टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा, ६ हजार बढी विद्यार्थीको सहभागिता
![टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा, ६ हजार बढी विद्यार्थीको सहभागिता](https://rpcdn.ratopati.com/media/albums/20200225_150007_UOZ87I3OQT.jpg)
काठमाडौं– टुँडिखेलमा उपत्यकाका तीन जिल्लाका २२९ विद्यालयबाट ६,५७८ विद्यार्थीको सहभागिता गराउँदै स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न भएको छ ।
हिन्दु स्वयंसेवक संघ नेपालले आयोजना गरेको उक्त परीक्षामा विद्यार्थीहरूले ५० वटा बहु वैकल्पिक उत्तर भएका प्रश्नको सहि उत्तर छनोट गर्नुपर्ने थियो । प्रश्न संघले नै तयार पारेको प्रश्नोत्तरी पुस्तकबाट सोधिएको थियो ।
सहभागिताका लागि एक सयमा विद्यार्थीले आफ्नो नाम दर्ता गराएका थिए । दर्ता भएका विद्यार्थीलाई प्रश्नोत्तर सहितको पुस्तक अध्ययनका लागि उपलब्ध गराइएको थियो । पुस्तकमा भएको ५३६ प्रश्नमध्येबाट जम्मा ५० वटा प्रश्न सोधिएका थिए ।
प्रतियोगितात्मक परीक्षामा सहभागीमध्येबाट १३५ विद्यार्थीले ५० वटै प्रश्नको सही उत्तर दिएर शतप्रतिशत अङ्क ल्याएका थिए । तीमध्येबाट गोलाप्रथाद्वारा मोक्षदा स्कुलका विपिन ढकाल प्रथम, गीता माता स्कुलका युगेश मगर द्वितीय र पाटन सेकेन्डरी स्कुलका विजय रावल तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
त्यस्तै शतप्रतिशत मिलाउन सफल ५० अन्य विद्यार्थीलाई प्रोत्साहन पुरस्कारका लागि छनोट गरिएको थियो । प्रथम हुनेले ५१,०००, द्वितीयले २५,०००, तृतीय हुनेले १५,००० र ५० जनालाई प्रोत्साहन स्वरूप जनही एक–एक हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्देश्यबारे संयोजक महाश्रम शर्माले आजको सन्दर्भमा आजका नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गरिनुपर्ने औचित्यलाई यस कार्यक्रमले सम्बोधन गर्ने बताए। विश्वका अनेक देशमा आफ्नो धर्म संस्कृतिबारे शिक्षा दिइन्छ तर नेपालमा यसतर्फ त्यति चासो नदिइएको अवस्थामा संघले अभियानकै रूपमा संस्कृति ज्ञान परीक्षालाई माध्यम बनाएर आजका विद्यार्थीलाई सांस्कृतिक चिनारी दिने जमर्को गरेको उनले बताए ।
सर्वोच्च न्यायालयका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिनाले अबको दिनमा नेपालले श्रमिक मात्र निर्यात गर्ने होइन, बरु नेपालका बौद्धिक जनशक्तिले विश्वलाई नेतृत्व प्रदान गर्नसक्ने हुनुपर्ने बताए । कार्यक्रम मार्फत् नयाँ पुस्तामा संस्कार र संस्कृतिको ज्ञान हस्तान्तरण गर्ने, नेपालका पावन तीर्थहरू, नदी–कुण्ड, हिमाल आदिबारे जानकारी दिने, नैतिक एवं मानवीय–मूल्यपरक शिक्षातिर अभिप्रेरित गर्ने जस्ता कुरा रहेको उनको भनाई थियो ।
कार्यक्रमका प्रमुख अतिथि डा. जयराज आचार्यले नेपाललाई पुरानो जगमा नयाँपन दिने कार्य अब नयाँ पुस्ताको काँधमा आएको बताए । कार्यक्रममा संघका राष्ट्रिय सह–संघचालक कल्याण कुमार तिम्सिनाले हिन्दु स्वयंसेवक संघ नेपालको गतिविधिहरूबारे जानकारी दिएका थिए । संस्कार, सेवा र संगठनलाई आफ्नो कार्यको माध्यम बनाएर समाजमा सकारात्मक जागरणका लागि संघले कार्य गरिरहेको उनको भनाई थियो ।
यसै क्रममा आफ्नो धर्म–संस्कृति, रीति, परम्परा, वैज्ञानिक पुर्खा, ज्ञानी महापुरुष, आदर्श नारी आदिबारे बोध गराउने उद्देश्यले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा सहभागी विद्यालयका तर्फबाट विविधतामा एकता दर्शाउने सांस्कृति नृत्यहरूको प्रस्तुति पनि रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिरुपति प्रसाद काण्डमा चार मुख्य अभियुक्त पक्राउ
-
स्टील र आल्मुनियममा ट्रम्पले लगाए २५ प्रतिशत अतिरिक्त कर
-
अखिल क्रान्तिकारीका अवकाशप्राप्त विद्यार्थी नेताहरूले पाए पार्टीको जिम्मेवारी, रावलले गरे अस्वीकार
-
नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न जरुरी छ : अख्तियार प्रमुख राई
-
भन्सार घटेपछि पनि सुनको मूल्य नयाँ रेकर्ड नजिक
-
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै