गोकुल बाँस्कोटालाई एक मतदाताको पत्र
साथी गोकुल, (कमरेडको अर्थ साथी हो भने)
अभिवादन,
खाएको विषले थला पर्नुभयो या नखाइकन विष लाग्यो त्यो दैवलाई थाह छ । हाम्रो आस्थाको धरोहर भने गर्लम्मै ढलेको छ । तपाईंले त खासै चिन्नुहुन्न होला मलाई, किनकि तपाईंलाई नेता बनाउँन दिलोज्यान दिने कसैलाई पनि तपाईंले सौहार्दता देखाएको इतिहास छैन ।
मानिसका आआफ्ना स्वभाव हुन्छन् तर न्यूनतम सहिष्णुता पनि तपाईंले देखाउनु भएन कहिल्यै, कसैलाई ।
यो अहिले उप्काउन हुने कुरा हो कि होइन म जान्दिनँ तर परदेशमा आफ्नो घर काभ्रे बताउँदा लाजले शिर निहुर्याउनुपर्दा नलेखी रहन सकिएन । हामीले गोकुल नाम गरेको नयाँगाउँ देउपुरका बाँस्कोटाका छोरालाई नेता बनाइरहँदा उसमा आफ्नो प्रतिविम्ब देखेका थियौँ ।
हाम्रो भाग्यविधाता उसैलाई मानेका थियौँ । तपाईं पक्षमा बहस गर्दा हामीले आफ्ना मलामी गुमाएका छौँ, जन्ती घटाएका छौँ । मावलीसँग नाता तोडेका छौँ । अर्मपर्म टुटेको छ छिमेकमा ।
तपाईंले एक वचन राम्रो बोलिदिएको दिन दुनियाँमा सबैभन्दा भाग्यमानी ठान्ने मै हुँ किनकि तपाईं हाम्रा जीवित भगवान हुनुहुन्थ्यो ।
नेताका लागि कार्यकर्ताको मूल्य रौँ बराबर पनि नहोला तर हामी निमुखा जनताका लागि नेता भनेको सर्वस्व हो । गाउँ जाँदा तपाईंलाई पहिर्याइएका गह्रुँगा मालाको साङ्केतिक अर्थ त तपाईंले बुझ्न चाहनुभएन । पचासौँ हजार मतदाताले दिएको मतको अर्थ त झन् के बुझ्न फुर्सद भयो होला र तपाईंलाई !
तपाईं मन्त्री भएको दिन हामीले मानेको हर्ष के यही दिन सेलाउनका लागि थियो ? तपाईंका लागि पार्टीको उर्दी मानेर जुलुस जाँदा गोठको भैँसीले आहार नपाएर दाम्लो चुँडालेको कुरा पत्याउँछौ र ? चिया पसलमा तिम्रा लागि गरेका तर्कवितर्कको मूल्य तपाईंलाई हेक्का छ र ?
गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएको खबर आइरहँदा हामीले आफ्नो मुटु चुँडिएको महसुस गरेका छौँ । त्यो राजीनामाको कारण सम्झँदा त झन् आङ नै सिरिङ्ग हुन्छ ।
तपाईंलाई थाह छ, मेथिन्कोटकी एककुमारी भुर्तेल जो आजन्म तपाईं र पार्टीको भलो मात्र चिताएर ८५ वर्षकी भइन् । तपाईंलाई लागेको भ्रष्टाचारको आरोप सुनेर छातीमा गोली लागेको अनुभव गरिन् एककुमारीले । उनका श्रीमान प्रेमलाल भुर्तेल पार्टीको लेबी तिर्दातिर्दै ८४ वर्षको उमेरमा पोहोर मात्र परमधाम गए । तिनको आत्माले झन् के भन्दो हो ?
महसुस गर्नुस् त तपाईंका लागि गर्धन चढाउन राजी भएर हिँडेका पार्टीका बफादार सिपाहीको यतिखेरको मनोदशा । तपाईंले राजीनामा दिएको बेलुका तपाईंको निवासमा गएका काभ्रेली जनताको अनुहारको मलिनतामा केही पढ्न सक्नुभयो ? ती शोकमग्न यात्रीहरुलाई परेको एउटै मात्र चिन्ता तपाईंलाई थाह छ ? तपाईं र पार्टीको बचाउमा उनीहरुले आफूलाई गोकुल बाँस्कोटाको प्रतिनिधि बनाएर भिडेका छन् ।
तिनलाई चिन्ता छ, ‘खुच्चिङ’को जवाफ के भनेर दिने विपक्षीलाई ? तपाईंले बोलेको अश्लील बोलीलाई के भनेर टार्ने अनि सहने ?
