बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

धार्मिक पर्यटन समृद्धिको आधार : गृहमन्त्री थापा

सोमबार, १२ फागुन २०७६, २० : ५७
सोमबार, १२ फागुन २०७६

गृहमन्त्री रामबहादुर थापाले समृद्धिको आधार धार्मिक पर्यटन रहेको बताएका छन् । देवघाट क्षेत्र विकास समितिले आज तनहुँको देवघाट गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले नेपाल समृद्धि र विकासको चरणमा प्रवेश गरिसकेको उल्लेख गरे ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको लक्ष्यलाई पूरा गराउन नेपालका धार्मिक क्षेत्रहरुले पनि महत्वपूर्ण योगदान दिने गृहमन्त्री थापाको भनाइ थियो । “नेपालीलाई छिटोभन्दा छिटो सुखी र खुशी बनाउन चाहन्छौँ”, गृहमन्त्री थापाले भने, “वर्तमान सरकार सोही दिशामा अगाडि बढिरहेको छ ।”

नेपाल सभ्यताको केन्द्र रहेको चर्चा गर्दै गृहमन्त्री थापाले धार्मिक पर्यटन प्रवद्र्धनका लागि केन्द्र सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । “विश्वका अन्य मुलुकमा सभ्यताको भर्खरै शुरुआत भएको छ तर हामी सभ्यतामा निकै धनी छौँ”, गृहमन्त्री थापाले भने, “तर हामीले आफ्नो सभ्यता चिन्न नसकेको स्थिति छ ।” 

देवघाट गाउँपालिकाले मदिराको अनियन्त्रित बिक्री वितरण रोक्न थालेको पहल सकारात्मक रहेको बताउँदै गृहमन्त्री थापाले मदिराको अनियन्त्रित सेवनले समाजमा हिंसा उत्पन्न गराउने बताए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायतले देवघाटको विकासका लागि सङ्घीय सरकारको तर्फबाट पहल हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप