बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कालापानी क्षेत्रमा भारतीय पक्षले धमाधम सडक बनाउँदै, भीम रावलले गराए सरकारको ध्यानाकर्षण

मङ्गलबार, १३ फागुन २०७६, १६ : २९
मङ्गलबार, १३ फागुन २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसद भीम रावलले कालापानी क्षेत्रमा भारतीय पक्षले सडकबाटो निर्माण गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै रावलले सुदूरपश्चिमको दार्चुलामा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले नेपाली भूमिमा बाटो निर्माण गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 
स्थानीय प्रशासन र सरकारी पहलका कारण बाटो भत्काउने काम भएपनि भारतले नेपाली भूमिमा बाटो निर्माण गरी व्यापक रुपमा आफ्ना कर्मचारी र मानिसहरुलाई त्यहाँ उपस्थित गराउने काम गरेको भन्दै यसतर्फ सरकारले चाँडो आफ्नो कदम चाल्नुपर्ने बताए । 

 सरकारले सीमा सुरक्षाका लागि सीमा सुरक्षा चौकीहरु थप गर्ने घोषणा गरेअनुसार तदारुकताका साथ काम अगाडि बढाउन आग्रह गरे । 

 तिंकरमा बसोबास गर्ने नागरिकहरु चिसो मौसममा भारतीय बाटो हुँदै सदरमुकाम आउने गरेको प्रशंग उल्लेख गर्दै रावलले नेपाली भूमिमा तत्काल सडक निर्माण गर्न सक्ने अवस्था नभए घोरेटो बाटो निर्माणका गर्न माग गरे । 
नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउने विषयमा सबै राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति भएको उल्लेख गर्दै उनले सोही अनुसार अगाडि बढ्न पनि सरकारलाई आग्रह गरे । 

 प्रवुद्ध व्यक्तिहरुले तयार पारेको प्रतिवेदन भारतले बुझेको विषयमा कुनै जवाफ नआएको सन्र्दभमा सरकारको ध्यानाकर्षण गराए । 

 नेपाली भूमिको रक्षाका लागि नागरिकताको विषयमा महत्त्वपूर्ण भएको उल्लेख गर्दै रावलले नयाँ कानून अभावमा नागरिकता पाउनुपर्ने धेरै व्यक्तिले नागरिकता नपाएको र तत्काल नागरिकता विधेयक अगाडि बढाउन आग्रह गरे । 

दक्षिण कोरियामा पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै रावलले त्यहाँ रहेका नेपाली नागरिकहरुको विषयमा सरकारले अहिलेबाट नै ध्यान दिनुपर्ने बताए । 

ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेकाले चीनबाट स्वदेश फर्काउने जस्तो सजिलो नभएको भन्दै उनले यसतर्फसरकरको ध्यान जानु आवश्यक रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप