शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्षमतानुसार उत्पादन हुन सकेन पानी

मङ्गलबार, १३ फागुन २०७६, २१ : १६
मङ्गलबार, १३ फागुन २०७६

नेपाल खानेपानी संस्थानले चार वर्ष पहिले पनौतीमा शुरु गरेको प्याकिङ पानी वितरणले क्षमतानुसार उत्पादन दिन सकिरहेको छैन ।
 यस ठाउँमा दैनिक ५०० जार पानी उत्पादनको क्षमता भए पनि कार्यालय साँघुरो हुँदा दैनिक २०० जारका हाराहारीमा पानी उत्पादन भइरहेको छ । संस्थानले देशका अरु स्थानबाट समेत प्याकिङ पानी उत्पादन गरी बिक्री गर्ने योजना बनाइरहँदा सञ्चालनमै रहेको ‘वाटर प्लान्ट’ भने खुम्चिएको छ । 

सरकारीस्तरबाट पानी बिक्रिवितरण गर्ने पहिलो आयोजना भएपनि यसलाई बिस्तार गर्न नसकिएको संस्थानले जनाएको छ । नगरपालिकाले सो आयोजनाका लागि झण्डै सात रोपनी क्षेत्रफलको जग्गा दिएकामा अहिले कार्यालय सात आनामा सीमित छ । आयोजनाको जग्गामा अतिक्रमण गरेर सुकुम्वासीले घरलगायतका संरचना बनाउँदा आयोजना खुम्चिएको इञ्जिनीयर रामचन्द्र लामिछाने बताए । 

    खानेपानीको उत्पादनसँगै त्यसको प्याकिङमा समस्या रहेको इञ्जिनीयर लामिछानेले बताए । जारलाई भण्डारणका लागि आबश्यक स्थानको अभाव हुँदा त्यसलाई विस्तार गर्न नसकिएको हो । सो आयोजना विसं २०६७÷६८ मा अध्ययन भएर विसं २०७४÷७५ मा सञ्चालनमा आएको हो । आयोजनाबाट दैनिक २६५ जार उत्पादन भइरहेको छ । पानी परीक्षण प्रयोगशालामा दैनिक परीक्षणपछि मात्रै पानी वितरण हुने गरेको छ । बजारमा जार तथा बोतलको पानीको मागलाई सम्बोधन गर्नेसँगै आफ्नो आर्थिक स्थिति सुधारका संस्थानले प्रशोधित पानी बिक्री वितरणको नमूनाका रुपमा पनौतीमा शुरु गरेको थियो । संस्थानले आफ्नै गाडीबाट पानी बजारसम्म पु¥याउँदै आएको छ । 

अहिले खानेपानी मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पानी वितरण हुँदै आएको छ भने आगामी दिनमा अरु मन्त्रालय र अरु स्थानमा समेत फैलाउने लक्ष्य लिइएको छ । अहिले धेरै स्थानमा पानीको माग भइरहे पनि दिन नसकिएको संस्थानले जनाएको छ । एक लिटर पानीको बोतल बजारमा माग उच्च रहेकाले उत्पादनका लागि स्वचालित उपकरण जडान गर्ने लक्ष्य लिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप