मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमाध्यममा आएका कुराहरु सही होइनन्:   नेम्वाङ

सोमबार, १२ फागुन २०७६, १८ : ४७
सोमबार, १२ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरा लिएर संविधान संशोधनको कुरा अगाडी बढाउन नहुने बताएका छन् । शनिबार नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनका लागि अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव गरेपछि नेम्वाङले यस्तो बताएका हुन् । नेम्वाङ पनि तीन सदस्य रहेको कार्यदलमा सदस्य रहनुभएको समाचारमा आएको थियो । संविधान संशोधन जस्तो गम्भिर कुरालाई जिम्मेवारीपूर्वक अगाडी बढाउनुपर्र्नेमा कुनै व्यक्तिगत कुराका लागि यस्तो प्रस्ताव ल्याउन नहुने उनको भनाई छ । एउटा जिम्मेवार पार्टीले यस्तो निर्णय गर्न नसक्ने नेम्वाङको भनाई छ ।

उनले भने, ‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भिर हो, यसलाई जिम्मेवारीपूर्वक अगाडि लैजानुपर्छ । यो एकदमै पारदर्शी हुनुपर्छ, यो आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ । यो व्यक्तिगत कुरा होइन् । हामीले यो भन्दा अगाडि एउटा समयकालमा अहिले संविधान संशोधनतिर जाने होइन, पहिला त संविधान कार्यान्वयन गर्नुप¥यो भनेका थियौं । पछि संघको चुनाव भयो, संघीय संसदको, प्रदेशको चुनाव भयो, त्यसपछि हामीले भन्न थाल्यौं अब आवश्यकता र  औचित्यका आधारमा संविधान संशोधन हुनसक्छ किनभने आधारहरु तयार भयो । तर त्यो आवश्यकता र औचित्य स्थापित भएको हामीले अहिलेसम्म ठानेनौं ।’

मधेशवादी दलहरुसँग विभिन्न समयमा संविधान संशोधनका विषयमा कुराकानी हुँदा समेत तत्काल संशोधनको औचित्य नभएको बताउँदै आएको अवस्थामा अहिले सचिवालयले यस्तो निर्णय नगरेको विश्वास आफुले गरेको बताए । पार्टीका महासचिव विष्णु पौडेलसँग कार्यदलका विषयमा बुझ्दा उनले सचिवालयमा कुनै निर्णय नभएको जानकारी गराएको समेत नेम्वाङले बताए । 

नेम्वाङले कार्यदलमा सदस्य रहेको विषयमा आफुलाई औपचारिक जानकारी नभएको समेत बताएका छन् । कार्यदल बनेको विश्वास आफुलाई नलागेको उल्लेख गर्दै उनले भने, ‘मलाई पार्टीको तर्फबाट कसैले पनि सम्पर्क गरेका छैनन्, जानकारी गराएका छैनन् । यस्तो कार्यदल बन्यो होला भन्नेमा मलाई विश्वास छैन् । पछिल्लो समयमा आएर स्वयं पार्टीका महासचिवले यसबारेमा कुनै पनि निर्णय नभएको जानकारी पनि गराउनुभयो । सचिवालयमा कुराचाहीँ आएको हो तर औपचारिक रुपमा यसो गर्ने समझदारी छैन् भन्ने कुराहरु पनि आए जसले अन्यौल बढायो । आज बिहान माधव नेपालसँग पनि कुराकानी भएको थियो । बिहान ११ बजे खिमलाल देवकोटाजी र म दुबै जना उहाँसँग कुराकानी गर्न गयौँ । उहाँ (खिमलाल देवकोटा) ले र मैले आफ्नो कुराहरु राख्यौँ । समग्र सञ्चार माध्यममा आएका कुराहरु सहि हुन भन्ने लाग्दैन् ।’ नेम्वाङले संविधान संशोधनको कुरा पादर्शी ढंगले अगाडी बढ्नुपर्ने समेत बताउनुभएको छ । देश, जनता र पार्टीका कार्यकर्ताहरुले समेत बुझन्गरी यस्ता कुराहरु अगाडी बढाउनुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप