वलाई जनताले समर्थन गर्न पनि जानेकै हुन्छन् । यो विगतको इतिहासले दिएको शिक्षा हो । यसर्थ पनि सत्ता पक्षले अबका कार्यावधिमा भ्रष्ट कार्य, भ्रष्ट चरित्ररूपी भाइरसका लागि नयाँ औषधि निर्माण गरेर बुद्धिमतापूर्वक हिँड्नु आवश्यक छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.