भोट हाल्नेले त भोट हाले अनि औँलाको मसी पखाले, उनीहरुको दायित्व सकियो तर तपाईंको काँधमा बोकाएको जिम्मेवारी कति पूरा गर्नुभयो ?
के एक छाकको विजय भोजमै तिनको ऋण सकियो ? तपाईंको जितमा रङ्गिएका अनुहारमा यति चाँडै कालो दलेर छोड्दा तपाईंको आत्मा रमाएको छ ?
एकजनाको वा एउटा समूहको प्राप्तिका लागि मात्र सदियौँदेखिको राजनीति चलेको हो त ? तपाईं एकजना मन्त्री हुनु र तपाईं आसपासका केहीले कुनै लाभको पद पाउनु अनि तपाईंको आगामी चुनावका लागि सिट सुरक्षित हुनुमा मात्र राजनीति घुमेको हो त ? हैन भने तपाईंको उपलब्धिमा रमाउने मनहरुलाई किन रमाइरहने बनाउन सक्नु भएन ? मानिसको जीवनमा गुन भन्ने पनि शब्द छ, जसलाई तिर्न उदार र महान मानवले मात्र सक्छ । हो, हामीसँग विकल्प छैन, त्यसैले हामीलाई जति तिरष्कार गरे पनि हामी तपाईंहरुलाई नै पुजिरहन विवश छौँ । त्यति हुँदा पनि हामीले ‘देउता’ रिसाउने डरले कहिल्यै प्रतिप्रश्न गरेनौँ (आँट आएन) ।
राजनीतिक जीवनमा व्यक्ति स्वयंको मात्र अधिकार हुँदैन । तपाईं सार्वजनिक व्यक्ति । तपाईंले बोल्ने बोली हरेक जनताले तौलिरहेका हुन्छन् । तपाईंको स्वभाव हरेक विपक्षीले नियालिरहेको हुन्छन् ।
तपाईंमा आफ्नो सुन्दर भविष्य देखेका हरेक मानिसले तपाईंको दीर्घायुको कामना गरिरहेको हुन्छ । तपाईं भने यी सबैलाई बेवास्ता गर्दै आफैँमा रमाइरहनु भयो, विगतलाई कुल्चिरहनु भयो अनि बेफिक्री, बेपरवाह, बेलगाम हिँडिरहनुभयो भने तपाईंको गन्तव्य कहाँ ? हाम्रो भविष्य कता ?
गोकुलप्रसाद बाँस्कोटा एउटा व्यक्ति मात्र हुँदो हो त हामीले केही चित्त दुखाउनुपर्ने थिएन । आम मानिसले आशा गरेका गोकुलहरु एकएक गरेर लाञ्छित हुँदै बाहिरिँदै गर्ने हो भने देशले काँचुली फेर्ने कहिले ? गोकुल, या त पूर्ण रूपमा कसैको ढाल बने या त नियतवश भ्रष्टाचारी हुनुभयो, अझै संशय नै छ । केही समय प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग गरेको एक योद्धालाई आज जुन ढङ्गबाट गालीको ओहिरो आइरहेको छ, त्यसले मन अमिलो पारेको छ ।
अनि सँगै टुटेको छ भरोसा पनि । एक मन भन्छ, गोकुलबाट त्यस्तो हुनै सक्दैन तर जुन श्रव्य सामग्रीले तपाईंलाई धरापमा पार्यो, त्यो सुन्दा नपत्याउँ पनि कसरी ।
सधैँ गन्हाएर राजनीतिमा रहिरहने परम्परालाई तपाईं जत्तिको मानिसले निरन्तरता दिनु हुँदैन । आजका मितिसम्म जजसलाई जेजस्ता आरोप लागे, एकाधबाहेक कसैले नैतिकता देखाएका छैनन् । प्रष्ट वक्ताको छवी बनाउनु भएको तपाईंले भ्रम निवारण गरेर हामीलाई कि पूर्ण रूपले तपाईंको बचाउ गर्ने वातावरण बनाइदिनुस् कि हामी तपाईंलाई लागेको आरोप सत्य रहेछ भनेर नाक छोपेर हिँड्छौँ ।
उही तपाईंको मतदाता
निरञ्जन सापकोटा