शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन महिनादेखि नगरपालिकाको काम ठप्प

सोमबार, १२ फागुन २०७६, १५ : ५५
सोमबार, १२ फागुन २०७६

–सन्निउल्ला धोबी
कपिलवस्तु । विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निरास हुँदै फर्किने गरेका छन् । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर अधिकृतविहीन भएको हो ।

गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राजप्रसाद त्रिपाठी आवकाश भएपछि भदौमा भण्डारी कृष्णनगर आएका थिए । भण्डारी कृष्णनगरमा मुस्कीलले एक महिना मात्र बसेर मङ्सिर मै आफ्नो पायकपर्ने स्थानमा सरुवा भएर गए । 

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह र उपप्रमुख सबनम खातुनले प्रमुख प्रशासकीय अधिकृतका लागि पाँच पटक काठमाडौँ धाउँदासमेत कुनै सुनुवाई नभएको प्रमुख शाहले बताए । शाहले पटकपटक सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको उनले बताए । शाहले भने मैले तत्कालीन मन्त्री लालबाबु पण्डित र अहिलेको मन्त्री हृदयश त्रिपाठीलाई पटकपटक कार्यकारी पठाउन माग गरे तर हालसम्म कोही आएनन् । 

जिल्ला प्रशासन कार्यालयबाट दुई पटक ज्ञापन बुझाए पनि हालसम्म मन्त्रालयले कार्मचारी नपठाउनु दुःखद् भएको उपप्रमुख सबनम खातुनले बताए । कृष्णनरको विकासको बाधक अहिले मन्त्रालय रहेको उनले आरोप लगाए ।

नगरपालिकामा अधिकृत नहुँदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ । त्यस्तै कर्मचारीले तलब खानाबाट समेत वञ्चित भएका छन् । 

शिक्षक आन्दोलित 

कृष्णनगर केही महिनादेखि अधिकृतविहीन भएकाले तलब नपाएका शिक्षकहरु आन्दोलन शुरु गरेका छन् । आइतबार कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिका भित्रका कूल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाभित्रका शिक्षकहरुले नगरपालिका तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्रसमेत बुझाएका छन् । शिक्षकहरुले दैनिक दुई घण्टा नगरपालिका आएर धर्ना दिने बताएका छन् ।

चार÷चार महिनासम्म आफ्ना बालबच्चालाई उधारो खुवाउँंदै आएका शिक्षक वर्गको मर्का मन्त्रालयले समेत बुझिदिनुपर्ने राष्ट्रिय शिक्षक सङ्घका नगर अध्यक्ष प्रल्हादप्रसाद पाण्डेयले बताए । तलबलगायत विद्यालय पूर्वाधार, खाजा, छात्रवृत्तिलगायतका रकम निकासाको समस्या छिटै समाधान नभए नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गरी सडकमा उत्रन बाध्य हुने शिक्षक प्रदीप सिंहले जानकारी दिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटकपटक सूचना गरे पनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी, उपभोक्ता समिति तथा अन्य योजनाहरुको काम ठप्प रहेको नगरप्रमख रजतप्रताप शाहले बताए ।

मन्त्रालयलाई आफ्नो राजनीतिका लागि दाउपेच चलाउन खोज्ने केही स्थानीय नेताहरुका कारण कर्मचारी आउन नसकेका र पाँच महिनादेखि तलब खान नपाएका शिक्षकहरु आन्दोलित हुनु स्वाभाविक रहेको नगरप्रमुख शाहको भनाइ छ । 

सत्तापक्षबाट प्रदेश कै पहिलो मुस्लिम महिला उपप्रमुख रहेको कृष्णनगर नगरपालिकामा सो दलको नेतृत्वमा रहेको मन्त्रालयले बाइपास गरेर गइरहेको उपप्रमुखका सल्लाहकार तुफेल खाँको आरोप छ । प्रशासकीय अधिकृत नआउँदा  नगरपालिकामा स्वास्थ संस्थामा औषधिको कमी हुनुका साथै नगरपालिकाको सम्पूर्ण योजनाहरु ठप्प भएका छन् । योजनाहरु सञ्चालनमा नआउँदा बजेट फ्रिज हुने जोखिम पनि बढ्दै गएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप