सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

मलेसियामा महाथिरको राजीनामा स्वीकृत, अन्तरिम प्रधानमन्त्री नियुक्त

सोमबार, १२ फागुन २०७६, २३ : १३
सोमबार, १२ फागुन २०७६

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिएको राजीनामा स्वीकृत भएको छ । मलेसियाका राजाले उनको राजीनामा सोमबार नै स्वीकृत गर्नुभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन् । सरकारका मुख्य सचिव मोहम्मद जुकि अलीले महाथिरको राजीनामा राजाबाट स्वीकृत भइसकेको सोमबार पुष्टि गरेका हुन् ।

उनका अनुसार मलेसियाली राजाले महाथिरको राजीनामा स्वीकृतिसँगै उनलाई नै अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । नयाँ प्रधानमन्त्री नियुक्त नहुदासम्मका लागि संविधानको परिधिमा रहेका अन्तरिम प्रधानमन्त्रीको रूपका काम गर्न महाथिरलाई नै जिम्मेवारी दिइएको मुख्यसचिवद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

संसारभरीका प्रधानमन्त्रीमध्ये ‘सवैभन्दा वृद्ध’ प्रधानमन्त्री ९४ वर्षीय महाथिरले सोमबार बिहान राजीनामा दिएका थिए । दुई वर्ष पहिले निर्वाचनमा विजयी भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता छाड्ने एकाएक निर्णय गरेपछि राजीनामा गर्न बाध्य भएका हुन् ।
प्रधानमन्त्री महाथिरकै दलका सांसदहरुले विपक्षी दलसँग गठबन्धनमा गरेर नयाँ सरकार गठन गर्ने तयारी गरेको समाचारमा जनाइएको छ । महाथिरले आफ्नो उत्तराधिकारीका रुपमा अनवर इब्राहिमलाई अघि सार्न खोजेको भन्दै पार्टीभित्र असन्तोष चुलिएको थियो ।

महाथिर र अनवर दुबैले मलेसियाको राजनीतिमा वर्षौंदेखि प्रभाव पारिरहेका छन् । यी दुई वरिष्ठ नेताको अग्रसरतामा सन् २०१८ को चुनावमा तत्कालीन सरकार परास्त भएको थियो । चुनाव अघि यी दुई नेताबीच निश्चित समयभित्र आलोपालो सरकार चलाउने सहमति भएको थियो । महाथिरले अनवरलाई एक बर्षमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता चुनावका बेलामा व्यक्त गरेको भएपनि ढिलाई गरेका थिए ।

पछिल्लो राजनीतिक सङ्कटका कारण भ्रष्टाचारको आरोपमा मुद्दा झेलिरहनु भएका मलाए पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री नजिब रजाकको भूमिका फेरि बढ्ने अनुमान गरिएको छ । कट्टरपन्थी इस्लामिक पार्टीसँग गठबन्धन गरेको मलाए पार्टीको प्रभाव मलेसियाको राजनीतिमा पुनः देखिने छ । अनवर र उनकी पत्नी उपप्रधानमन्त्री वान अजिजा वान इस्माइलले पनि राजालाई भेट्ने कार्यक्रम तय भएको छ ।  

मलेसियाली राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले संसदमा कुन पक्षको बहुमत छ भनेर निर्णय गर्ने वा नयाँ चुनाव घोषणा गर्ने भन्ने मध्ये एउटा विकल्प रोज्ने अनुमान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप