बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियामा कोरोना फैलिने क्रम तीव्र, ७ जनाको मृत्यु, इरानमा मर्नेको संख्या १२ पुग्यो (अपडेट)

सोमबार, १२ फागुन २०७६, १४ : ३७
सोमबार, १२ फागुन २०७६

सोल । दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन् । तर पनि यस भाइरसबाट सङ्क्रमितको सङ्ख्या बढेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।  

केहीदिनदेखि सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएकोमा दक्षिण कोरियामा आइतबार थप १६१ जनामा थप सङ्क्रमण देखिएको छ । दक्षिण कोरियामा कुल सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको सोमबार जनाइएको छ ।   त्यसैबीच कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या सात पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 

चीनमा मृत्यु हुनेको संख्या २ हजार ५९२

कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ५९२ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले सोमबार जनाएका छन्  । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाउँदै आएको छ  । तर गत चार दिनदेखि यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या लगातार करिब १०० रहेको जनाइएको छ  । पछिल्लो चार दिनदेखि ज्यान गुमाएका यी व्यक्तिहरु सबै हुबेइ प्रान्तका रहेका छन् । 

भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका छन्  ।  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् ।

सङ्क्रमित हुनेको सङ्ख्या एकाएक अत्यधिक तीब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उहाँले आइतबार जानकारी दिएका थिए । आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनुपर्ने उनको भनाइ छ । 

राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए ।  ‘सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञको सुझावका आधारमा गरिएको छ,’ उनले भने ।

इरानमा १२  जनाको मृत्यु

इरानमा फैलिएको कोरोना भाइरसका कारण सोमबारसम्ममा मृत्यु हुनेको व्यक्तिको संख्या १२ पुगेको संसदका एक प्रवक्ताले बताएका छन् । संसदको बन्द सत्रमा सरकारी अधिकारी असादुल्लाह अब्बासीको भनाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था इस्नाले भाइरसको सङ्क्रमण ४७ जनामा देखिएको जनाएको छ ।

अफगानिस्तान, बहराइन र कुवेतमा पनि सङ्क्रमण

एएफपीका अनुसार अफगानिस्तान, बहराइन र कुवेतमा कोरोना सङ्क्रमित व्यक्ति फेला परेको छ । कुवेतमा फेला परेका सङ्क्रमित तीन व्यक्ति इरानबाट आएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् । –एपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप