बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संविधान संशोधनले बामदेव कमरेडको पनि हित गर्दैन : सुवास नेम्वाङको अन्तरवार्ता

...त्यसपछि माधव नेपालले टाउको हल्लाउनु भयो
सोमबार, १२ फागुन २०७६, १७ : ४९
सोमबार, १२ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन गर्न पार्टीभित्र कार्यदल गठन गरेको कुरा आइतबार एकाएक भाइरल भयो । राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको गृहकार्यका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल नै गठन गरेका खबरहरु आए । त्यस्ता खबरको नेकपाभित्रै र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पनि प्रश्न उठायो । 

सोमबार बिहानै संयोजक नेता माधव नेपालले कार्यदलका दुवै सदस्यलाई घरमै बोलाएर छलफल गरे । तर उक्त छलफलमा सदस्यहरु सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटाले गुपचुपमा कार्यदल गठन गरेको भन्दै आपत्ति जनाए । ‘संविधान संशोधनजस्तो विषय गुपचुपमा होइन, पारदर्शी हुनुपर्छ । सवैको सहमतिमा मात्रै अघि जानुपर्छ’, नेपाल निवास कोटेश्वरमा सुवास नेम्वाङले भनेका थिए । त्यसपछि नेताहरुबीच के के भयो त ? हामीले नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङलाई फोन सम्र्कमा सोध्यौँ । प्रस्तुत छ, नेम्वाङसँग गरिएको टेलिफोन वार्ता जस्ताको त्यस्तैः  

संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलको बैठक नेता नेपालको घरमा सोमबार बस्यो भन्ने समाचार आएका छन् । के कार्यदल बनेको हो र पहिलो बैठक बसेकै हो ? 

कार्यदलको बैठक बस्यो भनेर तपाइँले आफ्नै शब्द मेरो मुखमा हाल्न खोज्नुभयो । त्यसैले कार्यदलकोे बैठक नै होइन भनेर बुझ्दा राम्रो । अर्को कुरा कार्यदल गठनका बारेमा मलाई अहिलेसम्म केही जानकारी छैन । 

सचिवालय बैठकले नेता माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधनका लागि कार्यदल गठन गरेको कुरा तपाइँलाई जानकारी नै छैन त ? 
मलाई जानकारी छैन । 

त्यसो भए नेता माधवकुमार नेपालको घरमा कार्यदलका तपाइँहरु तीनै जना नेताको किन भेटवार्ता भयो त ? 
आज बिहान माधव कमरेडले मलाई फोन गरेर भेटौँ भन्नुभयो । मैले हुन्छ म आउछु भनेँ । तर मैले बाहिर पत्रपत्रिकामा चर्चा भएजस्तो संविधान संशोधनका लागि कार्यदल बनेको कुरा हो भने मेरो सहमति छैन भनेँ । यदि त्यो कार्यदल हो भने कमरेडले पनि बस्नुहुँदैन, बस्नु हुन्नहोला भन्ने मेरो विश्वास छ भनेँ । 

भनेपछि कार्यदलको बैठक हो भने आउँदिन भनेर नेता नेपाललाई फोनमै भन्नुभयो ? 
हो । कार्यदलको बैठक हो भने आउदिनँ भन्दा उहाँले त्यस्तो होइन । तपाइँ–हामी एकछिन कुरा गराँ न आउनुस् भनेपछि म गएँ । 

नेता नेपालको घरमा पुगेपछि अरु के–के कुरा भए त ? 
मैले फोनमा भनेकै कुरा त्यहाँ पनि राखेँ । 

नेकपाले संविधान संशोधनको बारेमा सोच्नुपर्यो भने के–के गर्नुपर्छ त ?
यसबारेमा मेरो प्रस्ट भनाइ छ । संविधान संशोधनका बारेमा एउटा समयसम्म हामीले अहिले बेमौसमको बाजा भन्यौँ । तर प्रतिनिधिसभा र प्रदेशसभा लगायतका निर्वाचन सम्पन्न भएपछि संविधान संशोधन गर्न सकिन्छ, संशोधन विरोधी होइनौं । संविधानले कल्पना गरेका आधारहरु पनि तयार भए तर लहडले संशोधन हुँदैन भन्यौँ । देश र जनतको हितमा आवश्यकता र औचित्यताको आधारमा संविधान संशोधन हुनसक्छ। त्यहीँ शिलशिलामा हामीले मधेसी दलहरुः समाजवादी पार्टी, राजपा, महिला,दलित, जनजाती सवैसँग यही ढंगले कुराकानी र छलफल पनि गर्यौं । 

अब अहिले संविधान संशोधनतर्फ अगाडि बढ्ने हो भने नेकपाले के–के गर्नुपर्छ त ? माधव नेपाललाई के सुझाव दिनुभयो ? 
एक नम्बरमा संशोधनबारे नेकपा पारदर्शी हुनुपर्छ । यो भनेको पत्रपत्रिकाहरुमा यो निर्णय भएको तर गोप्य राखिएको छ भन्ने जस्ता कुरा आएका छन् । यदि निर्णय भएको हो भने किन गोप्य राख्नुपर्‍यो ? यस्ता कुरामा मेरो विश्वास छैन । हाम्रो पार्टीले त्यसो गर्छ भन्ने कुरा म पत्याउनै सक्दिनँ । संविधान संशोधनजस्तो कुरा पारदर्शी हुनुपर्ने होइन ? यो त सिंगो देश, जनता र सवै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्नुपर्ने विषय हो । किन लुकेर संशोधन गर्नुपर्यो भनेर मैले कुरा राखेँ । 

हाम्रा आवश्यकता र हिजो नेकपा बैठकमा उठेका सवै प्रसंगलाई ध्यानमा राखेर पारदर्शी ढंगले निर्णय गर्नुपर्छ, आवश्यकता र औचित्य यो हो भनेर स्थापित गर्नुपर्छ । यी कुरा प्रस्ट भएपछि माधव कमरेडलाई यी यी कुरामा अध्यनन गरेर सुझाव दिनुुस् भनेर कार्यदल बन्यो भने बल्ल तपाइँले नेतृत्व गरेर जानुपर्छ भन्ने मेरो सुझाव रह्यो ।  यसका साथै मैले तपाइँ हाम्रो वरिष्ठ नेता, संविधानविद् पनि हो तर अहिले बजारमा आएको यो कार्यदलको संयोजक हुनुहुन्छ होला भन्ने मलाई विश्वास नै छैन, त्यसकारण यो कुरा लगेर नेताहरुलाई सुनाइदिनुस् भनेँ । 

तपाइँले त्यसो भन्दा माधव नेपालको जवाफ चाहिँ के रह्यो ? 
म पुग्नुभन्दा पहिले खिमलाल देवकोटा पनि पुगिसक्नु भएको रहेछ । उहाँ मेरो भाइ र विद्यार्थी पनि हो । उहाँले पनि सुवास दाइले जे भन्नुभयो मेरो पनि सहमति छ भन्नुभयो । त्यसपछि माधव कमरेडले टाउको हल्लाउनुभयो । 

माधव नेपालले टाउको मात्रै हल्लाउनुभयो ? 
तपाइँहरुले गम्भीर कुरा उठाउनुभयो । म यो कुरा पार्टीमा राख्छु भन्नुभयो ।

संविधान संशोधन के–के विषयमा गर्ने भन्ने पनि त चाहिएला नि होइन ? 
मैले अघिनै एक सूत्रमा भनिसकेँ त आवश्यकता र औचित्य स्थापित हुनुपर्छ भनेर । त्यसपछि मात्र संविधान संशोधन गर्न सकिन्छ । 

संविधान संशोधन खासगरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने र राष्ट्रियसभा सदस्य संख्या पनि बढाउने गरी गर्न लागिएको भनेर भनिएको छ । के अहिले यसको आवश्यकता र औचित्य छैन भन्ने तपाइँको लाइन हो ? 
तपाइँले उठाएको विषयमा म धेरै अहिले जान चाहान्नँ । तर यो विषय संविधानसभामा पनि छलफल भएको हो । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने व्यवस्था कहाँ–कहाँ छ भनेर खोज्दा भारतमा मात्रै रहेछ ।

नेपालमा पनि त्यही पो गर्ने हो कि भन्ने विषयमा छलफल भयो । त्यसरी छलफल गर्दा होइन, भारतको अर्कै प्रसंग हो त्यसैले नेपालमा यो राख्नु हुँदैन भनेर नेपालको संविधानमा त्यो व्यवस्था राखेनौँ, प्रतिनिधि सभाका माननीय नै प्रधानमन्त्री हुनुपर्ने भनेर राख्यौँ । काँग्रेस, माओवादी र एमालेको त्यसवेला फरक फरक धारणा थिए त्यही भएर नेपालको सन्दर्भमा सुधारिएको संसद पनि हामीले भन्यौँ । सवैको समझदारीबाटै सुधारिएको संसद र जसमा प्रतिनिधिसभाबाट निर्वाचित सांसद नै प्रधानमन्त्री हुने भन्ने निर्णयमा पुगेका हौँ । 

त्यसैअनुसार प्रतिनिधिसभा निर्वाचनमा हारेको व्यक्ति त्यो कार्यकालभरी मन्त्री समेत हुन नपाउने भनेर लेख्नुको अर्थ भनेको सुधारिएको संसद हो । 

यत्रो मेहनत गरेर बनाएको संविधान कार्यान्वयन गरेर बनेको प्रतिनिधिसभाको कार्यकाल दुईवर्ष मात्रै भएको छ । यसको कार्यकाल अझै तीन वर्ष बाँकी छ । यस्तो अवस्थामा त्यसरी सोचिएको नै होइन भन्ने मेरो बुझाइ छ । 
नेकपाका शीर्ष नेताहरुले संविधान संशोधनको विषयलाई हल्काफुल्का लिएको भन्न खोज्नु भएको हो ?
उहाँहरुले कार्यदल गठन गरेको होइन भन्ने आएपछि त्यसरी पनि म भन्दिनँ । तर जे होस् त्यो ढंगबाट अघि बढियो भने कसैको पनि राम्रो हुँदैन । यसले हाम्रो पार्टीको पनि हित गर्दैन, यो सिस्टमको पनि हित हुँदैन । र, साँच्चै भन्ने हो भने धेरै नाम जोडिएको बामदेव कमरेडको पनि हित गर्दैन । मलाई त यसमा पनि फिटिक्कै विश्वास छैन । वामदेव कमरेडले यो सोच्नुभयो होला भन्ने विश्वास छैन । जसरी संविधान संशोधनको कुरा बामदेव गौतमसँग जोडेर आयो यसमा उहाँलाई समेत बद्नाम गर्ने षड्यन्त्र अनुसार आयो भन्ने मलाई लाग्छ । 

तपाइँले बामदेव गौतमसँग यसबारे कुरा गर्नुभएको छैन ? 
मेरो कुरा भइसकेको छैन । तर उहाँले यस्तो प्रस्ताव गर्नुभयो भनेर म विश्वास नै गर्दिनँ । उहाँ र मेरो राम्रो सम्बन्ध छ, केही भएको भए उहाँले पनि मलाई भन्नुहुनथ्यो होला ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप