बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा शून्य समयः कुन सांसदले के भने ?

बुधबार, १४ फागुन २०७६, १४ : ४०
बुधबार, १४ फागुन २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामाग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै काँग्रेसका सांसदहरुले मन्त्री संलग्न भएको भनिएको घटना लगायतका पछिल्ला घटनाबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । सांसद राजेन्द्रकुमार केसीले पूर्वसञ्चारमन्त्री संलग्न भएको भनिएको ७० करोड कमिसन लगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

आफ्ना कामको जस लिन लामो समय लिन सक्ने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको भिडियो सामाग्रीका बारेमा जवाफदेही नभएको भन्दै उनले आक्रोश पोखे । उनले भने, ‘आफ्ना जस लिन २/२ घण्टा रोष्टम कब्जा गर्ने प्रधानमन्त्री जी आज यत्रो ठुलो काण्डै काण्ड मच्चिता उहाँले जवाफ दिनु पर्ने कि नपर्ने ?’

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पूर्वसञ्चारमन्त्री  गोकुल प्रसाद बास्कोटा र विजय मिश्रबीच ७० करोडको भ्रष्टाचार सम्बन्धि अडियो टेप सार्वजनिक भएको धेरै दिन भइसक्दा पनि सरकारले सदनलाई स्पष्ट नभनेको भन्दै यसबारे सत्यतथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परेको भन्दै उडान सुचारु गराउन सरकारको ध्यानाकर्षण गराइन् । उनले जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएरका हुम्लाका जनताको माया लागेन भनि प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री ज्यु तपाईले बर्थ डेको केक बोक्ने हेलिकोप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि तपाईलाई अप्ठ्यारो लागेन ? यही जाडोमा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाउनुपर्यो । सुत्केरी हुन नसकेर महिलाहरु छटपटाई मर्नुपर्यो । बरु केक चार्टर गर्नुभन्दा औषधीको चार्टर गरेर त्यो हेलिकप्टर हुम्ला पठाइदिउँ, जनता बचाउनुपर्छ भनेर अलिकति पनि तपाईलाई माया लागेन ?’

‘एन एले फ्लाईट नगरेको ३ महिना भयो । अब मैले सरकारको बाहुलीमा विन्ती चढाउन पर्नेभयो । एन ए को जहाज नेपालगञ्जमा नाईट स्टप राखेर कर्णालीमा दिनको एक फ्लाईट राखेर जनताका लागि व्यवस्था मिलाइबक्सियोस् भनी प्रधानमन्त्री ज्यूको बाहुलीमा विन्ती चढाउँछु ।’

सांसद मिना बुढाले ‘७० करोड सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण लगायत अरर्बौ भ्रष्टाचार भइँरहदा किन चुप बस्छन् प्रधानमन्त्री ?’ भनी प्रश्न गरिन् । उनले स्वाधिनता र स्वाभिमानको कुरा गरेरै नथाक्ने नेपाली दाताको आगाडि निहुरिने गरेको उल्लेख गर्दै ट्राफिक प्रहरीले लगाउने पोशाक, पञ्जादेखि प्रहरी विट दाताको सहयोगमा चलेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सांसद बिमला नेपालीले आफ्ना संसदीय दलका नेता शेर बहादुर देउवाले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक लगायत भुभागलाई तत्काल नेपालको नक्सामा पार्न सरकारलाई दिएको ऐक्यवता कार्यान्वयन हुन नसकेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सांसद मिनबहाहदुर विश्वकर्माले तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित श्रीकृष्ण विडारीको घरमा डेरा गरि बस्ने कैलाली धनगढी निवासी दिपा नेपालीलाई दलित समुदायकी भएको थाहा पाएपछि घरवेटीले घर खाली गर्न भनी यातना दिने गरेको भन्दै संविधानको धारा २४ र जातिय भेदभाव र छुवाछुत कसुस सँजाय ऐनअनुसार कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद भवानीप्रसाद खापुङले कालाबजारी, कमिसनखोर, तस्कर, हत्यारा र भ्रष्ट्राचारीहरुले धमिराले आएजस्तो मुलुकलाई भित्र भित्र खोक्रो बनाइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद महेश्वरजंग गहतराज अथकले बाँकेको राप्ती सोनारी र नरेन्द्रपुर गाउँपालिकाको विद्युतीकरणको लागि ग्रामिण विद्युतिकरणको ठेक्का पाएको श्री उस्मा गौरी पार्वती जेवीले ४६ लाख मोबिलाइजेसन रकम लिएर पनि हालसम्म काम सुरु नगरेको भन्दै सो कम्पनीलाई कारवाही गरी गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद मिना पाण्डेले उपसभामुख चयनमा भइरहेको ढिलाई प्रति सभामुख र सरकारको ध्यानाकर्षण गराइन् । उनले महिला उपसभामुख हुने कारणले नै उपसभामुख चयनमा सदन बेखबर भएर बसेको हो ?  भनी प्रश्न गरिन् । सांसद मोहन बाँनियाले सडक देखि सदनसम्म भ्रष्टाचारको विषयले चर्चा पाएको भन्दै भ्रष्टाचारीलाई कारवाही गर्न सरकारले आग्रह पुर्वाग्रह नगर्ने र कारवाहीका लागि खुट्टा नकमाउने भन्दै सरकारको बचाउ गरे ।

सांसद यज्ञराज सुनुवारले मंगलबारको बैठकमा ५८ जना मात्रै सांसद भएकाले र कोरम नपुगेका कारण बैठक स्थगित गर्नुपरेको उल्लेख गर्दे कुन दलको कुन कुन सांसद सुरु देखि अन्तिम सम्म बसेको वा नबसेको बारे फेयरिस्त राख्न सचिवालयको ध्यानाकर्षण गराए ।

सांसद राजबहादुर बुढा क्षेत्रीले काठमाडौंको सवारी जामको सही व्यवस्थापन गर्न सरकारकोे गम्भीर ध्यानाकर्षण गराए । उनले भने, ‘काठमाडौंका सडकहरुमा गाडीको जाम र गाडी भित्र मान्छेको जाम,  दुवै तिर जाम नहुनुपर्ने हो यो विरोधाभाष कसरी भयो यसमा सरकारको ध्यान जाओस् ।’

सांसद लक्ष्मणलाल कर्णले विभिन्न किसिमका चेकजाँचले मधेसको व्यापार संकटमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘मधेसमा अब विजनेस व्यापार गर्ने हो कि होइन यो सरकारको नीति के हो म बुझ्न चाहन्छु । मधेसको बोर्डरमा केही सामान लग्यो भने बीचमै समातिन्छ । भैंसीको व्यापार गर्न पनि दिइँदैन । हुँदाहुँदै आलु पनि इण्डियन हो भनेर समाति राखेको छ ।’

बाह जिल्लाको सिम्रौनगढबाट व्यापारका लागि लगिँदै गरेको आलु वरियारपुर इण्डियन आलु भनी रोकेको उल्लेख गर्दै उनले इण्डियन र नेपाली आलुको नमुना देखाइदिन सरकारसँग आग्रह गरे । उनले भने, ‘नेपाली आलु कस्तो हुन्छ इण्डियन आलु कस्तो हुन्छ नेक्ट बैठकमा मलाई देखाइदिन म अनुरोध गर्छु । र मधेसको व्यापार यस किसिमबाट रोक्नु हुदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप